समाज

तिलगंगाबासी र पशुपति क्षेत्र विकास कोषबीच समिति बनाउने सहमति

इकागज |
असार ४, २०८१ मंगलबार १६:५२ बजे

काठमाडौँ- तिलगंगाबासी र पशुपति क्षेत्र विकास कोषबीच तत्काल समस्या समाधान गर्न समिति बनाउने सहमति भएको छ । मंगलबार कोषले तिलंगगा बी-१३ को अतिक्रमित जग्गा १५ दिन भित्रमा खाली गर्न सूचना जारी गरेपछि परिसरमा तिलगंगाबासी विरोध गर्दै पुगेका थिए ।

विकास कोषको तर्फबाट तीन, पीडित स्थानीयको तर्फबाट तीन र काठमाडौँ महानगरपालिका ८ का वडाअध्यक्षसहितको समिति बनेको पीडित दीपकप्रसाद गौतमले जानकारी दिए ।


‘स्थानीयबासी विरोध गरेर कोषमा पुगेपछि कोषका तर्फबाट समिति बनाउने तयारी भएको हो,’ उनले भने,’ वार्ता सकारात्मक भएको छ । समितिको तर्फबाट जे निर्णय हुन्छ त्यहीँ अनुसार काम कारबाही अगाडि बढ्छ ।'

एक दशकअघि पशुपति क्षेत्र विकास कोषले तिलगंगा बी-१३ मा बसोबास गर्नेलाई गोठाटारको जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार तिलगंगाबासीले स्थानान्तरणका लागि जग्गा माग गर्दै आइरहेका छन् ।

‘कोषले निर्णय गरे बमोजिम जग्गा उपलब्ध भएमा हामी ६ महिनामा जग्गा खाली गरिदिन्छौ,’ उनले अगाडि भने,’ मुआब्जाका स्वरूप तत्काल जग्गा उपलब्ध भएमा हामी तिलगंगामा बस्न चाहँदैनौ ।‘ कोषले तिलगंगाबासीलाई मुआब्जा नदिएर उठीबास लगाउन खोजेको उनको भनाइ छ ।

तिलगंगा क्षेत्रमा करिब सय घरधुरीको बसोबास रहेको छ ।


Author

थप समाचार
x