समाज

वैदेशिक रोजगारी

कोरियाले राख्‍यो तीन शर्त : कोभिड बीमा र क्‍वारेन्टिन खर्च कामदार आफैँले व्यहोर्नुपर्ने

ट्रान्जिट उडानमा जान नपाउने

अतिन आचार्य |
असार २४, २०७८ बिहीबार १८:५६ बजे

फाइल तस्बिर :

काठमाडौँ : दक्षिण कोरिया जाने नेपाली कामदारले कोभिड बीमा र क्‍वारेन्‍टिन खर्च आफैले व्‍यहोर्नुपर्ने भएको छ । कोरियाले नेपाली कामदार लैजान कामदारको कोभिड बीमा गर्नुपर्ने, सिधा उडान हुनुपर्ने र कामदार आफैँले क्‍वारेन्टिन खर्च तिर्नुपर्ने शर्त नेपाल सरकारसमक्ष राखेको हो । नेपालले आफ‍्‍ना कामदारलाई कोरिया पठाउनको लागि विभिन्‍न समयमा पहल गरिरहेको थियो ।

पछिल्लो समय नेपाली कामदार लैजानका लागि कोरिया केही सकरात्मक भएको ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले बताए । उनका अनुसार नेपाली कामदार लैजान कोरियाले केही शर्तहरू राखेको छ । 'कामदारको कोभिड बीमा गर्नुपर्ने, ट्रान्जिट नगरी सिधा उडान हुनुपर्ने र कामदार आफैँले होटल क्‍वारेन्टिनमा बसेको खर्च तिर्नुपर्नेछ शर्त छ,' गौतमले भने,' कोभिडको जोखिम रहेकाले पनि ट्रान्जिट गर्न नपाइने शर्त अगाडि सारेको हुनसक्छ ।' १४ दिनको क्‍वारेन्‍टिन बस्दाको अवधिको बीमा हुनेछ ।


ईपीएस शाखाले इच्छुक बीमा कम्पनीलाई पोलिसीसहित सम्पर्क गर्न आह्‍वान गरेको छ । कोरियाले कामदार लैजाने भएमा बीमाको सूचीकृत गरेर राखेको कामदार नै पहिलो प्राथामिकतामा पर्ने गौतमले जानकारी दिए  । उनकाअनुसार कोरियाले सिधा उडानको माग गरेको छ । कोभिडको जोखिम रहेकाले ट्रान्जिट उडानमा आउनेलाई कोरियाले प्रवेश दिनेछैन । यसअघि कामदारहरू ट्रान्जिट उडानबाट पनि कोरिया जाने गरेका थिए ।

कामदार लैजाने मिति भने कोरियाले खुलाइ नसकेको गौतमले जानकारी दिए । उनकाअनुसार कोरियाको स्वास्थ्य विभागले अझै पनि नेपाललाई 'येल्लो जोन' मा राखेकाले सहजै कामदार जान पाउने अवस्था छैन । कोभिडको 'ग्रिन जोन' मा नेपाल समावेश भएपछि मात्र कामदार नियमित रूपमा कोरिया जान पाउँछन् । पछिल्लो समय कोरियामा कोभिड संक्रमितको संख्या बढ्दै गएको छ । 

कोभिड-१९ प्रकोप सुरु भएपछि नियमित र छुट्टीमा आएर पुन: फर्कन चाहने कामदार पनि कोरिया जान पाएका छैनन् । नेपालमा कोभिड संक्रमणदर बढेपछि कोरियन भाषा परीक्षा उत्तीर्ण गरी बसेका कामदार पनि पालो पर्खदै छन् ।  छुट्टीमा आएका र भाषा परीक्षा रोष्टरमा नाम निस्केर पनि जान नपाएका श्रमिकहरूले विभिन्‍न सरकारी निकायमा ज्ञापन पत्र बुझाउँदै  र प्रदर्शन समेत गरेका थिए ।

'दाेर्‍याएर जाने कामदार पहिलो प्राथमिकतामा'

छुट्टीमा आएर पुन: काममा जान खाेज्‍नेहरूले पहिलो चरणमा अवसर पाउने गौतमले बताए । विभिन्‍न समयमा छुट्टीमा आएर नेपालमा बसेका करिब तीन हजार कामदार रहेको उनले जानकारी दिए । नियिमत कामदारसहित कुल आठ हजार कामदार कोरिया जाने पर्खाइमा छन् । रोष्टरमा रहेका चार हजार कामदारको कम्पनी पत्र (सम्झौता पत्र) आउन बाँकी रहेको उनको भनाइ छ । रोष्टरमा रहेका कामदारको संख्या थपघट भइरहने उनले जानकारी दिए ।

भाषा परीक्षा पास छनौट भएका कामदार पनि जान पाउने गौतमले जनाए । 'कमिटेड' कामदार जान पाउनसाथ रोष्टरमा नाम निस्केको कामदार स्वतः जान पाउने उनले दाबी गरे ।

भाषा तथा सीप परीक्षा पास गरेपछि कोरिया जान नपाएका धेरै उदाहरण छन् । परीक्षा उत्तीर्ण गरेकालाई रोष्टरमा राखिन्छ । कोभिडको समयमा रोष्टरमा रहेकाहरूको म्याद गुज्रिएका हकमा म्याद थप गर्न नेपालका तर्फबाट आग्रह गरिसकिएको गौतमले बताए । रोष्टरमा परेका कामदारको एक वर्षसम्म समयावधि थपिन्छ ।

रोष्टरमा रहँदा म्याद गुज्रिसक्दा पनि कोरियाली रोजगारदाताको छनोटमा परेका छैनन् । कोरिया प्रवेशका लागि भाषा तथा सीप परीक्षा पास गरेर रोस्टरको प्रक्रियासम्म पुग्नुपर्छ । कोरियामा हाल ३० हजार बढी नेपाली कामदार रहेको गौतमले जानकारी दिए। कृषि र उद्योगको क्षेत्रमा मात्र नेपाली कामदार लाने गरिएको छ ।

'भाषा परीक्षा अनिश्‍चित बन्दै'

दोस्रो लहरको कोभिड पुनः देखिएकाले भाषा परीक्षा रोकिएको गौतमले बताए । 'कोरियासँग परीक्षाको लागि वार्ता पनि भएको थियो,' उनले भने, 'पुनः कोभिड बढेकाले परीक्षा अनिश्चित जस्तै भएको छ । कोभिडको संक्रमण घटेपछि मात्र परीक्षा लिन सकिन्छ ।'

भाषा परीक्षा अनलाइन हुने गौतमले जानकारी दिए । अब भने परीक्षा गर्ने मोडल परिवर्तन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । यसअघि भाषा परीक्षाका लागि सीभीटी र पीबीटी परीक्षा हुन्थ्यो । कोरिया गएर आएकालाई लिने परीक्षालाई सीभीटी परीक्षा भनिन्थ्यो । रेगुलर परीक्षार्थीलाई लिने परीक्षालाई पीबीटी भनिन्छ । अब भने दुवै परीक्षार्थीलाई कम्प्युटर विधिबाट सीभीटी परीक्षा लिन सक्ने उनले बताए ।

र, यो पनि

कोरिया जाने कामदारलाई पाँच हजार डलरको कोरोना बीमा

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x