विशेष रिपोर्ट

हेल्थकर्मीहरू ‘हेल्पलेस’ हुँदै : तनाव र अनिद्राले मनको बिरामी

सृजना खड्का |
बैशाख २८, २०७८ मंगलबार ८:२३ बजे

बिरामीले ‘श्वास पुगेन, श्वास पुगेन’ भनेर पुकारिरहेको बेला धुलिखेल अस्पतालकी नर्स सृष्टि सिलवाल स्वयंलाई उकुसमुकुस हुन्छ । पीपीई र एन नाइन्टी फाइभ मास्कभित्र गुम्सिएकी उनी त्यो चित्कारले झनै निसासिन्छिन् । त्यति नै बेला जब बिरामीले अन्तिम श्वास फेर्छन्, उनी आफूलाई निरीह महसुस गर्छिन् ।

निरन्तर कोसिसका बाबजुद पनि जब युवा उमेरकै कोभिड बिरामीको जीवन बच्दैन, त्यो दृश्य त झन् बयान गर्न सक्दिनन्, उनी । यसले उनलाई निकै दिनसम्म नमज्जाले पिरोल्छ । मानसिक रूपले उनी विक्षिप्त बन्छिन् । ‘अक्सिजनको स्याचुरेसन मेन्टेन नहुँदा उनीहरूको शरीर हेर्दाहेर्दै निलो हुन्छ,’ उनी भन्छिन्, ‘यो देखेर हामीलाई ‘प्यानिक अट्याक हुन्छ । भित्रभित्रै डर लाग्छ । ‘स्ट्रेस’ र ‘एन्जाइटी’ बढ्छ । अरु के-के हुन्छ, ती र तीनको पीडा शब्दमा बयान गरिसाध्य छैन ।’


श्वास पुगेन-पुगेन भन्दै बिरामीले अक्सिजन मास्क मुखमा रगड्छन्, कतिको त मास्कले नाकाभरि घाउ बनाउँछ । उनीहरूले लड्ने जीवन र मृत्युबीचको लडाइँको प्रत्यक्षदर्शी बन्‍नुपर्दा सृष्टिलाई अत्यास लाग्छ । कोभिडको बिरामीकोे ज्यान जोगाउन नसकेको भन्दै उनका केही साथी त आईसीयू वार्डमै धुरुधुरु रुन्छन् ।

अस्पतालका यी दृश्यले उनलाई कमजोर, निराश र हतोत्साहित बनाउँछ । ‘काम गरेपछि सबैलाई फलको आश हुन्छ,’ उनी भन्छिन्, ‘तर कोसिस गर्दागर्दै पनि आफूले सोचेको जस्तो रिजल्ट नआउँदा यसै दुःखी भइन्छ । हिम्मत हारिन्छ ।’ 

अहिले अस्पतालमा पहिलो चरणमा जस्तो सामान्य रुघाखोकी लाग्दैमा आउँदैनन् । सृष्टिका अनुसार धेरै बिरामी होम आइसोलेसनमा बसेर गम्भीर अवस्था भएपछि मात्रै अस्पताल आउँछन् । ‘यस्तो अवस्थामा दिनमै एक वा दुईजनाको मृत्यु भइरहेको हुन्छ,’ उनी भन्छिन्, ‘त्यसमा पनि युवा उमेरका बिरामीको मृत्यु हुँदा हाम्रो आश पनि मर्छ ।’

भक्तपुर अस्पतालमा डा. सुनिल ढुंगेलको अनुभव पनि उस्तै छ । कोभिड वार्डमा काम गर्ने प्रायःजसो स्वास्थ्यकर्मीलाई तनाव, चिन्ता, अनिद्रा जस्ता समस्या देखिएको उनी बताउँछन् । ‘यति मात्रै होइन केही स्वास्थ्यकर्मीरूमा डिप्रेसनका लक्षणसमेत देखिन थालेको छ,’ उनी भन्छन्, ‘म आफैँ पनि धेरै अवस्थामा ‘हेल्पलेस’ महसुस गर्छु । हरेक दिन बिरामी गुमाउनुपर्र्दा केही गर्न नसकेको जस्तो अनुभव हुन्छ ।’

