समाज

वातावरण संरक्षणमा लागेका चक्रको कथाः

‘आफ्नो न बस्ने घर न त परिवार, तर अरुका लागि रोप्दैछन् पीपल’

जितेन्द्र थापा |
भदौ ३, २०७८ बिहीबार २०:५८ बजे

फोटो स्रोत : डा.नवराज केसी

सुर्खेत - हातमा छडी । आधा शरीर र कपाल नाङ्गै आधा शरीरमा सेतो कपडा पहिरेका यी हुन्, सुर्खेतको पञ्पुरी नगरपालिकाका–१० का चक्रबहादुर विक । उमेरले ७२ वर्ष पुगेर डाडामाथिको डुब्ने बेलाको घाम जस्तै भइसकेका छन् । 

तर पनि उनलाई यो बुढेसकालमा आफ्नो भन्दा पनि पीपल संरक्षणमा धेरै चासो चिन्ता छ । बिहान सबेरै उठ्छन् । नजिकैको धाराबाट पानि लिएर तीनदेखि चार ओमखोराले पीपलको तिर्खा मेटाउँछन् । पीपललाई सुम्सुम्याउँछन् । उनको बुढेसकोलमा एउटा साथी जो छ त त्यही ‘पीपल’ । 


लामो समयसम्म भारतमै आफ्नो जवानी बिताउँदै स्वदेश फर्केर ३५ वर्षमा विवाह गरे । श्रीमती घरमै छाडी फेरि परदेश गए । गाउँमा श्रीमतीले पहिलो पालामै छोरी जन्माएको खबर पाएपश्चात् उनी अन्तै मोडिए । गाउँको खबर उनका कानमा पुग्दासाथ परदेशमा उनलाई निकै झोक चलेको झल्झल्ती सम्झिने गरेको बताउँछन्, उनी ।

गाउँमा श्रीमतीले छोरी जन्माएकै कारण परदेशमा उनको प्रेम अर्कै आइमाईसँग साटिन पुग्यो, जसले गर्दा घरको सबै कुरा भुले । केही समयपछि गाउँ फर्के । गाउँ फर्किदासम्म उनको दुईवटा छोरा भइसकेका थिए ।

गाउँमै पसल व्यवसाय सुरु गरे । व्यापारमा फाइदा गर्न सकेनन् । त्यही दुःख हेर्न नसकेर दोस्रो श्रीमती दुईवटा छोरासहित हिँडिन् । जसको अत्तो पत्तो नभएको उनी बताउँछन् । हराएका छोरा खोज्न न त उनीसँग आर्थिक छ न त बस्ने घर नै नितान्त एक्लिएका छन् । पुराना कुरा सम्झिँदै उनी प्रयाश्चित गर्छन् ।

न त उनको आफ्नो घर छ, न त जग्गा जमीन नै । न परिवार नै छ । पल्लो घरको भतिजो नाता पर्नेको घरमा दिउँसो गाइभैँसँ डुलाउँदै र साँझ बिहानको समयमा बर पिपल सुमसुम्याउदै दिनचर्या बित्छ ।

नजिकैको गल्फा चौतारामा बस्दै चर्चित लोकदोहेरी गायिका मुना थापामगरको एकल भाका ‘डाडै पिपलु भाच्यो हुरीले छैन सितलु भन्दै’ भित्रभित्रै गुन्गुनाउछन् । उनी आफ्नो जिन्दगीभन्दा धार्मिक आस्थासँग जोडिएको वर–पीपल प्राकृतिक र वैज्ञानिक दृष्टिकोणले उत्कृष्ट वृक्ष त्यही वर–पीपल संरक्षणमा कसैले चासो नदिँदा चिन्तामा छन् । केही समयअघि रोपेका पीपल हुर्किन नपाउँदै कसैले काटिदिँदा फेरि त्यही ठाउँमा पिपल रोपेको नौ वर्ष भएको उनी बताउँछन् । उनले भने, ‘आधुनिकताका नाममा हामीले पुराना चिजहरु भुल्दै गएका छौँ पीपल संरक्षणमा सबै तहबाट जुट्नुपर्छ ।’

थोरै हावा दिँदा पनि शीतलता प्रदान गर्ने र गाउँलाई स्वच्छ बनाउने यी बर–पीपल बाटो बिस्तार गर्दा धेरै ठाउँमा नासिन पुगेका छन् । गाउँका यी वर–पीपल बाटोघाटो बनाउँदा नासिँदै जाँदा पनि संरक्षणमा स्थानीय सरकारले चासो नदिएको उनको गुनासो छ । पहिले रोपेको पिपल कसैले काटिदिए । उनले भने, ‘तर पनि मैले हार मानिन, पुरानै ठाउँमा अर्को पिपलको बोट ल्याएर रोपेर हुर्काए ।’


सुर्खेतको पञ्चपुरी नगरपालिका-१० का चक्र विक पिपललाई सुम्सुम्याउदै । तस्बीर : डा.नवराज केसी

उमेरले ७२ वर्ष पुगेका चक्रलाई पिपलप्रति निकै मायामोह छ । बाटोमा पिपल रोप्दै गाउँलाई स्वभायमान बनाउने र बाटोमा हिँड्ने थकित बटुवा र भरियालाई विश्राम बस्ने थलोको संरक्षणमा छन् । तर उनको जीवन भने कष्टकर रुपमा बित्दै आएको छ । 

बाटा–घाटामा पीपल रोप्दै बटुवा, भारी बाकेर थकित बटुवालाई शीतलता दिने उनको जिन्दगी चाहिँ उखरमाउलो प्रचण्ड गर्मीमा बिताइरहेका छन् । डाडाको पीपल ठूलो हावा हुरी लागेर भाचेजस्तै उनको जिन्दगीमा पनि ठूलै बर्जपात परेको छ ।

जिन्दगीभरि साथ दिने जीवनसाथीले २०५८ मा ४५ वर्षकै उमेरमा साथ छोडेर अर्कैको साहरा बन्न पोइल हिँडिन् ।  ‘पहिले खुुसी–सुखी परिवार थियो’ उनले भने,’ ४४/४५ वर्षको उमेरमा लालाबाला घर परिवार पाल्न परदेश गए यता श्रीमती अर्कैसँग गएको कुरा सुने मन भक्कानियो, जसोतसो मन बुझाए ।’ 

मन बुझाएर छोरीकै लागि भएपनि घर फर्किए । छोरीलाई हुर्काए अर्कैको घरमा गइहाले । ‘म पनि डाडामाथिको डुब्ने बेलाको घाम भएको छु’ उनले भने, ‘जाने दिन कुरेर बसेको छु ।’ पीपल भनेको एउटा पहिचान, चिनारी र शीतल दिने रुख–विरुवामध्येकै शुद्ध वृक्ष भएको कलाकार प्रेमदेव गिरी बताउँछन् । हिन्दु धर्ममा पीपल वृक्षको धेरै नै महत्व रहेको र यसलाई विश्व वृक्ष, चैत्य वृक्ष अथवा वासुदेवको नामले समेत पनि चिनिन्छ ।

बाटाघाटा र सार्वजनिक स्थान तथा निजी स्थानमा रहेका वर पिपल भनेको कुलर ‘एसी’ चिसो हावा प्रदान गर्ने हुन् यस्को संरक्षणमा विशेषः स्थानीय र संरक्षण गर्नु सबैको दायित्वभित्र सुर्खेत आयुर्वेदिक अस्पतालमा कार्यरत आयुर्वेदिक डाक्टर यादव उपाध्यायको भनाई छ । 

 


Author

थप समाचार
x