कसले गर्याे रोजगार व्यवसायी राईको हत्या मलेसियामा ? (अडियो/भिडियोसहित)
विदेशीसँग मिलेर नेपालीले नै हत्या गरेको आशंका
वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको मृत्यु नेपाल सरकारका लागि सामान्य घटना नै भइसकेको छ । रेमिट्यान्सबाट देश चलाएको सरकारले आफ्नो नागरिकलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने ध्यान दिन भने सकेको देखिन्न । युवाहरू देशका लागि अति आवश्यक शक्ति हुन् । उनीहरू देश र परिवारका लागि भनेर विदेशिएका हुन्छन् तर तिनै युवाको लास गन्न पनि सरकारलाई फुर्सद छैन । दिनगन्ती विदेशी भूमिमा पठाउने र दिनगन्ती गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकको लास झिक्ने अनि ढोकाको अगाडि राखिएको गाडीमा हालेर आफन्तको आँसु सँगै लगेर दाहसंस्कार गर्न लगाउनेबाहेक सरकारले केही गर्न सकेको देखिन्न ।
मृतकको लास धन्न नेपालसम्म ल्याइदिन चाहि नेपाल सरकार ढिला चाँडो सक्रिय हुन्छ । काम यति मात्र हो सरकारको, तर तिनीहरूको मृत्यु कसरी, किन भयो भन्नेबारेमा थप अनुसन्धान गर्न चाहँदैन । किन ?
ती मृतक नेपालबाट रेमिट्यान्स लिनमात्र उडेका त पक्कै थिएनन् । उसले त परिवारको सपना पनि बुनेर गएका थियो र मृत्युको कारण नै थाहा नपाई बाकसभित्र फर्केर आउँदा सरकारलाई थोरै त ग्लानी हुनुपर्ने हो, तर त्यो पनि छैन किन ?
सयौं घटनामध्ये तीन महिनाअघि मलेसिया पठाएको कामदारलाई समस्या पर्यो भन्ने खबर आएपछि विगत २० वर्षदेखि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेर बसेका सोलुखुम्बु, नेचा, सल्यान गाउँपालिकाका रिन्जी राई गत अप्रिल ४ तारिख मलेसियाका लागि उडे । ५ अप्रिल बिहान मलेसिया पुगेका उनी स्थानीय एजेन्टसँग छलफल गरी अप्रिल ६ तारिख आफ्नो कम्पनीबाट गएका ६५ जना नेपाली युवाहरूलाई एक महिनाको तलब उपलब्ध गराउन सफल पनि भए । त्यही रात सायद उनको अन्तिम रहेछ भन्ने कसलाई थाहा ?
होटल बुक गरेर गएका वैदेशिक रोजगार व्यवसायी नेपाली युवाहरूसँगै बस्ने रहर गरे र कामदार राखिएको ७औं तल्लामा जेपी ओभरसिजका सञ्चालक भान्जा भनिने लोकेश चन्दसँग बस्ने चाँजोपाँजो मिलाए ।
कामको तनावले थकित राई नेपाली युवाहरूलाई एक महिनाको तलब उपलब्ध गराएर केही ऊर्जाशील त बनेका थिए । नेपालमा रहेकी श्रीमतीलाई फोन मार्फत नेपाली युवा कामदारहरूलाई पैसा उपलब्ध गराएको र आफू चाँडै आउने भन्दै सुत्न आग्रह गरे । फोन काटियो । भिडियो कलमार्फत कुरा हुँदा भान्जा भनिने लोकेश चन्द निकै तनावमा देखिएका थिए भन्छिन् रिन्जी राईकी श्रीमती इन्द्र सुवा राई ।
७ तारिख बिहान नेपाली राजदूतावास मलेसिया पुगेर नेपाली युवा कामदारहरूको समस्या समाधान गर्ने भन्दै छुटेका श्रीमानको बोली त्यो नै अन्तिम होला भनेर यता नेपालबाट परिवारले सोच्न पनि भ्याएका थिएनन् । मध्यरातको १२ बजे र १५/२० मिनेटपछि फेसबुक मेसेन्जरमा लगातारको फोनले नेपालमा सुतिसकेका परिवारलाई बिउँझाउन सकेन ।
बिहान सखारै श्रीमती राईले मेसेन्जर खोली हेर्दा श्रीमानको मिसकल देखिन् र मेसेन्जरमा कल ब्याक गरिन् । फोन उठेन । यतिन्जेलसम्म परिवारबाहेक बाहिर हल्ला भइसकेको थियो ।
‘नेपालबाट समस्या समाधानका लागि आएका एक नेपाली म्यानपावर व्यवसायी रिन्जी राईले झुण्डिएर आत्महत्या गर्यो’ भनेर । समयको रफ्तारसँगै त्यो दुःखद खबर परिवारमा पनि पुग्यो । ‘भोलि सबै समस्या समाधान गरेर नेपाल फर्कन्छु’ भन्ने श्रीमानकाे शंकास्पद मृत्युको खबरले यता परिवार आफन्त स्तब्ध भए ।
