समाज

दसैँ लक्षित अफर : लोभिने होइन, लत्याउने हो

डा. अरुणा उप्रेती |
असोज १२, २०७८ मंगलबार ८:५५ बजे

दसैँ नजिकिदै गर्दा बजार बाक्लिन थालेको छ । बम्पर अफर, धमाका, छुट र उपहार आदिको नाममा उपभोक्ता ठगिने बेला आएको छ । चाडपर्व लक्षित अफर प्रायः उपभोक्ताको मनोविज्ञानलाई ध्यानमा राखेर बनाइएको हुन्छ । बजारमा गएर अफरका सामान उठाउनुभन्दा पहिला हामीले धेरैपटक सोच विचार गर्नुपर्छ ।

विशेषगरी, खानेकुराको हकमा । कुनै पनि पसल वा डिपार्टमेन्ट स्टोरले अफरमा खानेकुरा दिएको छ भने त्यो किन्‍नु हुँदैन । त्यसका तीन कारण छन् । पहिलो, कि त ती खानेकुराको मिति नाघिसकेको हुन्छ । कि नाघिसकेको मितिलाई निकालेर नयाँ मिति टाँसिएको हुन्छ । कि भने सामान बिग्रिन थालिसकेको हुन्छ ।


त्यसैले, अफर वा उपहारमा आएका खानेकुरा किन्दा विचार पुर्‍याउनुपर्छ । एउटा किन्दा अर्को सित्तैमा भनेर राखिएका चाउचाउ, बिस्कुट जस्ता विभिन्‍न प्रकारका जंक फुडहरू अफरमा पाइयो भन्दैमा किनिहाल्नु हुँदैन । व्यापारीले यस्तै बेला पहिलादेखि नै बासी भएका, नबिकेका, बिग्रिएका खानेकुरा मानिसहरूलाई सकेसम्म भिडाउन खोज्छन् । आफ्नोमा स्टक रहेका सामान तह लगाउने उपयुक्त समय यही ठान्छन् । उपभोक्ताले यस्ता कुरा बुझ्‍न जरुरी छ ।

सामान सित्तैमा वा अफरमा पाइयो भन्दैमा उठाइहाल्नु हुँदैन । हाम्रोमा सित्तैमा वा अफरमा भन्‍ने बित्तिकै नचाहिने सामान पनि किन्‍ने परिपाटी छ । यो गल्ती गर्नु हुँदैन । एउटा आउने पैसाले अफरमा चारओटा सामान आउला तर, त्यो स्वस्थकर हुँदैन । बजारमा सित्तैमा कुनै खानेकुरा पाइन्छ भने त्यो स्वस्थकर छैन भनेर बुझ्नुपर्छ । अफरको लोभमा हामीले हाम्रो स्वास्थ्य कतातिर लगिरहेका छौँ विचार पुर्‍याउनुपर्छ । 

चाडपर्वमा पाहुना आउँछन् भनेर मानिसहरू बजारका जथाभावी सामान थुपार्छन् । यसले उनीहरू आफू मात्र अस्वस्थ हुँदैनन् । परिवार र आफन्तलाई पनि अस्वस्थ बनाइरहेका हुन्छन् । त्यसैले खानेकुरामा आएका यस्ता अफरबाट हामी लोभिने होइन, लत्याउनुपर्छ ।

व्यापारीहरूले कसैलाई पनि केही समान सित्तैमा दिँदैनन् । हामीले सित्तैमा आयो भनेर किनेका सामानमा पनि उनीहरूले नजानिँदो तरिकाले पैसा जोडेका हुन्छन् । व्यापारीको मुख्य उद्देश्य त जसरी भए पनि पैसा कमाउनु हो । आफ्नो पूरा फाइदा उठाएर मात्र उपभोक्तालाई अफर भनेर सामान बेच्‍ने हो । जुन सामानको जति बढी विज्ञापन हुन्छ, त्यो सामान त्यति नै बढी खराब हुन्छ । जसले बढी अफर दिन्छ त्यो सामान पनि विश्वासयोग्य हुँदैन । त्यसमा केही न केही गडबड छ भनेर हामीले बुझ्नुपर्छ । 

