समाज

विपन्‍नलाई बाँड्न ल्याइएको चामल गोदाममै कुहिएपछि खाल्डोमा गाडियो

जितेन्द्र थापा |
साउन २५, २०७८ सोमबार २०:११ बजे

सुर्खेत - कोभिड महामारीमा गरिब/विपन्न परिवारलाई राहत दिन खरिद गरेको चामल जनतालाई नदिएरै कुहिएको छ । दैलेखको नौमुले गाउँपालिकाले महामारी प्रभावित परिवारलाई वितरण गर्न भनेर आफैले खरिद गरेको चामल वितरण गर्न नपाउदै गोदाममै कुहिएको हो । एक सय ५५ बोरा चामल कुहिएपछि शनिबार खाल्डो खनेर गाडिएको छ । नौमुले गाउँपालिकाले होटल नमस्तेपछाडिको हलमा राखिएको चामल कुहिएपछि शनिबार खाल्डोमा गाडिएको हो । 

पालिकामा २०७६ चैतमा खाद्य डिपो दैलेखबाट झण्डै १ हजार ५६० बोरा चामल खरिद गरिएको थियो । भारतबाट आएकाहरू, गाउँमा खाद्यान्न कम भएका र असिना पीडितलाई वितरण गर्ने भनेर खरिद गरिएको चामल गोदाममै थन्किएको थियो ।


गाउँपालिकाले आफूसँग भएको चामलबारे समेत अनविज्ञता प्रकट गरेको छ । यता गाउँपालिका अध्यक्ष भदे बुढामगरले भने चामल राख्ने गोदाम ओसिलो भएको र असारकोमा चामल भिजेकोले वितरण नगरिएको दाबी गरे । 

‘करिब २७ लाख बराबरको चामल खरिद गरिएको हो,’ गाउँपालिका अध्यक्ष बुढामगरले भने, ‘खरिद गरिएको चामलमध्ये केही चामल ओसार पसार गर्दा पानीले भिजेको र केही चामल राखेको ठाउँ ओसिलो भएका कारण बिग्रेकोले वितरण गरेका थिएनौँ ।’

खरिद गरिएको मध्ये अरु सबै चामल वडा कार्यालय र क्वारेन्टिनमा पठाइएको उनले बताए । ‘केही दिन पहिलेमात्रै कुहिँएको चामललाई पत्रकार, नागरिक समाज, स्थानीय र प्रहरीको रोहवरमा १५५ बोरा चामल गाडेका हौँ ।’

करिब २७ लाखमा कति बोरा चामल ल्याइयो र कति वितरण गरियो भन्ने बारे अध्यक्षले अनविज्ञता प्रकट गरे । सो विषयमा प्रमुख प्रशाशकीयलाई जानकारी भएको भन्दै पन्छिन खोजे । यसविषयमा प्रशासकीय प्रमुखसँग सम्पर्क हुन सकेन । 

पालिकाका स्थानीयले चामल खरिद प्रक्रियाभन्दा पनि वितरण प्रक्रियामा मिलेमतो रहेको हुनसक्ने आशंका व्यक्त गरे । ‘उनीहरूले चामलको ढूवानीमासमेत भ्रष्टाचार गरेका छन् । एक रुपैयाँ प्रतिकेजी ढुवानी गर्छु भन्ने ट्रकलाई तीन रुपैयाँ प्रतिकेजी भुक्तानी दिएको पाइएको छ,’ स्थानीय सशीराम विकले भने, ‘विश्व खाद्य कार्यक्रमबाट ल्याइएका चामल पनि बिक्री गरेको पाइएको छ । तर त्यो पैसा कहाँ छ ? पालिकाले जानकारी पनि दिएको छैन ।’

राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा पालिकाका अध्यक्ष तथा पदाधिकारीले चामल वितरण गरेको उनको आरोप छ । ‘पैक, द्वारी, कालिकालगायतका स्थानमा असिनापीडितलाई चामल वितरण गर्ने भनिएको थियो । मन परेकालाई चार बोरा, नपरेकालाई एक बोरा पनि नदिएको गुनासो आएको छ,’ उनले भने, ‘अध्यक्ष भदे बुढामगरले राजनीतिक आधारमा पक्षपात गर्नुभएको हो । । यसको हिसाब हामीले मागिरहेका छौं, तर दिइएको छैन ।’

पालिकामा अति वेथिति भएको अर्का स्थानीय प्रेम विकले गुनासो गरे । ‘हुनेखाने र पहुँच हुनेहरूले मात्रै राहत पाएका थिए । हामी दलित, त्यसमाथि कमजोर र पहुँच नभएका नागरिकका माग कसैले सुनुवाई गरेन,’ उनले भने ।


Author

थप समाचार
x