समाज

श्रमजीवी नागरिकमाथि कहिलेसम्‍म लात्ती बजार्ने ?

नगर प्रहरी प्रमुख भन्छन्–यस्ता घट्ना दैनिक भइरहन्छन्

अतिन आचार्य |
माघ २६, २०७८ बुधबार ७:४२ बजे

काठमाडौँ- मंगलबार साँझदेखि फेसबुक/ट्वीटरमा काठमाडौँ महानगर प्रहरीले सुन्तला व्यापारीको ठेला खोसिरहेको भिडियो भाइरल बन्यो । उक्त भिडियोमा सात जना प्रहरीले ठेलालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको देखिन्छ ।

सोमबार बानेश्‍वरको ह्वाइट हाउस कलेजअगाडि नगर प्रहरीले व्यापारीलाई नियन्त्रणमा लिएका थिए । भिडियोमा व्यापारीले ठेलालाई तानिरहेको देख्‍न सकिन्छ । तर, सातजनाको अगाडि एक जना व्यापारीको के लागोस् । व्यापारीको हातले समाएको डण्डीलाई नगरप्रहरीले खुट्टाले हटाउँछन्।


सडकमा व्पापारीले बिक्री गर्न लगेको सुन्तला यत्रतत्र छरिएको देखिन्छ । व्यापारीले छोडिदिन अनुनय-विनय गरिहन्छन् । तर, नगरप्रहरी सुनेर पनि नसुनेझै गर्छन् । कानुनको अगाडि बन्द आँखाले देख्दैन र कानले पनि सुन्दैन, भनेजस्तै त्यहाँ त्यस्तै दृश्य देखिन्छ । नगर प्रहरी आफ्नो कर्तव्य पूरा गर्ने नाममा निरीह व्यवसायीमाथि बहादुरी देखाउँछ । प्रहरीले व्यापारीमाथिको बहादुरीमा विराट मानवीयता भएको देख्छ ।

महानगरमा सम्पन्‍न र विपन्‍न दुवै नागरिकहरू बस्छन् । सहर धनी र गरिब दुवैको लागि हो । काम गर्ने र नगर्ने सबैको साझा पनि हो । सहरमा हुने खानेहरू पनि बस्छन् । खानलाई धौ-धौ पर्नेहरू पनि बस्छन् । हुने खानेको सबथोक हुन्छ, तिनले खास समस्या कस्तो हुन्छ र के हो भनेर महसुससमेत गर्न पाएका हुँदैनन् । तर, हुँदा खानेको पनि महानगर हो । बिहान र बेलुका के खाउ भन्‍नेहरूको पनि हो । तिनिहरूको अभिभावक को हुन्छ ? जो अभिभावक छन् उनीहरू शासकहरू बनेका छन् । शासन गर्नमा व्यस्त छन् ।

फुटपाथमा दुई छाक खान व्यापार गरिरहेका व्यापारीलाई दुःख दिने, लात्ती हान्‍ने नियम कसले बनाउँछ? यतिखेर तिनै सर्वसाधारण व्यापारीहरू शासित हुन रहर र बाध्यताको संगममा छन् । अर्कोतर्फ महानगरको सहर मात्र नभइ सिंगो मुलुक कोभिड-१९ को महामारीको सकसमा छ । अझ बढी गरिखाने श्रमिकहरू कष्‍टमा छन् ।

संघीय राजधानीमा अवस्थित काठमाडौँ महानगरपालिकाले निरीह मानिसलाई कानुन सिकाउनु र कारबाही गर्नुमा आफ्नो कर्मलाई महानता सम्झिरहन्छ ।महानगरलाई हिँडदाहिँडँदै हराउनेका फुटपाथ खोज्‍ने र बनाउन फुर्सद छैन । फुटपाथमा दृष्‍टिविहिन र शारीरिकरूपमा अशक्त नागरिकको मानवअधिकारमा उसलाई ध्यान छैन । तर,गरिखाने व्यापारीको ठेला खोस्‍न र कानुन सिकाउन सुरक्षाकर्मीको डफ्फा लिएर हिड्न व्यस्त छ  ।

भिडियो सार्वजनिक भएपछि स्थानीय तह अभिभावक हुनुपर्ने तर, त्रसाउने जस्तो भएको भनेर आलोचना भइरहेको छ । ठेलागाडा राखेर व्यापार गर्नु होला तर, नागरिकमाथि कुटपिट गर्ने अधिकार कसले दियो भनेर नेपाल प्रहरीलाई यस घट्नाको अनुसन्धान गर्न माग भइरहेको छ ।

 

रमा ओली ट्वीटरमा लेख्छिन्, 'सडकको छेउमा ठेलागाडा राखेर बेच्‍नु उस्को गल्ती होला। तर नगरपालिकाका कर्मचारीहरूले मजदुरी गरी खाने सामन्य नागरिक माथि कुटपिट गर्ने ? काठमाडौँ माहानगरपालिका पुलिसले यस घटनाको अनुसन्धान गरोस्।'

