समाज

गुण्डागर्दी गरेको आरोपमा कलंकीबाट दुई जना पक्राउ

इकागज |
जेठ १६, २०८१ बुधबार १४:२६ बजे

काठमाडौँ- कलंकीमा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरी वृत्त कालिमाटीको टोलीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। 

कलंकी बस्ने २६ वर्षीय सुजन कार्की र ३० वर्षीय अभिषेक सिंह रहेको उनले जानकारी दिए ।


कलंकी क्षेत्रमा उनीहरूको समूहले गुण्डागर्दी गरी स्‍थानीयमाथि गालीगलौज तथा विभिन्न किसिमका धाक धम्की देखाउने, हातपात गरेको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध गुण्डागर्दी गरेको भन्दै कालिमाटी वृत्तमा जाहेरी परेको थियो ।

उक्त जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूले समूहमा बसेर गुण्डागर्दी गर्ने र रकम समेत असुली गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले  पाँच छ जनाको समूह बनाई कलंकी एरियामा विभिन्न सर्वसाधारणहरूलाई धाकधम्की दिई डर त्रास देखाई त्रसित बनाई रकम असुली गर्ने गरेका थिए ।

पक्राउ परेका अभिषेक सिंह बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको खुलेको छ । प्रहरीले पीडितहरूलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेको जनाएको छ । उनीहरूलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x