समाज

चट्याङको उच्च जोखिममा मकवानपुर : पाँच वर्षमा २३ जनाको मृत्यु

सरिता दाहाल |
बैशाख २४, २०७९ शनिबार ७:३२ बजे

मकवानपुर - मकवानपुरगढी ६ की राममाया लोप्चनलाई मौसम धुम्म हुनासाथ चिन्ता लाग्छ, कतै चट्याङ्गले हान्ने हो कि ? उनी विगत १८ वर्षदेखि यसैगरी मौसमी धाम्मधुम्मदेखि डराउँछिन् ।

२०६० साल जेठको २७ गते उनी घरैमा मकै केलाउँदै थिइन्, वातावरण धुम्म थियो, हल्का पानी परिरहेको थियो । एक्कसl आँखै अगाडि झिलिक्क झिल्को आएजस्तो भयो, त्यसपछि उनले केही थाहै पाइनन् । 'मैले थाहा पाउँदा म भरतपुर अस्पतालमा रहेछु' उनले स्मरण गरिन्च, 'ट्याङ हानेकै पत्तै नपाइने रहेछ ।'


उनीसँगै चट्याङले लागेर, घाइते भएका श्याम घिमिरेको ६ घण्टापछि होस फिरेको थियो, उनी भने १ दिनपछि मात्रै आइन् । त्यो घटनापछि मृत्युको मुखमा पुगेर फर्केको बताउँछिन् उनी । 'धन्न बाँचे, समयमा उपचार पाएरै होला' उनले भनिन् ।

प्रि–मनसुनमा चट्याङका घटना धेरै हुने गरेका छन् । एकराता ७ बैशाखमा मात्रै मकवानपुर राक्सिराङ ८ गोङरेङकी ६५ वर्षीय जीतबहादुर गोलेको मृत्यु भयो । चट्याङ लागेर ६० बर्षीय ठुलीमाया रुम्बा घाइते भएकी हुन् । उनलाई उपचारको लागि ललितपुरमा रहेको पाटन अस्पतालमा उपचाररत छन् ।

गत २९ चैत्रको हावाहुरी, पानीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी मकवानपुर राक्सिराङ गाउँपालिकाको ४२ वर्षीया फुलमाया डिम्डुङको मृत्यु भयो ।
चट्याङ लागेर गम्भीर घाइते भएकी फुलमायाको उपचारका क्रममा हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको थियो । फुलमायाकी श्रीमान समेत सामान्य घाइते भएका थिए । घरमै बसिरहेकी फुलमाया र उनका श्रीमानलाई चट्याङ लागेर घाइते भएका थिए ।

शनिबार, आइतबार र सोमबार बिहान पनि मौसम सफा रहेको छैन । बितेको एक वर्षमा देशका विभिन्न ठाउँमा चट्याङ्गका दुई सयभन्दा धेरै घटना भएका छन् । ती घटनामा ५६ जनाको ज्यान गएको छ । एक सय ७५ जना घाइते भएका विपद् व्यवस्थापन प्राधिकरणको तथ्याङ् छ ।

नेपालमा चट्याङको उच्च जोखिम जिल्लाहरूमा मकवानपुर अग्रस्थानमा रहेको छ । प्रि–मनसुन अर्थात जमिन तात्ने बेला चैत–वैशाख–जेठमा चट्याङको जोखिम धेरै हुन्छ । मकवानपुरमा बैशाखदेखि हालसम्म ७ वटा चट्याङका घट्ना घटेको र त्यसबाट एक जनाको मृत्यु भएको छ भने १२ परिवारका १३ जना घाइते भएको विपद् व्यवस्थापन प्राधिकरणको तथ्यांक छ ।

मकवानपुर जिल्ला चुरे पहाड र महाभारत पहाडको काखमा अवस्थित जिल्ला हो । यस जिल्लामा विगत केही वर्ष यता चट्याङका घटनाहरू बढदै गइरहेको र यसबाट हुने मानवीय तथा धनसम्पत्तिको क्षति पनि बढ्दै गएको देखिन्छ ।

