समाज

पोखरामा अझै छ ‘कटुवालप्रथा’

अर्मलाकोटमा जैशीलाई भ्याइनभ्याइ छ

धनबहादुर गुरुङ |
चैत २७, २०७८ आइतबार १०:३२ बजे

पोखरा - बुढ्यौलीले छोपे पनि स्वरमा उस्तै दम छ । लोर्के ठिटोको जस्तो हिँडाई । उमेरले ७६ लागे पनि जोस घटेको छैन्, पोखरा १६ अर्मलाकोटका डीलप्रसाद जैसीको ।  उनको आवाजले अर्मलाकोटका ७० घर परिवारको कान ठाडो हुन्छ । जैसीको आवाज घन्किएपछि गाउँमा के नयाँ काम हुन थाल्यो भनेर कान थापेर सुन्छन् । हुन पनि उनको पेशा नै खबर सुनाउने हो । पोखरा महानगरमा  कटुवाल (बालीघरे) प्रथा उनकै कारण कायम छ ।

कटुवालको कामलाई अर्मलाकोटमा ‘घोक हाल्ने’ भनेर समेत बुझिन्छ । ७० को हाराहारीमा घरधुरी भएको त्यस गाउँमा हुने भेला, सार्वजनिक कार्यक्रम, पूजाआजा, विद्यालयको बैठक हुँदा, असिना पर्दा, विवाह हुँदा, मानिसको मृत्यु हुँदा अनि गाँउको होमस्टेमा पाहुना आउँदा जैसीको दिनचर्या गाउँका अधिकांश डाँडाकाँडा दगुर्दैमा बित्छ । ‘गाउँ अलि धेरै क्षेत्रमा फैलिएकाले एक ठाँउबाट मात्र घोक फिराउँदा नसुनिएला भनेर ३ ठाँउमा गएर घोक हाल्छु’ उनले भने । 


पोखरा महानगरको उच्च भूभागको गाउँ हो अर्मलाकोट । यद्यपि यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । गाउँमा विद्युत, मोबाइल, टेलिभिजन रेडियोलगायतका सञ्चारका सबै सुविधा भए पनि चलिआएको परम्परागत कटुवाल प्रथा कायमै छ । जैसीलाई भ्याइनभ्याइ भएको हो । गाउँलेले कटुवाल काम गर्ने गरी छनौट गरेपछि उनी गाउँका सम्बन्धित ठाउँमा खबर प्रवाहका लागि दगुर्छन् । 

गएको ४ वर्षदेखि यो काम गर्न थालेको उनी बताउँछन् । ‘म भन्दा पहिला शेर बहादुर परियारले यो काम गथ्र्यो,’ उनले भने, ‘उसले के बेइमान गरेछ फरि मैले नै गर्न थालेको हो । शेरबहादुर भन्दा पहिला पनि मैले नै गर्थे ।’ 

गाउँमा रेडियो, टीभी अनि मोबाइल भए पनि कटुवालले घोक हालेपछि आफूलाई विश्वास लाग्ने स्थानीय देउसरी गुरुङले बताइन् । ‘गाँउमा बैठक भयो भने फोन त आउछ तर कटुवालले सुनाएपछि बल्ल ढुक्क हुन्छु,’ उनले भनिन् । सूचना प्रविधिको युगमा धेरै स्रोत साधान भए पनि परम्परादेखि चल्दै आएको चलनलाई जोगाएर राख्नुपर्ने उनको तर्क छ । 

जैसीभन्दा अगाडि शेर बहादुर परियार, सिंहबहादुर परियार, काजीमान नेपाली र कृष्णबहादुर परियारले कटुवालको काम गरिसकेको उनले सम्झिए । गाँउमै कटुवालको काम गर्न पाउँदा जैसीलाई पनि खुशी लागेको छ । ‘नजिकका अरु गाँउमा कटुवाल प्रथा छैन । यो प्रथालाई जोगाएर राख्नुपर्छ भनेर लागेको छु’ उनले भने । तर परिश्रमिकमा भने उनको चित्त बुझेको छैन । कटुवाल घोके वापत जैसीले प्रत्येक घरबाट दिने २ पाथि कोदो बाली उठाउछन् । 

७० घरबाट कोदो उठाउँदा करिब ७ मुरी कोदो जम्मा गर्छन् । दुई छोराहरू बजार झरे पनि उनी र श्रीमतीलाई कोदोले मज्जैसँग पुग्छ । तर उनी भन्छन्,‘ ७ मुरी कोदोले पुग्न त पुग्छ । तर कोदो मात्र खाएर भएन । तरकारी कताबाट ल्याउने ?’ कटुवाललाई प्रथा नभएर अब पेसा बनाउनुपर्ने उनको जोड थियो । वडाबाट केही सहयोग भयो भने यो पेसा पनि जोगिने र आफूलाई पनि जिविको पार्जनमा सहयोग पुग्ने उनको भनाइ छ । 
 


Author

थप समाचार
x