समाज

रौतहटका छुट्टाछुट्टै स्थानमा दुई शव फेला, एक जना बेपत्ता

इकागज |
असार २४, २०८१ सोमबार २०:१४ बजे

रौतहट- रौतहटको छुट्टाछुट्टै स्थानको नदी किनारमा एक महिला र एक पुरुष गरी दुई जनाको शव फेला परेको छ । प्रहरीका अनुसार अझै एक जना पुरुष तलाउको पानीमा बेपत्ता भएकाले खोजी कार्य जारी रहेको छ ।

गरुडा नगरपालिका ५ महमदपुरका २२ वर्षीय अनिलकुमार यादव गाउँ छेउकै तलाउमा डुबेको आशंकामा प्रहरीले खोजी कार्य सुरु गरेको छ । क्षारे रोगबाट ग्रसित अनिल आज बिहान शौच गर्न जाँदा दिउँसोसम्म घर फर्केर नआएपछि परिवारले खोजी गर्दै जाँदा तलाउ किनारमा गम्छा भेटेका थिए । क्षारे रोगी अनिल शौच गरेर खोला किनारमा गएको समय उनलाई रोगले मुर्छित पारेपछि तलाउमा डुबेर बेपत्ता भएको हुनसक्ने परिवारले आशंका गरेका छन् ।


सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभार, हेक्वाबाट विपद तथा उद्धारसम्बन्धी सामग्री लिएर गएको टोली र इलाका प्रहरी कार्यालय गरुडाका संयुक्त टोलीले तलाउमा अनिलको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातिले बताएका छन् ।

उता जिल्लाको पूर्वी भेग माधव नारायण नगरपालिका ९ गढो गाउँ नजिकै बागमती नदी किनारमा आइतबार एक जना पहिचान नखुलेको ५३ वर्षीय पुरुषको शव बरामद गरी सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको डिएसपी गेहेन्द्र भण्डारीले बताएका छन् । 

त्यस्तै यमुनामाई गाउँपालिका ४ स्थित झाँझ खोला किनारमा आज एकजना अपरिचित ३० वर्षीया महिलाको शव बरामद भएको छ । स्थानीयको सूचनाको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बेलबिछावा र हेक्वाबाट गएको संयुक्त टोलीले महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ । महिला र पुरुष दुवै शवको सनाखत हुन नसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।

यस पटकको मनसुन सुरु भए यता रौतहटमा डुबेर बेपत्ता भएको यो पहिलो घटना रहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x