समाज

धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला

इकागज |
असार २१, २०८१ शुक्रबार १५:७ बजे

धनुषा- जिल्लाको सबैला नगरपालिका-६ गोविन्दपुरस्थित भग्नावशेष अवस्थामा रहेको जनककाली ऐतिहासिक मठेश्वरनाथ मन्दिरको उत्खनन गर्दा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला परेका छन् । पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालसहित तीन सदस्य टोलीले यही असार ७ गतेदेखि मठेश्वरनाथ मन्दिरको उत्खनन सुरु गरेको हो ।

प्राचीन मन्दिर भनिएको स्थानको अवशेष उत्खनन गर्दा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला परेका पुरातत्वविद् प्रकाश दर्नालले जानकारी दिए । 'अहिलेसम्म दुईवटा पत्थर जोड्ने आइरन डाबर, फलामको गोलो रिङ, मन्दिरमाथिको सतह, भारतीय र नेपाली सिक्काका साथै पत्थरमा लिच्छविशैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएको छ,' उनले भने, 'सोही अक्षरको आधारमा मन्दिरको प्राचीनता पत्ता लगाउन सकिन्छ । लिपि विशेषज्ञलाई देखाएर वास्तविक पत्ता लगाउने तयारीमा छौँ ।'


स्थानीय ६० वर्षीय रामवृक्ष यादवले भने, 'पुरातत्व विभागले उत्खनन गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिर थियो । यस मन्दिरको बारेमा धार्मिक ग्रन्थ रामायणमा पनि उल्लेख गरिएको छ ।' 

सो मन्दिर मिथिलाका राजा जनकले निर्माण गरेको जनविश्वास रहेको ७५ वर्षीय राममनोहर साहले बताए । राजा जनकले मिथिलाको राजधानी जनकपुरधामको समदूरीमा चारवटा मठ निर्माण गरेका थिए ।

महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ, धनुषाको गोविन्दपुरमा मठेश्वरनाथ र भारतको विहार राज्यको कल्याणेश्वरमा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गरेको इतिहास रहेको साहले जानकारी दिए । 'तीमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिर आज पनि पूजापाठ हुन्छ भने मठेश्वरनाथको भग्नावशेष मात्र बाँकी छ,' उनले भने । 

पुरातत्वविद् दर्नालले भग्नावशेषको अध्ययन गर्दा प्राचीन मन्दिरको स्वरूप देखिएको बताए । मठेश्वरनाथ मन्दिर हो भनेर यकिनसँग अहिले भन्न नसकिने बताउँदै उनले उत्खननको क्रममा एउटा महत्वपूर्ण ढुङ्गा भेटिएकाले थप अध्ययन गरिने उल्लेख गरे । 'उत्खनन गर्दै जाँदा ज्यामितीय आकारको बुट्टा जो अहिलेसम्म कतै देखिएको थिएन त्यो पनि फेला परेको छ,' उनले भने ।

 विज्ञका अनुसार मिथिलाको प्राचीन सभ्यता पाउने सम्भावना करिब सातदेखि १० हजार वर्ष पुरानो तथ्य यहाँ भेट्न सकिन्छ । लिपिका आधारमा पूर्वमध्यकाल वा आठौँ/नवौँ शताब्दीको इतिहास हुनसक्ने बताउँदै पुरातत्वविद् दर्नालले मन्दिरका पर्खाल थप पछ्याउँदै जाँदा धेरै कुरा पत्ता लाग्न सक्ने उल्लेख गरे । 
 
सबैला नगरपालिकाका प्रमुख काशीराम यादवले मन्दिरको पश्चिमतर्फ प्रवेशद्वार रहेको यसको संरचनाले देखाउने भन्दै प्रवेशद्वारबाट उत्खनन सुरु गरिएको जानकारी दिए । 'भग्नावशेषको माथिल्लो भाग सिमेन्ट र निकै पुराना इँटाले छोपिएको छ भने तल्लो भागमा ठूलाठूला ढुङ्गा एकापसमा जोडिएर रहेका अवस्थामा भेटिएका छन्,' उनले भने । 

ढुङ्गा प्राचीन समयको जस्तो देखिए पनि इँटा कहाँबाट ल्याइएको हो सोबारे थप अनुसन्धान गर्नुपर्ने देखिएको पुरातत्वविद् दर्नालले बताए । मिथिलाको सभ्यता काठमाडौँभन्दा पनि पुरानो भएकाले यहाँ जे पनि भेट्न सक्ने उल्लेख गर्दै उनले पूर्वमा कोशी र पश्चिममा गण्डकीसम्म प्राचीन मिथिलाको क्षेत्र भएको जानकारी दिए । 

'अनुसन्धानका क्रममा यो मन्दिर प्राचीन रहेको प्रमाणित हुन्छ । यहाँ मिथिला, मौर्य, गुप्त र ब्रिजी सङ्घको सभ्यता लुकेको छ । अन्तिम अध्ययन नसकिएसम्म तथ्य के हो भन्न कठिन छ,' पुरातत्वविद् दर्नालले भने ।

स्थानीयका अनुसार २०३३/२०३४ सालतिर धनुषाका एक जमिन्दारका भतिज झोपे मल्लले मन्दिरका साथै वरपरको क्षेत्र खन्न लगाएका थिए । बहुमूल्य वस्तु भेटिने लोभले झोपेले मन्दिर खन्न लगाएका भन्दै स्थानीय विन्देश्वर यादवले तत्कालीन समयमा ठूलोलाई रु सात र सानोलाई रु पाँच ज्याला दिइएको स्मरण गरे । मन्दिर खनेर ढुङ्गा छरपस्ट बनाएपछि स्थानीयको दबाबमा मन्दिर नजिक रहेको इनारबाट इँटा झिकेर माथिबाट इँटा जडान गरिएको उनले बताए । 

मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा अहिले पनि ठूलाठूला ढुङ्गा छरपस्ट अवस्थामा छन् । गाउँका कतिपयले सिलौटा बनाउन तथा अन्य प्रयोजनका लागि यहाँबाट ती ढुङ्गा लगिसकेका छन् ।
 
'सोही मन्दिरको दक्षिणपूर्वमा इनार थियो । सो इनार अहिले पुरिएको छ । मन्दिरभन्दा पश्चिमतर्फ एउटा पोखरी थियो । त्यो पोखरी पनि पुरिएर खेतमा परिणत भएको छ,' नगरप्रमुख यादवले भने । पुरातत्व विभागले यस ठाउँमा प्राचीन मठेश्वरनाथ मन्दिर रहेको प्रमाणित गरिदिए यसलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गरिने बताए । यस ठाउँको विकासका लागि विगत दुई आर्थिक वर्षदेखि नगरपालिकाको नीति तथा कार्यक्रममा पनि समेट्दै आइएको नगरप्रमुख यादवले जानकारी दिए । 

विगतमा माध्यमिक परिक्रमा डोला पनि यही मन्दिर हुँदै जाने गरेको स्थानीय बताउँछन् । परिक्रमाका सहभागी कतिपय भक्तजन अहिले पनि यो मार्ग भएर परिक्रमा डोलाका लागि जाने गरेका स्थानीय ७० वर्षीय फेकु यादवले जानकारी दिए । रासस


Author

थप समाचार
x