उनलाई दिनमा १०-१५ कल फोन ‘लौ न अक्सिजन र बेडको व्यवस्था मिलाइदिनुपर्‍यो’ भन्दै आउँछ । बिरामी र उनीहरूको आफन्तको त्यो हारगुहारले उनलाई मानसिक रूपमा झनै कमजोर बनाउँछ । ‘सबै कुरा हाम्रो हातमा हुँदैन भनेर चित्त बुझाउँछौँ,’ उनी भन्छन् । 

स्वास्थ्यकर्मीलाई मानसिक रूपले स्वस्थ राख्‍न हरेक अस्पतालमा हप्ताको एक पटक साइकोलोजिकल काउन्सिलिङको व्यवस्था हुनुपर्ने उनी बताउँछन् । ‘अस्पतालले काउन्सिलिङको व्यवस्था गर्‍यो भने स्वास्थ्यकर्मीले यस्तो अवस्थाको सामना कसरी गर्ने भनेर सिक्छन्,’ उनी भन्छन्, ‘यति गर्न सकनौँ भने एक दिन बिरामीलाई उपचार गर्ने स्वास्थ्यकर्मी आफैँ बिरामी पर्छन् ।’

मनोचिकित्सक डा. रितेश थापा स्वास्थ्यकर्मीलाई युद्धमा खटिएका सिपाहीसँग तुलना गर्छन् । ‘सिपाहीहरू युद्धमा जाँदा सँगैको साथीको मृत्यु हुँदा जुन खालको चिन्ता हुन्छ, डाक्टर र नर्सहरूलाई पनि आफूले बिरामी बचाउन नसक्दा त्यस्तै पीडा हुन्छ,’ उनी भन्छन्, ‘आजसम्म आफूले केयर गरिरहेको बिरामीको भोलि आफ्नै अगाडि मृत्यु हुँदा स्वास्थ्यकर्मी दुःखी हुन्छन् ।’ यस्तो अवस्थामा कतिपयले स्वास्थ्यकर्मीले त आफ्नो क्षमतामाथि नै प्रश्न गर्ने गरेको उनी बताउँछन् । ‘म डाक्टर वा नर्स बन्‍न योग्य छैन कि भन्‍ने खालका विचार पनि धेरैमा आइरहेको हुन्छ,’ उनी भन्छन्, ‘कोभिडले सर्वसाधारणलाई भन्दा स्वास्थ्यकर्मीलाई मानसिक रूपमा असर गरेको छ ।’ 

पहिलो चरणको कोभिडले पनि धेरै स्वास्थ्यकर्मीलाई मानसिक समस्या निम्त्याएको उनी बताउँछन् । ‘यसबारे केही अध्ययन पनि भएका छन्,’ उनी भन्छन्, ‘नेपालमा मात्रै पनि ४० प्रतिशत स्वास्थ्यकर्मीमा ‘एन्जाइटी’ र ‘डिप्रेसन’सम्बन्धी समस्या भएको देखियो ।’ धेरैमा ‘पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअडर्ड’समेत भएको उनी बताउँछन् । ‘केही स्वास्थ्यकर्मीमा पछिसम्म पनि तर्सिने, झस्किने भइरह्यो,’ उनी भन्छन्, ‘रुघाखोकीको बिरामी आउँदा पनि कोभिडको बिरामी हो कि भनेर आत्तिने गरेको पनि पाइएको थियो ।’ 

स्वास्थ्यकर्मीलाई मानसिक रूपमा स्वस्थ राख्‍न राज्यदेखि अस्पताल प्रशासनसम्मको भूमिका हुने उनी बताउँछन् । यसका लागि उनीहरूको सेवा, सुविधा र सुरक्षामा ध्यान दिनुपर्ने हुन्छ । सिनियर र जुनियर स्वास्थ्यकर्मीलाई मिलाएर ड्युटी खटाउनुपर्ने हुन्छ । एउटै स्टाफलाई मात्र नपेलाउने र ड्युटी सिफ्ट मिलाएर राखिदिनुपर्ने उनी बताउँछन् । 