काठमाण्डौँको पहिचान, व्यवहार यति निकृष्ट हुन नसक्ने  रञ्जु दर्शनाले बताइन् ।  उनले भनिन्,' यो अमानवीय हो। नगर प्रहरीलाई 'आफ्नो ड्युटी निभाउँदा सभ्य व्यवहार कसरी गर्ने' भन्ने तालिमको खाँचो छ। का. म. पा को बजेटमा कार्यक्रम राखौं ।'

त्यसैगरी राष्‍ट्रिय मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी उसैगरी आक्रोश पोख्‍छिन्, 'महानगरमा करोडौँको गाडी पार्किंगको लागि ठाउँ छ । तर गरीब जनता जो बिहान बेलुका ठेलामा तरकारी, फलफूल बेच्छ उसको लागि ठाउँ छैन धिक्कार छ । महानगरका मर्मचारीहरू जो लात्तीले हानेर यो श्रमजिवीको ठेला खोस्दै छ। जिवीका उपार्जन उयाय दिन नसक्ने महानगर के काम जनताकै करले लात्ती बजार्ने निर्लज्ज ।'

'यस्ता घट्ना दैनिक भइरहन्छ'

भिडियो भाइरल भएपछि इकागजले ठेला गाडामा व्यापार गर्नेलाई कहिलेसम्म धरपकड गर्ने हो भनेर महानगरका नगर प्रहरी प्रमुख धनपती सापकोटालाई सम्पर्क गरी प्रश्‍न गरेको छ । सापकोटाले भने यसलाई हल्कारूपमा लिए । यस्ता घटना भइरहन्छन् भन्दै सामान्य जवाफ दिए । 'यस्ता घट्ना दैनिक भइरहन्छन् । हामी कसैलाई कुटपिट गर्दैनौ,' उनले भने, 'सामान जफत गर्ने क्रममा यस्ता सामान्य कुरा भइरहन्छ ।' व्यापारीमाथि कुटपिट गर्ने नीति नभएको उनी बताउँछन् । सम्झाएर छोडेमा विभिन्‍न आरोप लाग्‍ने उनले प्रस्ट पारे । सामग्रीसहित नियन्त्रणमा लिएपछि उठाउनुपर्ने बाध्यता रहेको उनले प्रस्ट पारे ।

'नियमभित्र बसेर काम गर्नेहरू सबैको महानगर हो । अवसरको भूमि पनि हो । त्यसैको निमित्त सेवा प्रवाह गर्न रातदिन खटिरहेका छौ,'उनले भने,'कानुनविपरीत सडक कब्जा गर्नेहरूलाई यो अवसरको भूमि हो भनेर भन्दैनौँ । जसको गाडा ल्याएयौँ तिनले गरेको फोहोर पनि महानगरले उठाइरहेको छ ।'

सामान्य जफत गर्दा बल प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले प्रस्ट पारे । ' सामग्री जफत गर्दा केही हुन सक्छ । त्यसबाहेक अन्य अवाञ्छित गतिविधि केही गर्दैनौँ,' उनले भने ।

महानगरले जफत गरेको गाडाबाहेक अन्य सामग्री फिर्ता गर्छ । जफत भएका ठेलाहरू जरिवाना लिएर गर्दैन । चारपाङ्ग्रे साधनहरू सडकमा गुडाउन यातायातमा दर्ता भएको हुनुपर्ने सापकोटाले जानकारी दिए । सडकमा बिना दर्ता गुडाउन नपाइने उनको ठहर छ । 'महानगर क्षेत्रभित्र व्हील भएको साधन सञ्‍चालन गर्न अनुमति चाहिन्छ,' उनले भने,' साइकलदेखि अन्य साधनलाई गुडाउन अनुमति लिनैपर्छ ।'

महानगरले २०४८ सालदेखि ठेला सञ्चालन गर्न अनुमति दिएको छैन । नयाँ रिक्सालाई अनुमति नदिएको र पुराना सकियोस भनेर थप सञ्चालन गर्ने व्यवस्था रोकेको छ । गरिखान भनेर सडक, खोला र सार्वजनिक कब्जा गर्न नहुने सापकोटाको भनाइ छ । व्यवसाय गर्न चाहनेले सटर भाडामा लिनुपर्ने उनले बताए । नियम अनुसार दर्ता गरेर र राजश्‍व तिर्नेलाई सदा सहज हुने गरेको उनको भनाइ छ ।

महानगरले तोकिएको स्थानमा र काम मात्र गर्नुपर्ने व्यवस्था छ । नियमसंगत काम गर्नेहरूका लागि सदा सहजीकरणग गर्न तयार रहेको उनले प्रस्ट पारे । कानुन मिचेर गरेका कामलाई महानगर आँखा चिम्लेर नबस्ने सापकोटाले सुनाए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x