सामाजिक सञ्जालको विकाससँगै जहाँको जताको घटना भए पनि पछिल्लो समय धेरै समय कुर्नुपर्ने दिन अहिले हटिसकेको छ । त्यसैले रिन्जी राईको घटना पनि तुरुन्तै सामाजिक सञ्जाल हुँदै बाहिरियो । लासको प्रकृति र घटनास्थललाई हेर्ने हो भने जो कसैले पनि भन्न सक्छ— यो आत्महत्या होइन, हत्या हो ।
उभिएको अवस्थामा रहेको देखिने मृतक राईको खुट्टाबाट नियाल्दै अगाडि बढ्ने हो भने दुवै खुट्टा टेकिएको अवस्थामा थियो । शरीर पूर्ण रूपमा उभाइएको, लगाएको चस्मा र कमिजमा एउटा पेनजस्तो देखिने वस्तु थियो । पासो लगाइएको डोरी नभएर गम्छा रहेको देखिन्छ । त्यो पनि मिलाएर बाँधिएको अवस्थामा देखिन्छ । सोही गम्छालाई घाँटीमा बाँधेर नुहाउँदा रुमाल राख्न प्रयोग गरिएको हुकमा लगेर बाँधिएको छ । मृतक राईको टाउको झुकेको छ भने जिब्रो टोकिएको भन्दा पनि बाहिर निस्किएको देखिन्छ । उभिएजस्तो देखिने तस्बिरमा ट्वाइलेट कम्बाेडको बिर्काेसम्म लागेको छैन । पानी फ्लस गर्ने ठाउँमा एउटा पानीको बोतलसमेत रहेको छ, जुन यथास्थानमा देखिन्छ ।
भिडियो खिच्नेकोहरूबाट देखिएको दृश्य (पाइरेसीका कारण यसकाे भिडियाे अपलाेड गर्न सकिएन)
नेपाली भाषा बोल्नेभन्दा अन्य भाषा बोल्नेलगायत केही नेपाली युवा समेतले घटनास्थलको भिडियो खिचेको देखिन्छ । भाषा अस्पष्ट भए पनि त्यहाँ भिडियो खिच्दै गरेको नेपालीहरूको आवाज भने लाग्दैन । दुईजना युवाले चाहि चाबी खोले झैं गरी ढोका खोल्छन् ।
ढोका खुलेपछि एक नेपालीले ‘ए बरी’ भनेको सुनिन्छ । भिडियोका लागि मोबाइलहरू २/३ वटा देखिन्छ । पछाडिबाट ‘ए बरी’ भन्दै नेपालीको आवाज प्रष्ट सुनिन्छ । अनि पुनः ढोका तान्छ र बन्द गरिदिन्छ । एक नेपालीले त्यसैबीच ‘ल सबैजना तल जाउँ’ भन्छ ।
नेपालबाट गत जनवरीमा मलेसिया कामका लागि भनेर लगेकालाई काम नदिएपछि नेपाली युवाहरू समस्यामा परेका थिए । (यसमा मलेसियास्थित नेपाली दूतावासको पनि कमी कमजोरी सतहमा आइसकेको छ । हामी तपाईँहरूलाई विस्तृत रूपमा पस्कँदै जानेछौं) । तिनै युवाहरूलाई राखिएको होस्टेलमा बसेका राई जुन शौचालयमा मृत भेटिएका थिए, सोही शौचालयको बाहिर सुतेका थिए । सुतेको यो बेड हेर्नुहोस् । जहाँ बेडमा ओछ्याइएको तन्ना असरल्ल अवस्थामा छ । यो दृश्यले पनि बताउँछ कि मृत्यु हुन अगाडि राईले निकै संघर्ष गरेका थिए ।
अप्रिल ७ तारिखमा मृत भेटिएका राईको मृत शरीरलाई परिवारको आग्रहमा अप्रिल १८ तारिख नेपाल ल्याई पुर्याइयो । सोही दिन परिवारले अन्तिम सदगदका लागि सोलुखुम्बुको नेचा लगे । राई संस्कृतिअनुसार सदगद गरे । एकपटक लासको अवस्था कस्तो थियो भनेर फोटो लिन आग्रह मैले गरेको थिएँ । हामीलाई प्राप्त फोटो नियाल्दा लासको दुवै नलिखुट्टोमा कसैले बेस्सरी थिचेर माडेको झैं देखिने निल थियो । त्यस्तै दुवै हातको नाडीमा समेत सोही प्रकृतिको नीलडाम, मुख वरिपरि निलडामका साथै ओठमा नङले गाडिएको जस्तो सानो घाउ रहेको देखियो । समग्रमा भन्नु पर्दा उनलाई दुवै खुट्टा र हातमा केही व्यक्तिहरूले जबर्जस्ती समाएर मुख बन्द गरी हत्या गरेको भन्ने लासको तस्बिरले स्पष्ट देखाउँछ । निधारमा समेत सानो टुटुल्का रहेको देखिन्छ ।
रिन्जी राईसँग अप्रिल ६ तारिखमा को-को थिए ?
