समाज

जेठ–असारमा रोकिएको जनगणना कार्यक्रम सुरु गर्ने मन्त्रिपरिषद्को निर्णय

इकागज |
भदौ २१, २०७८ सोमबार १९:२४ बजे

काठमाडौँ– मन्त्रिपरिषद्को आजको बैठकले स्थगित भएको राष्ट्रिय जनगणना कार्यक्रम सुरु गर्नेगरी जनगणनाको परिमार्जित कार्यतालिका स्वीकृत गरेको छ । यसअघि कोभिड–१९ संक्रमण बढेका कारण जनगणनाका कार्यक्रम रोकिएको थियो । 

परिमार्जित कार्यतालिका अनुसार, राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसीर ९ सम्मका लागि तय गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएकोमा यस वर्षपनि नियमित तालिका अनुसार जेठ र असारमा जनगणना सम्पन्न गरी असार ८ मा जनगणना दिवस मनाउने तयारी थियो । 


विभागका निर्देशन ढुण्डीराज लामिछानेका अनुसार, यसअघि असारसम्मका लागि खोलिएका राष्ट्रिय जनगणनाका फिल्ड अफिसलाई मंसीरसम्म नियमित गरिएको छ र आवश्यक सामग्रीहरू यसअघि नै जिल्ला–जिल्लामा पठाइसकिएको छ । 

राष्ट्रिय जनगणनाको परिमार्जित कार्यतालिका अनुसार सुपरिवेक्षकको भर्ना भदौ २० देखि २६ सम्म प्रस्ताव गरिएको छ । भर्ना गरिएका सुपरिवेक्षकको तालिम २७ र २८ गतेका लागि तय भएको छ । 

यसलगत्तै घरपरिवार सूचीकरण कार्य भदौ ३० देखि असोज १८ सम्म हुनेछ । कात्तिकको १ देखि १२ सम्म गणकको भर्ना हुनेछ भने गणकको तालिम कात्तिक १३ देखि १६ सम्म तय गरिएको छ । गणकहरू खटाएर प्रत्येक घरपरिवारको गणना गर्ने मूल कार्यक्रम कात्तिक २५ देखि मंसीर ९ गतेसम्मका लागि राखिएको छ । 
 


Author

थप समाचार
x