समाज

पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका घर टहरा हटाउने

इकागज |
असार ४, २०८१ मंगलबार १०:३९ बजे

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले अधिग्रहण भएको तिलगंगा (B13) क्षेत्रका घर जग्गा १५ दिनभित्र खाली गर्न सूचना जारी गरेको छ । मंगलबार एक सूचना जारी गर्दै १५ दिनभित्र उक्त क्षेत्रका घर टहरा खाली गर्न भनेको हो ।

कोषको स्वीकृत अवधारणात्मक गुरुयोजना अनुसार सरकारको मिति २०६९/०५/०६ को निर्णयले गुरुयोजना कार्यान्वयनका क्रममा का.म.न.पा. वडा नं. ८ तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की/कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनाहरू समेत स्थायी रूपले अधिग्रहण गर्ने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।


जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६, ७, ८ बमोजिम प्रारम्भिक कारबाही भई जग्गा प्राप्ति ऐनको दफा १० अनुसार घर-जग्गा अधिग्रहण सम्बन्धी सूचना मिति २०७०/०२/३० को गोरखापत्रमा प्रकाशन भई यस कोषका लागि स्थायी रूपले अधिग्रहण भएको तिलगंगा (B13) क्षेत्रका घरजग्गा धनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको मिति २०७१/०१/०५ को गोरखापत्रमा प्रकाशित मुआब्जा बुझिलिन आउने सूचना बमोजिम सक्कल कागजात प्रमाणअनुसार अधिग्रहण प्रभाव क्षेत्रका प्रायः सबैलाई मुआब्जा भुक्तानी भइसकेको जनाएको छ ।

अधिग्रहण भएको तिलगंगा आवासीय क्षेत्र खाली गराउन यसअघि पनि कोषबाट मिति २०७७/०३/२० मा गोरखापत्र दैनिकमा ३५ (पैंतीस) दिने सार्वजनिक सूचना प्रकाशन गरिएकोमा उक्त क्षेत्रका अधिग्रहण प्रभावितहरूले कोषबाट मुआब्जा बुझिलिइसकेको तर मिति २०७७/०३/२० मा प्रकाशित सूचनाको वर्खिलाप हुनेगरी हालसम्म पनि कच्ची, पक्की घर, टहरा, गोठ, पर्खाल लिगलगापातसमेत खाली गराएको नदेखिएको जारी सूचनामा भनिएको छ ।

'मिति २०८१/०३/०१ मा प्रकाशित सूचनाको म्यादले १५ (पन्ध्र) दिनभित्र तीलगङ्गा (B13) क्षेत्रका कच्ची, पक्की घर, टहरा, गोठ, पर्खाल लिगलगापात समेत भत्काई लैजान जानकारी गराइसकिएको छ' सूचनामा भनिएको छ 'सूचनाको वर्खिलाप हुने गरी घर, टहरा, पर्खाल लिगलगापात उक्त म्यादभित्र नहटाइएमा कानून बमोजिम कोष आफैँले हटाई खाली गराउने व्यहोरासमेत यसै सूचनाद्वारा पुनः जानकारी गराइन्छ ।'


Author

थप समाचार
x