Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

पोखरामा बिहानदेखि सार्वजनिक यातायात बन्द

इकागज |
साउन १३, २०८१ आइतबार १३:५५ बजे

फाइल फोटो

कास्की - मुलुकको पर्यटकीय राजधानी पोखरामा आज बिहानदेखि सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् । बस, ट्याक्सी, जिपसहित यात्रीवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।

गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशको आव्हानमा यातायात व्यवसायी र मजदुरले आजदेखि प्रदेशमा सार्वजनिक यातायात ठप्प गराएका हुन् । सार्वजनिक यातायात सञ्चालन नभए पनि निजी सवारीसाधन भने निर्वाध सञ्चालन भइरहेका छन् । 


यातायात व्यवसायी महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको सात बुँदे मागमा सम्बन्धित पक्षले चासो नदिएपछि प्रदेशभर सार्वजनिक यातायात बन्द गरिएको जानकारी दिए । 

“हामीले ४८ घण्टाको समय दिएर हाम्रा मागहरु सरकार समक्ष राखेका थियौँ, सरकारले कुनै पनि चासो नदिएपछि आजदेखि प्रदेशभर सार्वजनिक यातायात घर तथा ग्यारेजमा थन्काएर बसेका छौँ”, उनले भने । 

प्रदेश सरकारले निजी सवारीसाधन (रातो प्लेट) मा यात्रु बोक्न दिनेगरी राइड शेयरिङलाई वैधानिकता दिन लागेको आरोप व्यवसायीको छ । यातायात ऐन बनेको चार वर्षपछि गण्डकी सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनलाई यात्री बोक्न दिनेगरी कार्यविधि बनाएको छ ।

 यातायात व्यवसायीसँग परामर्श नगरी एकलौटी रुपमा निजी सवारीसाधनलाई यात्री ओसारपसार गर्न वैधानिकता दिन लागिएको प्रति यातायात व्यवसायी महासंघको आपत्ति रहेको अध्यक्ष पौडेलले बताए । 

यातायात व्यवसायीले यातायात प्राविधिकीकरण गठन गरी सञ्चालनको कार्यविधि तयार गर्ने, यातायात, मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्ने, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्ने, सडक सुरक्षा योजना लागू गर्नुपर्नेलगायत माग सरकारसँग राखेका छन् । 
रासस


Author

थप समाचार
x