समाज

सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार, वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दायर

इकागज |
जेठ ३२, २०८१ शुक्रबार २१:२० बजे

सांकेतिक तस्बिर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उमेर नै नपुगेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा राखेको आरोपमा वडाध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शुक्रबार अख्तियारले मोरङको रतुवामाई नगरपालिका-६ का वडाध्यक्ष तुलाराम लुइँटेल र त्यहाँका तत्कालीन वडासचिव कल्पना बास्कोटा, इलाका प्रशासन कार्यालय रंगेलीका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र नासु रमेश कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


स्थानीय मेगदीप पोखरेल, तारा देवी पोखरेल, भक्तकुमारी लुँइटेलविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार वडाले विवरण कीर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्ने उजुरी परेको थियो । अनुसन्धानका क्रममा वडाध्यक्षको मिलेमतोमा उमेर नै नपुगेका व्यक्तिहरूलाई उमेर सच्याएर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा राखिएको पाइएको अख्तियार प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

त्यति मात्रै नभई उमेर बढाउन नागरिकताको प्रतिलिपि लिनका लागि वडाले जन्म मिति परिवर्तन गरेर सिफारिस समेत गरेको समेत अख्तियारले भेटेको छ । वडाले उमेर बढाइएको नागरिकताको प्रतिलिपि दिन लेखेको सिफारिस इलाका प्रशासन कार्यालयले विवरणहरू जाँच नै नगरी प्रतिलिपि दिएको भेटिएको अख्तियारले जनाएको छ ।

वडाध्यक्ष लुइँटेलविरुद्ध १ लाख ६० हजार रुपैयाँ, वडासचिव बास्कोटाविरुद्ध १ लाख ४४ हजार रुपैयाँ, मेगदीप र तारादेवीविरुद्ध १ लाख ४४ हजार र कुमारी लुइँटेलविरुद्ध १६ हजार रुपैयाँ बिगो असुल गर्न समेत अख्तियारले माग गरेको छ ।


Author

थप समाचार
x