समाज

दोस्रो चरणको अनुसन्धान

सीआइबीको निष्कर्ष : विद्युतीय सामग्री र ब्रेक सुमा लुकाएर ३२ क्विन्टल सुन तस्कारी

२० जना पक्राउ, २६ अझै फरार सूचीमा

इकागज |
असार १७, २०८१ सोमबार १५:१ बजे

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले विद्युतीय सामग्री र ब्रेक सुमा लुकाई करिब ३२ क्विन्टल सुन तस्कारी भएको निष्कर्ष निकालेको छ ।

सुन तस्करीको दोस्रो चरणको अनुसन्धानका विषयमा जानकारी दिन आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सीआइबीले विद्युतीय सामग्री र ब्रेक सुमा लुकाई ३ हजार १ सय ९४ दशमलव ६६८ सुन तस्करी भएको जानकारी गराएको हो ।


उक्त सुनको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ रहेको छ । सीआइबीले भुजेल इलोक्ट्रोनिक सप्लायर्स, रेडी ट्रेडर्सलगायत पाँच सप्लायर्सहरूले उक्त परिमाणको सुन भित्र्याएको जनाएको छ । सीआइबीका डिएसपी सुन्दर तिवारीले दोस्रो चरणको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाइएको जानकारी दिए ।

यस क्रममा २० जनालाई पक्राउ गरिएको र २६ जना अझै फरार सूचीमा रहेको उनले बताए । यस्तै भुक्तानी सेवा प्रदायक पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजले लाइसेन्सको दुरुपयोग गर्दै सुन तस्करीमा पटक-पटक गरी कुल ५५ अर्ब ७९ करोड ८८ लाख ८५ हजार ८ रुपैयाँ ५३ पैसा भुक्तानी सहजीकरण गरिरहेको भेटिएको डिएसपी तिवारीले जानकारी दिए ।

त्यस्तै सीआइबीका प्रमुख एआइजी श्यामलाल ज्ञवालीले भेपबाहेकको सुन तस्करीको अनुसन्धानका क्रममा​ पूर्वसभामुख कृष्णबहादुर महरा र दिपेश पुनको संलग्नता नदेखिएको बताए । सीआइबीले भन्सार ऐन, संगठित अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐनलाई आधार बनाइ प्रतिवादीबाट २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख बिगो मागदाबी गरेको छ । 


Author

थप समाचार
x