दसैँको नाममा अस्वस्थ खानेकुरा भित्र्याएर गोजी रित्याउनु आफैमा मुर्खता हो । हामी घरमा भएका स्वस्थकर खानेकुरा ढुसी बनाएर राख्छौँ र चाडपर्वमा भर सफा गर्दा झिकेर फ्याँकिदिन्छौँ । तर, बाहिरका ढुसी लागेका खानेकुरा अफरमा आयो भन्दै भित्र्याउँछौ । सित्तैमा पाएका सामान राम्रोसँग हेर्दै नहेरी झोलामा थुपार्छौँ । दसैँ भनेको बजारका अस्वस्थ र बासी खानेकुरा खाने चाड होइन । चाडवाड त परिवारसँग बसेर घरमै बनेको स्वस्थकर र पोषणयुक्त खानेकुरा खाएर मनाउनुपर्छ । 

दसैँमा हामीले चामल, दाल, गेडागुडी सित्तैमा वा अफरमा दिएको हामीले सुनेका हुँदैनौँ । ‘एक बोरा चामल बराबर पाँच किलो सित्तैमा’ भनेर कुनै अफर आउँदैन । अफर त्यो सामानमा आउँछ जुन अस्वस्थकर हुन्छ । ती अस्वस्थकर खानेकुरा भनेका जंक फुडहरू हुन् । कोल्ड ड्रिंकहरू हुन् । अफरमा आएका सामानमा केही न केही बदमासी हुन्छ । सुपरमार्केटतिर पहिलादेखि नै धेरै सामान थुप्रिरहेका हुन्छन् । बिक्रि नभएका सामानलाई धुलो टक्टक्याएर अफरमा राखिदिन्छन् । हामी भने सित्तैमा पाइयो भनेर मख्ख परेर लिन्छौँ । चाडपर्वको नाममा बजारले हामीलाई मुर्ख बनाउन खोज्छ । यस्तो बेला मुर्ख हुनबाट बच्‍नुपर्छ । 

यस्तो बेला बजारमा लाग्ने मेलामा सस्तोमा लुगाफाटो र भाँडाकुँडा किन्‍नु स्वभाविक हो । धेरैजना यस्तो अफरका लागि दसैँ नै कुरेर बसिरहेका हुन्छन् । सस्तोमा पाइने भएकाले र स्वास्थ्यमा पनि असर नगर्ने भएकाले यस्ता 
अफरबाट लाभान्वित हुन सकिन्छ । स्टकमा रहेका र पुरानो स्टाइलको लुगा सस्तोमा आउँछ । त्यो लगाउन सकिन्छ । नेपालमा उपभोक्ता संरक्षणको बारेमा सरकारले पटक्कै ध्यान दिँदैन ।

यस्तो किसिमको बदमासी गर्नेलाई सजाय दिने प्रचलन नै छैन । उपभोक्तालाई सजग गराउने खालको कुनै कार्यक्रम पनि छैन । हरेक वर्ष म्याद नाघेका खानेकुरामा नयाँ ट्याग लगाएर बजारमा ल्याउनेहरू रंगेहात पक्रेका समाचार आउँछन् । । तर, उनीहरूले के सजाए पाए, कस्तो कारबाही गरियो थाहा हुँदैन । पैसाको आडमा उनीहरूलाई कारबाहीको दायरामै ल्याइँदैन । उनीहरूलाई कहिल्यै सजाय हुँदैन । जनस्वास्थ्यमाथि यत्रो ठूलो खेलवाड गर्नेहरूलाई यत्रो छुट दिन मिल्छ ?

(जनस्वास्थ्यविज्ञ डा. उप्रेतीसँग गरिएको कुराकानीमा आधारित ।) 


Author

डा. अरुणा उप्रेती

डा. उप्रेती जनस्वास्थ्यविद् हुन् । उनी रैथाने खानपान र उपचार पध्दति प्रचारक हुन् ।


थप समाचार
x