समाज

‘समावेशी शिक्षाबारे संविधानमै अस्पष्ट व्यवस्था’

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १६:४३ बजे

काठमाडौँ - नेपालको शिक्षा प्रणाली व्यवहारिक र समावेशी बनाउन शिक्षा क्षेत्रका विज्ञहरूले धारणा राखेका छन् । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसर पारेर शुक्रबार शिक्षा अधिकार अनुगमन समुह नेपालको अयोजनामा सम्पन्न कार्यक्रममा विज्ञहरूले आफ्नो विचार राखेका हुन् ।  

‘समावेशी शिक्षाको व्यवस्थाबारे संवैधानिक व्यवस्था नै अस्पष्ट छ । संविधानको अनुसूचि आठ समात्ने कि नौ ? आठले स्थानीय तहलाई समात भन्छ नौले केन्द्रीय सरकार,’ कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपालका पूर्वअध्यक्ष डा. वीरेन्द्र पोखरेलले राज्य पुनःसंरचनापश्चात समावेशी शिक्षाको अवस्थाबारे प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै शिक्षाविद् डा. विद्यानाथ कोइरालाले भने । कोइरालाले यी सबै नीतिगत झमेलाबीच अपांगता भएका बालबालिकाका अभिभावलाई निकै कठिन स्थिति भएको बताउँदै सरकारले यसबारे गम्भीर हुन जरूरी भएको औंल्याए ।


कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघका पूर्वअध्यक्ष बाबुराम थापाले अपांगता भएका व्यक्तिहरूलाई अवसर दिएमा निकै अगाडि बढ्न सक्ने बताए । समावेशी शिक्षाका सवालमा कागजी रूपमा नेपाल कमजोर नभए पनि कार्यान्वयन पक्ष निराशाजनक भएको उनको भनाइ छ । यस्तै संसद्को शिक्षा स्वास्थ्य समितिकी सदस्य विद्या भट्टराइले शिक्षाको विषय राजनीतिक दलहरूको एजेन्डा नै नबन्दा समस्या भएको स्वीकारिन् । ‘शैक्षिक विषय राजनीतिक दलका एजेन्डा नबन्दा समावेशी, अपांगमैत्री शिक्षा अवलम्बन नभएको हो,’ उनले भनिन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. हरि लम्साले सरकारले गर्नुपर्ने कामहरू गरिरहेको बताउँदै समावेशी शिक्षाको पूर्णताका लागि सरकार प्रतिबद्ध रहेको बताए । यस्तै राष्ट्रिय बालअधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले पनि परिषदले अपांगता भएका बालबालिको पुनःस्थापना र उपचारका सन्दर्भमा काम गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा बालअधिकारकर्मी, मानव अधिकारकर्मी, शैक्षिक अभियन्ताका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो । सन् १९८१ मा ‘पूर्ण सहभागिता र समानता’ भन्ने नाराका साथ संयुक्त राष्ट्र संघबाट सुरु भएको राष्ट्रिय अपांगता दिवसको १० वर्षे कार्ययोजना पारित भएसँगै सन् १९९२ डिसेम्बर ३ देखि अन्र्राष्ट्रिय रूपमा अपांगता दिवस मनाउन थालिएको हो । सन् १९९३ देखि नेपालले पनि यो दिवस मनाउन सुरु गरेको हो ।


Author

थप समाचार
x