‘अस्पतालले महँगो चार्ज गरिरहेको छ तर, स्टाफलाई पैसा दिएको छैन,’ उनी भन्छन्, ‘यसले पनि स्वास्थ्यकर्मीको स्ट्रेस लेभल बढेको छ । ज्यानको बाजी राखेर मरीमरी काम गर्नेलाई हौसला दिनुपर्ने बेला यही हो ।’ यो महामारीको बेलामा हरेक अस्पतालले एउटा मेन्टल हेल्थ डेस्क खडा गर्नुपर्ने उनी बताउँछन् । ‘स्टाफहरू त्यहाँ गएर आफूलाई गाह्रो भएको कुरा राख्‍न सकून् न,’ उनी भन्छन् । त्यस्तै, हरेक अस्पतालमा उनीहरूका लागि क्वारेन्टिनको व्यवस्था हुनुपर्छ भन्‍नेमा पनि उनको जोड छ । ‘दिनकै कामबाट घर फर्किनुपर्दा कोभिड बोकेर पो घर गइने हो कि भन्‍ने चिन्ता पनि उनीहरूलाई हुन्छ,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा आफ्नै घरमा कोभिडका बिरामी छाडेर बाहिर उपचार गर्नुपर्ने बाध्यता आएका स्वास्थ्यकर्मीलाई पनि मानसिक तनाव हुने गर्छ ।’  

स्वास्थ्यकर्मीलाई उनको सल्लाह छ, ‘यो महामारीमा मानसिक शान्तिका लागि भ्याएको बेला योगा, मेडिटेसन गर्नुस् । कसैको जीवन बचाउन नसक्दा ‘इट्स अ पार्ट अफ जब’ भनेर आफूमाथि हौसला राख्‍नुस् ।’

मनोविश्लेषक वासु आचार्यका अनुसार यस्तो बेला स्वास्थ्यकर्मीलाई मुख्यतया पाँच किसिमका पिर र चिन्ताले सताउँछ । पहिलो, कोभिडका बिरामीलाई भर्ना लिन नसकेको पिर । दोस्रो, आफैँलाई संक्रमण सर्ला भन्‍ने पिर । तेस्रो, बिरामीको छटपटी देखेर पिर । चौथो, बिरामी मृत्यु हुँदा उनीहरूलाई सम्झिएर लाग्‍ने पिर । पाचौँ, आफ्नो पेसा र भविष्यप्रतिको पिर ।

यी सबै कुरालाई मध्यनजर गरेर फ्रन्टलाइनर अर्थात् कोभिड फाइटरहरूको पनि मन (मानसिक स्वास्थ्य)को बहस हुनु जरुरी भएको उनी बताउँछन् । ‘सर्वसाधारणलाई समाचार हेर्दा नै मानसिक समस्या निम्तिसकेको हुन्छ,’ उनी भन्छन्, ‘स्वास्थ्यकर्मी त झन् बिरामीसँग दैनिक फेस गरिरहेका हुन्छन् । यस्तो बेला उनीहरूको पनि मनको बहस हुनु जरुरी छ । उनीहरूलाई माया र सम्मानको जरुरी छ ।’

फ्रन्टलाइनमा खटिरहेका स्वास्थ्यकर्मीलाई मनोविश्लेषक आचार्यका केही सुझाव छन् । ‘यो महामारीको अवस्था हो यस्तो अवस्थामा घटना-दुर्घटना बढी हुन्छन्,’ उनी भन्छन्, ‘उनीहरूले त्यस्ता घटनालाई स्वीकार्नुपर्छ । औषधिको सपोर्ट र बिरामीको शरीरको बनावटले भ्याउनेसम्म मात्र लाग्छ । यसमा स्वास्थ्यकर्मीले आफूलाई गलत र दोषी ठान्‍नुहुँदैन ।’ यस्तो बेलामा मृत्यु भएकालाई सम्झिएर आत्तिनेभन्दा निको भएर घर फर्केकालाई सम्झिएर आत्मबल र हौसला राख्‍नुपर्ने उनी बताउँछन् । ‘मन आत्तिएको बेला निको भएर घर फर्किएकालाई सम्झिनुपर्छ,’ उनी भन्छन्, ‘कुनै अप्रिय घटना भयो भने ‘मेरो प्रयास नपुगेर पो हो कि’, ‘मैले राम्रो केयर गर्न सकिनँ कि’ जस्ता विचारलाई ठाउँ दिनु हुँदैन । किनकि, सबै कुरा स्वास्थ्यकर्मीको हातमा मात्रै हुँदैन ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x