समाज

कारुणिक कथा

यात्रामै अस्ताएकी आमा

छोरो आमा..भन्‍दै रुन्छ, कहाँबाट ल्याइदिउँ !

जितेन्द्र थापा |
भदौ ६, २०७८ आइतबार १०:४० बजे

सुर्खेत – यात्रा रुकुम पश्चिमदेखि नेपालगन्जको थियो । ना ३ ख ३७८८ नम्बरको बस आफ्नै गतिमा अघि बढ्‍दै थियो । बसमा कलाकार जानु रिजालको गीत ‘ड्राइभर दाई घुम्ती घुम्तीमा, मोड मोडमा बचाऊ है’ बजिरहेको थियो । बसका यात्री आफ्नै धुनमा मस्त थिए । सोही गाडीमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–९ की २८ वर्षीया धर्माकुमारी बटाला पनि नेपालगन्जको यात्रामा थिइन् । घटना बिहीबारको हो ।

मध्यरात भइसकेको थियो । बिहीबार रुकुम पश्चिमपकी धर्मा बटालाले रुकुम पश्चिमबाट नेपालगन्जको यात्रा तय गरिन् । पहिले घरमा सामान्य बिरामी र गाउँकै मेडिकलमा उपचार गर्दा सन्चो भएको थियो । कामको शिलशिलामा नेपालगंज बस्दै आएका श्रीमानलाई उनले आफू सामान्य नै रहेको बताइन् । श्रीमानले गाउँमै भएको क्लिनिकमा उपचार गर्न सल्लाह दिए । तर सुधार नभएपछि नेपालगंज नै बोलाए ।


श्रीमानकै सल्लाह अनुसार घरमा एक्लै बस्दै आएकी उनले सबै चाजोपाजो मिलाएर साढे दुई वर्षको नाबालक छोरासहित नेपालगंजको यात्राका तय गरिन् । रुकुम पश्चिमबाट जाजरकोट, सल्यान, सुर्खेत हुँदै नेपालगंज पुग्न उनलाई करिब १२ घण्टा नै लाग्थ्यो । 

बेलुका ५ बजेतिर दुधे बालकलाई काँखमा च्यापेर उनी १२ घण्टाको रात्रिकालीन यात्रा गर्न तयार भइन् । गाडीमा चढिसकेपछि अप्ठेरो बाटो, खाल्डाखुल्डीले उनको समस्या बल्झिदै थियो  । गाडीमा चढेको केही समयमै उनलाई वान्ता हुन थाल्यो । बीचमा बीचमा श्रीमानले फोन गर्थे आफूलाई सामान्य रहेको र आरामले यात्रा गरिरहेको बताउँथिन् । श्रीमान बिहान लिन जाने योजनाका साथ निदाउँछन् । यात्राको सहयात्रा भनेकै त्यहीँ नाबालक छोरा । तर यात्रा भरी वान्ता हुने क्रम रोकिएन । गाडी आफ्नै गतिमा अघि बढिरह्यो । बसमा यात्रा गरेकी धर्मा पनि गीत सुन्दै आफ्ना सुख दुःख केलाउदै लामो गहिरो सोचमा डुबेकी थिइन् । 

उनीसंगै यात्रा गरिरहेकाहरूले प्लास्टिकको झोला दिन्थे, त्यसमै वान्ता गर्थिन् । उनी बेला बेला आत्तिन्थिन्, काखको छोरालाई अल्टाईपल्टाई गर्थिन् । निदाएका छोरा ब्युँझिदैनन् ।

सायद आफ्नो अन्तिम जाने अवस्था रहेको र काखमा भएको छोरालाई दुध चुसाएर जान पाए भन्ने तीब्र इच्छा उनमा थियो । तर त्यतिबेलासम्म उनलाई नियतीले अन्तिम अवस्थामा पुर्या‍इसकेको थियो । दुःखका सय जंघार तर्दै यात्रा गरिरहेकी उनी छटपटाउँदा छट्पाउँदै सदाका लागि बसेकै सिटमा अस्ताइन् । गाडी आफ्नै गतिमा अघि बढिरहेको बेला अचानक छोरा रोएको आवाज आयो ।

बर्दियाको हरियालेक पुग्दा किरण रुन थाले । उनको रुवाइले निदाएका यात्रु व्‍युँझिए । बच्चा सिटबाट तल खसेका रहेछन् । आमा सिटमा अडेस लगाइरहेकी थिइन् । दिदी बच्चा रोयो उठ्नुस भनेर केसीले बोलाए । उनी बोलिनन् । अरुले पनि उठाउन खोजे तर धर्मा हलचल गरिनन् ।

आसपासका सीटमा बसेका यात्रुहरूले उनलाई उठाउन खोजे । तर उनी कहिल्यै नफर्किने गरि निदाइसकेकी थिइन् । दुधे बालक धेरै रुन थालेपछि याुत्रहरूले आमाको काखमा राखिदिए । कसैले फोटो खिचे, जुन अहिले सामाजिक संजालमा निकै हृदयविदारक रूपमा छाइरहेको छ ।

उता बिहान बसपार्क ल्याउन जाने योजनामा निदाएका श्रीमान, श्रीमती अस्ताएको खबरले समाल्न नसक्ने अवस्थामा थिए । एक जीवन अस्ताएको छ । छोरालाई काँखमै राखेर अन्तिम श्वास लिदाँको पीडा सायद धर्माका लागि निकै कठिन थियो होला । यदि गाउँघरमै सुविधा सम्पन्न नभए पनि उपचार गर्न लायक अस्पतालहरू भएको भए धर्माले यात्रामा मुत्युवरण गर्नुपर्दैन थियो कि ?  

दलबहादुरका अनुसार धर्माको उपचारमा चार लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको थियो । उनले भने, ‘मैलै नै उपचारका लागि बोलाएको थिएँ । शुक्रबार बिहान कोहलपुरमा भेट्न भनेर म पर्खिरहेको थिएँ । तर उनले बाटोमै ज्यान गुमाइसकिछन् । बिहान त छोरालाई मात्रै भेट्न पाएँ, उनले भने । धर्माकुमारी चढेको बसका यात्रीका अनुसार राति उनले आफूलाई बान्ता आउने बताएपछि उनका लागि एउटा सिट मिलाइएको थियो । छोरो आमा आमा भनेर रुन्छ कहाँ बाट खेजेर उस्की आमा भेटाइदिउँ ? आशुँ झार्दै उनले भने ।  

धर्माको माइती डडेल्धुराको अजयमेरु गाउँपालिका–३ गुनपाल हो । उनले रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ का दलबहादुरसँग बिहे गरेकी थिइन् । 
यात्रा गर्ने बाटो राम्रो भएको भए पनि धर्माको ज्यान जाने थिएन । अहिले पनि कर्णालीका दुर्गम बस्तीबाट कर्णाली राजधानी हुँदै देशका विभिन्न ठाउँ पुग्ने यात्रु जिउँदो लास बनेर गन्तव्यमा पुग्छन् ।  
 


Author

थप समाचार
x