समाज

संघर्ष र सफलता

इन्द्रचोकका कृष्णको फूल फूलाउने कथा

स्‍नातक पढे पनि फूल बेचेरै कमाउँछन् मासिक आधा लाख !

अतिन आचार्य |
पुस २, २०७८ शुक्रवार ११:२६ बजे

काठमाडौँ- उपत्यकालाई कठयाङग्रिदो चिसोले छोपिसकेको छ । यही चिसोमा मानिस सबेरै भोको पेटका लागि बाहिर निस्कन्छन् । कोही भने बिहानी सिरेटोलाई छल्दै गोरेटो र मन्दिर वरपर फूल खोज्दै आउने दर्शनार्थीको पर्खाइमा हुन्छन्।

चिसोको पर्वाह नगरी इन्द्रचोकमा ग्राहक कुर्ने धेरैमध्ये एक हुन्,  ३१ वर्षीय कृष्‍ण मालाकार ।  बिहानै हातमा सियो र सयपत्री फूल लिएर कृष्‍णले  इन्द्रचोक कुर्न थालेकाे लामै समय भइसक्याे । कृष्‍णले झिसमिसे बिहानीमा हातमा फूल राखेर बस्‍न थालेको ५ वर्षभन्दा  बढी भइसकेको उनी बताउँछन्।


कृष्ण बिहानैदेखि सियोको सहारामा धागामा फूल उन्दै ग्राहकको पर्खाइमा छन् । मालामा फूलको महत्व भए जस्तै कृष्णको जीवनमा ग्राहकको पनि उत्तिकै महत्त्व छ। पुस्ताैँदेखि चलिआएकाे व्यवसायलाई कृष्णले निरन्तरता दिँदै आएका छन् । उनले दैनिक बिहान ६ घण्टासम्म फूल बेच्‍ने काम गर्छन् ।

बिहान ५ बज्दै कृष्ण इन्द्रचोकको सन्तानेश्‍वर मन्दिर अगाडि आइपुग्छन् । ११ बजेसम्म फूल, माला र फूलका अन्य बिरुवाहरू पनि बिक्री गर्छन् । दिउँसो काठमाडौँ महानगरपालिकाको वडा-२६ मा रहेको सरकारी जग्गाको रेखदेख गर्छन् । उनीसहित परिवारले करिब पाँच रोपनी जग्गामा फूलको खेती गरेका छन् ।

सिजनअनुसार फूलखेती गर्ने गरेको उनी बताउँछन् । सयपत्री, गुलाब, गोदाबरी, असर्फी र बागमुखी जस्ता फूलहरू लगाउने गरेका छन् । पाँच दशक अघिदेखि उनको बाबाले वडा कार्यालयको छेउमा रहेको जग्गा भोगचलन गर्दै आएका थिए । यही जग्गालाई उनले बगैँचा बनाएका छन् । 'बाबाले उपयोग गरेको जग्गा हाम्रो लागि उद्यम बन्‍ने थप प्राप्‍त भएको छ,' उनले भने ।

सरकारी जग्गामा लगाएको फूलको भर

कृष्णको फूल खेतीमा उनी मात्र छैनन्, दाजु पनि  छन् । बिहानभरी दाजुले फूलको स्याहार सम्भार गर्छन् । माला बिक्री गरेपश्‍चात् दिउँसो आफूले पालो दिने गरेको उनले बताए । घरमा उनीसहित पाँच जना रहेको परिवारलाई सरकारी जग्‍गामा लगाएको फूल खेतीले धानेको छ ।

'हामीजस्तो मध्यम वर्गीय परिवारको अभाव टार्ने माध्यम फूल बनेको छ,'कृष्‍ण भन्छन्,' बुबाले गरिआएको पेसा सम्हाल्दा जीवनयापन गर्न सहज भएको छ ।' उनको बाबाले फूलको खेती र बिक्री गरी सन्तान हुर्काए । कृष्णले व्यवस्थापन संकायको स्‍नातक तहसम्म अध्ययन गरेका छन् । निजी विद्यालयबाट उनले प्रारम्भिक शिक्षा आर्जन गरे । 

