समाज

बागमती नदी किनारमा छठ पूजाको तयारी [फोटो फिचर]

अनुज बज्राचार्य |
कात्तिक २३, २०७८ मंगलबार १५:५६ बजे

काठमाडौँ – दसैं र तिहारपछि आउने छठ पर्व मनाउनका लागि काठमाडौंस्थित बागमती नदी किनारमा सरसफाइ र रंगरोगन गरिएको छ ।


अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिइ मनाइने छठ पर्वका लागि नदीको किनार चिटिक्क पारिएको छ ।

छठ पूजाका लागि गुह्वेश्वरी, गौरीघाटलगायतका स्थानमा सरसफाइ गरी, सिंगारेर पूजाका लागि तयारी अवस्थामा राखिएको छ ।

 

छठ पूजाका लागि नदीभित्र पनि सरसफाइ पनि गरिएको छ भने पुजाका लागि आवश्यक मञ्च निर्माणका लागि कालीगढहरू सक्रिय रूपमा लागिरहेका छन् ।

उनीहरूले पूजाका लागि नदी छेउमा वेदी बनाएका छन् भने नदीमा पण्डाल टाँगेर पूजास्थल निर्माण गरेका छन् । कोभिड १९ संक्रमणका कारण गएका दुई वर्ष काठमाडौंस्थित बागमती नदीमा छठ पर्वको रौनक देखिएको थिएन ।

 

कोभिडका कारण गएका दुई वर्ष घर आँगनमै कृत्रिम जलकुण्ड बनाएर छठपर्व मनाएका उपत्यकाका भक्तजन यसपटक भने बागमती नदीमै गएर पूजापाठ गर्ने तयारीमा छन् । संक्रमण दर घट्दै गएकाले यसवर्ष बागमती नदीमा छठ मनाउने तयारी गरिएको हो ।

यसपटक हजारौंको संख्यामा छठका बर्तालुहरूले सामूहिक रूपमा नदीमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छैठी देवीको पूजा गर्ने तयारीमा छन् ।

 

परिवारमा सुख, शान्ति प्राप्त हुने  र मनकामना पूरा हुने धार्मिक विश्वासका साथ  तराई मधेस क्षेत्रमा छठ पर्व विशेष रूपमा मनाउने गरिन्छ ।

तराई मधेसका साथै काठमाडौं उपत्यकामा पनि छठ पर्व मनाइँदै आएको छ । सरकारले छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिने गरेको छ ।

बुधबार दिउँसो ४ बजेदेखि राति १२ बजेसम्म छठ पूजा मनाउनका लागि विशेष समय रहेको छ ।


 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x