विगत ४२ वर्ष यताको चट्याङका घटना र यसबाट भएको क्षतिलाई हेर्दा १५० वटा घटनाबाट ३३४ जनाको ज्यान जानुका साथै २५० भन्दा बढी घर प्रभावित भएका छन् । यसैगरी २७ घर पूर्ण रुपमा क्षति भएको छ भने १०८ वटा चौपाया क्षति हुनाका साथै ७ लाख ९५ हजार बराबरको आर्थिक क्षति भएको जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको तथ्यांकले देखाउँछ ।

चट्याङको सबभन्दा बढी प्रभाव फागुनदेखि श्रावणसम्म रहने गर्दछ । जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका अनुसार यो वर्ष चट्याङबाट करीब १०० घर र उक्त घरमा रहेका परिवारका ५०० मानिस प्रभावित हुने अनुमान गरेको छ ।

सोही परिस्थितिलाई मध्यनजर गरीे मकवानपुरगढि गाउँपालिका स्तरमा पालीका तथा अन्य संघ संस्थाको सहयोगमा चट्याङको बढि जोखिम क्षेत्र पहिचान चट्याङ प्रतिरोधक स्टेशन जडान तथा व्यवस्थापन गर्ने काम भईरहेको जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको दस्तावेजमा उल्लेख छ ।

यस कार्य को अनुगमन गरि यसलाई विस्तार गर्न यस अन्तर्गत सम्पूर्ण क्षेत्रगत तहलाई समेटेर समग्र रुपमा यो विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरिएको जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले उल्लेख गरेको छ ।

विगत १० वर्षमा बागमती प्रदेशमा चट्याङबाट मात्रै २३१ जनाले ज्यान गुमाएको र ६२३ जना घाईते भएको देखिन्छ । बागमती प्रदेशमा मकवानपुर जिल्ला चट्याङबाट सबैभन्दा प्रभावित भएको देखिन्छ ।

यस कारण जोखिम बढी छ मकवानपुरमा
पहाडी भूबनोट र पूर्वी पहाडी क्षेत्रको बंगालको खाडीसँगको निकटताले गर्दा नेपाल चट्याङबाट प्रभावित छ । चुरे क्षेत्र र पहाडी भूभागहरू चट्याङ्को बढी जोखिममा छन्, किनकी चट्याङले उच्च पहाडको जमीनमा पुग्न धेरै छोटो दूरीको यात्रा तय गर्नुपर्दछ ।

जसका कारण मकवानपुरमा बढी घट्ना देखिने गरेका छन् । जलवायु परिवर्तनका कारण आँधीबेरीको आवृत्ति र तीव्रतामा बृद्धिले गर्दा नेपालमा जोखिम अझ बढ्ने सम्भावना छ । विगत केही बर्षको तथ्याङ्क हेर्दा नेपालमा बाढीबाट भन्दा चट्याङबाट बढी मानिसहरूले ज्यान गुमाइरहेका छन् ।

बागमती प्रदेशमा मकवानपुरसहित सिन्धुली, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ जिल्लाहरू पनि चट्याङबाट धेरै नै प्रभावित छन् । पशुहरूको चट्याङबाट हुने मृत्यु दर मानिसहरूको भन्दा ५ गुण बढी उच्च छ । 

बङ्गालको खाडी नजिक रहेका नेपालका भूभागहरूमा बढी चट्याङ पर्ने गरेको चट्याङविज्ञ डा श्रीराम शर्मा बताउँछन्। 'त्यो भनेको झापा–मोरङतिरको क्षेत्र हो। जुन संसारकै मानचित्रमा हेर्दा पनि तेस्रो बढी प्रभावित क्षेत्रमा लिन सकिन्छ। त्यसपछि चुरे क्षेत्र बढी प्रभावित देखिन्छ,' उनले भने । मृत्यु हुने मानिसको सङ्ख्याका हिसाबले चुरेक्षेत्र नै बढी प्रभावित देखिएको डा शर्माले बताए । उनका अनुसार नेपालमा चट्याङको सबैभन्दा बढी प्रभाव मकवानपुर जिल्लामा देखिएको छ ।
मान्छेमाथि सोझै चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर ज्यान जाने शर्मा बताउँछन् । विज्ञहरूका अनुसार चट्याङको आवाजले कानका जाली फुट्ने र मानिसहरू घाइते हुने पनि गर्छन्।