विगत सम्झदै उनी भन्छन,' प्लस टु प्रारम्भिक शिक्षा लिएको विद्यालयमा अध्ययन गरेको थिए । स्‍नातक तह पकनाजोलको पिपल्स क्याम्पसबाट गरेको छु। ' स्‍नातक तहको अध्ययन पूरा गरेसँगै उनले औपचारिक शिक्षालाई बिट मारेका छन् । आफूलाई पुग्‍ने शिक्षा प्राप्त गरिसकेको उनलाई लागेको छ । आफूले गरेको कामअनुसार शिक्षा पाएकाले कृष्‍णले थप अध्ययन नगर्ने निर्णय लिएका छन् ।

निजी कम्पनी र सरकारी कार्यालयमा  काम गर्न उनलाई रुचि  छैन । एउटै कारण छ,' आफूले समय दिएर आफ्नो काम गरे जस्तो अरु काममा आनन्द मिल्दैन ।' कहिलेदेखि आफ्नै काम गर्नुपर्छ भनेर मनमा गहिरो छाप बसेको थियो कृष्‍णलाई याद छैन ।

पुर्खाको व्यापार सम्हाल्दा खुसी

पुर्खाको व्यापार व्यवसायलाई सम्हाल्न पाएकोमा उनी पुलकित छन् । नेवार समुदायमा हुर्केका कृष्ण संस्कृति र मन्दिरले घेरिएको इन्द्रचोकमा बसोबास गर्छन् ।

उनले चिसो भुईमा सित्तैमा बस्‍न पाएका भने छैनन् । क्लबलाई मासिक १५ सय रुपैयाँ बुझाउने गरेका छन् । उनले बिक्री गर्न राखेको मालाको मूल्य २० रुपैयाँदेखि ६० रुपैयाँसम्म छ । मालाको मूल्य पनि सिजनअनुसार फरक-फरक हुने गरेको छ । उनले फूल नफुल्ने मौसममा मालाको मूल्य मँहगो पर्ने सुनाए । मासिक ५० देखि ६० हजार रुपैयाँ उनले आम्दानी गरिरहेका छन् ।

मन्दिरै-मन्दिरको क्षेत्र भनेर चिनिने इन्द्रचोकलाई फूलको व्यापारले सुन्दरतामा ईंट्टा थपेको छ । फूलको मात्र व्यापार गर्नुपर्छ भनेर उनको मनमा कहिलेदेखि गहिरो छाप बस्यो त्यो उनलाई पनि थाहा छैन । कहीँ-कतैबाट व्यापारै गर्नुपर्छ भनेर कहिले नसुनेका तर, बाबाले गरेको कर्मलाई पछ्याउँदै जाँदा फूलको सारथि बनिसकेको उनलाई पत्तै भएन । 

 फूलले संस्कृतिको जगेर्नाका लागि पनि भूमिका निर्वाह गरेको कृष्णको बझाइ छ । नेवार समुदायमा फूलको अझ धेरै महत्त्व रहेको उनी बताउँछन् । 'मैले बिक्री गरेको माला ग्राहकको हात र गलामा मात्र रहँदैन । माला आस्थासँग जोडिएको छ,' सियोमा फूल उन्दै उनले भने ,' मैले बिक्री गरेको फूल हनुमान ढोकादेखि इन्द्रचोकको प्रत्येक मन्दिरमा चढाइएका छन् ।'

ग्राहक फूल हुन्

उनी बिहानै फूल खरिद गर्न आउने नियमित ग्राहकको पर्खाइमा हुन्छन् । नियमित ग्राहक कम्तीमा १५ देखि २० जना छन् । उनलाई छुटाउन मन नलाग्‍ने भनेको नियमित ग्राहक हो । कृष्‍ण माला राख्दै भन्छन,' ग्राहक मन्दिरमा फूल चढाउने लालसा बोकी आउँछन् । चिसोमा दर्शनार्थीले फूल नपाउँदा उनीहरूको मन कस्तो हुन्छ ? ग्राहक मेरो लागि फूल हुन् ।'

उनले फूललाई सारथि बनाइसकेका छन् । फूल खेतीका लागि वर्षाँ सबैभन्दा कठिन मौसम रहेको छ । फुलेका फूललाई पानीले बिगारिदिने र सबै फूलहरू झर्ने गरेको कृष्णसँग तीतो अनुभव पनि छ। उनले गरेको फूल खेतीले नपुग्‍ने उनको भनाइ छ ।  फूलले नपुग्दा गोदावरी र हलचोकबाट फूल खरिद गरेर ल्याउने गरेका छन् । ग्राहकको अर्डर छ भने धेरै खरिद गर्ने गरेका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x