समाज

श्रीमान् बचाउन प्रहरीसँगै भिख मागिरहेकी सीता

'कोही बुझेर पैसा दिन्छन्, केहीले भने मुख चलाउँछन्'

अतिन आचार्य |
चैत १५, २०७८ मंगलबार १३:४१ बजे

काठमाडौँ - जडिबुटी चौकको ट्राफिक जाममा 'लैङ्गिक हिंसा नियन्त्रण तथा पीडित उद्धार घुम्ती' प्रहरी लेखिएको भ्यान थियो। झ्यालबाट प्रहरीहरू टाउको निकालेर हेरिरहेका थिए । कोही बोलिरहेका देखिन्थे । कोही भने पैसा दिइरहेका थिए ।

'दुई दिन भयो पेटमा अन्न परेको छैन । नानी भोकै छे', प्रहरीको भ्यान छेउमा उभिइरहेकी सीता पाख्रिन भनिरहेकी थिइन् । उनलाई भ्यानभित्र रहेका केही प्रहरीले झ्यालबाट पैसा दिए । पैसा दिएपछि प्रहरीको भ्यान पनि जामबाट अगाडि बढ्यो ।  सीता पनि छोरीलाई हातले तान्दै किनारा लागिन् ।


चैतको चर्को घाममा उनी सडकको बिचमा ओहोरदोहोर गर्छिन् । सानादेखि ठूला सवारीसाधनहरू आफ्नै गतिमा चलिरहेका छन् । गाडीका आवाजसँगै उनको आवाज पनि चर्को सुनिन्छ । सार्वजनिक यातायातभित्र रहेका यात्रुहरूले उनलाई एकनास हेरिरहन्छन् । सडक यात्रा गर्नका लागि मात्र होइन, पैदल र जीवन याचनाका लागि पनि हो भनेर आभास दिलाइरहेको थियो ।

 

ट्राफिक जाममा परेका मोटरसाइकल चालकहरू छेउमा गएर आफ्नो क्षमताअनुसार रकम सहयोग गर्थे । 'तपाईलाई धन्यवाद छ'  झोलामा पैसा राख्दै उनले भन्थिन् । भक्तपुर सडकखण्डको जडिबुटीमा केही वर्षयता उनी पानी बिक्री गर्दै आइरहेकी थिइन् ।

मुलपानी बस्ने पाख्रिनले केही वर्षअघिदेखि पानी बिक्री गरिरहेकी थिइन् । आर्थिक अवस्था कमजोर रहेकाले पानीको सहारामा जीवन चलाउन सडकमा पुगिन् । उनको चारै जना सन्तानले विद्यालयको आँगन टेकेका छैनन् । पढाउन रहर भए पनि कसैलाई पढाउन नसकेको उनी बताउँछिन् ।

दैनिक दुई कार्टुन पानी बिक्री गर्दा दुई सय रुपैया आम्दानी हुने सीता बताउँछिन् । 'माग्न रहर नभइ बाध्यताले आउने गरेकी छु,' उनी भन्छिन्', दुई महिनादेखि घरभाडा तिरेको छैन ।' कोठाभाडा ४५ सय रुपैयाँ तिर्छिन् । 

सीताले पानी किन्ने पैसा नसकेर बिक्री गर्न छोडेकी छिन् । पानी मात्र किन्न सकेकी छैनन् । श्रीमानको उपचार खर्च समेत उनीसँग छैन । 'बुढा मुटुको उपचार गर्न केएमसी अस्पतालको ८१९ नम्बरको बेडमा सानो छोरासँग सुतिरहेका छन्',आँसु पुछ्दै उनले भनिन्,' केही मानिसले बुझेर पैसा दिन्छन् । केहीले भने मुख चलाउँछन् । मैले आफ्नो श्रीमानको उपचारका लागि माग्नुपरिरहेको छ । अस्पतालमा नभएको माग्न आउँदिन थिएँ ।'

अस्पतालले उनलाई आज जसरी पनि औषधि खरिद गर्न पाँच हजार रुपैयाँ जुटाउन भनेको छ ।' श्रीमानको उपचार गर्नलाई सडकमा हात फिँजाउनु परेको व्यथा उनले सुनाइन् । सडकमा बसेर भेला पारेको पैसा औषधि किन्दैमा सकिने उनले बताइन् । 'छोराछोरीलाई खाना खुवाउन पनि एकदमै गाह्रो भएको छ', उनले आफ्नो पीर सुनाइन् । 

दोलखा चरिकोट घर भएकी उनका चार सन्तान छन् । बुढा यताउति भए सन्तान कसरी पाल्ने चिन्तामा उनी छिन् । सीताले कक्षा दुईसम्म पढेकी छिन् । दुई छोरा र छोरीको आमा सीतालाई आफ्नो भन्दा पनि श्रीमान र सन्तानको चिन्ता छ । तर, उनका कुनै पनि सन्तानले विद्यालय टेकेका छैनन् ।

विवाह गर्दा उनका श्रीमान ड्राइभिङ गर्थे । घरमा आमा बिरामी भएपछि श्रीमान (सुशिल) काम छोडेका थिए । उपचारकै क्रममा आमाको मृत्यु भएपछि उनले ड्राइभरको जागिर पनि गुमाए । परिवारको अवस्था बिग्रँदै गयो ।

शुसिलले श्रमिकको काम गरी दुखः सुख परिवारको गुजारा चलाइरहेका थिए । अचानक छाती दुख्‍न थालेपछि अस्पताल गए । मुटुमा समस्या देखिएपछि उनले घर बनाउने काम पनि छोडे । श्रीमानको उपचार गर्न खर्च जुटाउनका लागि झोला थाप्नुपरिरहेको परिरहेको सीताको भनाइ छ ।

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x