५ वर्षमा २३ को मृत्यु
मकवानपुरमा चट्याङबाट विगत ५ वर्षमा मात्र २३ जनाको मृत्यु भएको तथ्याङ्क विपद् व्यवस्थापन प्राधिकरणसँग छ । चट्याङबाट ५ वर्षमा मृत्यु हुनेमा महिला बढी रहेका छन् । जसमा ८ जना पुरुषको मृत्यु भएको छ भने १५ जना महिलाको मृत्यु भएको छ । विगत ५ वर्षमा ७६ वटा चट्याङको घटना देखिएकोमा १ सय ४१ जना घाइते भए । चट्याङबाट ७ वटा गाइ बस्तुको समेत नोक्सान भएको छ भने ७५ लाख रूपैयाँ बराबरको नोक्सान भएको छ । जसबाट १ सय २० परिवारलाई असर पर्न गयो ।

जोगिने उपाय
चट्याङप्रतिरोधी घर निर्माण गर्ने अर्थात घरमाथि तामाको त्रिशूल वा रड राखेर त्यसलाई जीआई पाताले जोडेर घरमुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्नु पर्छ ।

चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरनजिक नबस्ने र अग्ला रूखमुनि ओत लाग्नु हुदैन । धातुको तारबार नजिक, समथर र खुला ठाउँमा नबस्ने पनि चट्याङबाट बच्ने उपाय हुन् ।

भूमि र बादलको दूरी कम भइरहने पहाडी भूभागमा सतर्क रहनु पर्छ भने चट्याङ परेको बेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग नगर्नु उचित मानिन्छ । छत नभएको सवारीसाधनमा भए तुरुन्त सुरक्षित स्थानमा जानु पर्छ र गाडीभित्र भए गाडीभित्रै बस्न सुरक्षित मानिन्छ । चट्याङ गाडीको धातुमा फैलियो भने पनि र टायरको माध्यमबाट अर्थिङ भएर जान्छ । अध्ययनले संसारमै चट्याङका तीन ‘हटस्पट’ मध्ये नेपाललाई एक मानेको छ । त्यसैले चटयाङबाट पूर्ण सुरक्षित त हुन सकिन्न, तर अलिकतिमात्र सावधानी अपनाए धेरै हदसम्म बच्न सकिन्छ ।

यसरी पर्छ चट्याङ 
सूर्यको तापक्रमले तातिएको जमीनको सतह तथा जलाशयबाट पानीका कण बाफ बनेर उड्दै आकाशमा पुग्छन्। पानीका कण वाष्पीकरण भएर आकाशमा पुगेपछि बन्ने बादललाई हावाले गतिमान बनाउँछ। गतिमान बादलभित्र पानीको बाफ विभिन्न तह र तापक्रममा बसेका हुन्छन्। बादलको तह बाक्लो भएर प्रकाश छिर्न नसक्ने भएपछि यो कालो देखिन्छ।

तापक्रमको भिन्नताका कारण कालो बादलको एक तहमा पानी हुन्छ भने अर्को तहमा बरफ। तिनीहरू ब्याट्रीका फरक दुई ध्रुव जस्तो धनात्मक र ऋणात्मक दुई भागमा बाँडिएर बस्छन्। तिनीहरूबीच घर्षण उत्पन्न भएर विद्युतीय चार्ज उत्पन्न हुन्छ। जब चार्जको मात्रा बढ्दै जान्छ, त्यो बादलले धान्न नसकेर चट्याङको रूपमा विद्युतीय लहर आफ्नै बाटो बनाएर पृथ्वीको सतहसम्म आइपुग्छ। यद्यपि सबै चट्याङ पृथ्वीसम्म आइपुग्दैनन। आइपुग्नेमध्ये पनि केहीले नोक्सानी गर्छन्।


Author

थप समाचार
x