नेपालबाट अप्रिल ४ तारिखमा मलेसियाका लागि उडेका राईलाई ७ तारिख हाेस्टेलमा बस्ने नेपालीलगायत विदेशी कामदारहरूले मृत अवस्थामा देखे । त्यसभन्दा अघि ६ तारिख नेपालबाट गएका नेपाली युवाहरूले काम र पैसा नपाएको अवस्थामा स्थानीय एजेन्सीसँगको समन्वयमा एक महिनाको तलब उपलब्ध गराई मलेसियाको निलाइस्थित विदेशी कामदार राख्ने एक हाेस्टेलमा बसेका थिए । त्यहींबाट नेपाली समयअनुसार बेलुकीको साढे आठ बजे नेपालमा रहेकाे परिवारसँग मेसेन्जर मार्फत जोडिएका थिए । राईले परिवारलाई दिएको जानकारी अनुसार उनीसँग अर्का म्यानपावर व्यवसायी भान्जा भनिने लोकेश चन्द पनि थिए । सँगै बस्ने भनी बसेका भान्जा भनिने लोकेश चन्द मध्यरातमा रिन्जी राईलाई छाडेर हिँडेको उनी स्वयंले बताएका छन् ।
अडियो ...
सँगै बस्ने भनी बसेका लोकेश चन्द किन मध्यरातमा त्यो हाेस्टेलबाट बाहिरिए भन्ने प्रश्नमा उनले मेरो भिसा सक्किन लागेकाले सिंगापुर जान निस्केको भने पनि रिन्जी राईको मृत्युपछि उनी सिंगापुर नगई अप्रिल १२ तारिख नेपाल फर्केका थिए ।
शंका नं १: वैदेशिक रोजगार व्यवसायी लोकेश चन्द जेपी ओभरसिजका सञ्चालक हुन् । उनले पठाएका नेपाली कामदारहरूलाई मलेसियाको एजेन्टले काम नदिएपछि आएको समस्या समाधान गर्न उनी पनि मलेसिया गएका थिए । मृतक रिन्जी राईसँगै रहेर अप्रिल ६ तारिख नेपाली कामदारहरूलाई एक महिनाको तलब बाँडेर सँगै बस्ने भनी गएका लोकेश चन्द मध्यरातमा हाेस्टेलबाट बाहिरिनु, त्यसको भोलिपल्ट बिहान राईको शंकास्पद मृत शरीर भेटिनु संयोग मात्र हुन सक्दैन ।
शंका नं २: मध्यरातमा सिंगापुर जाने भन्दै हिँडेका लोकेश चन्द सिंगापुर नगई अप्रिल १२ तारिख नेपाल फर्कनु । सोही समस्या समाधानका लागि भन्दै फेरि नेपालबाट मामा भनिने जेपी ओभरसिजका प्रचण्ड बम मलेसिया उड्नु ।
मामा भनिने प्रचण्ड बम
प्रचण्ड बम विगत लामो समयदेखि काठमाडौँको गैशालाको पिंगलास्थानस्थित जेपी ओभरसिज चलाएर बसेका म्यान पावर व्यवसायी हुन् । यिनले रिन्जी राई मलेसिया उड्नुभन्दा दुई/तीन दिनअघि पिंगलास्थानकै एक चिया पसलमा राई र उनकी श्रीमतीले भेटेका थिए ।
राई र उनकी श्रीमतीले मलेसिया गएका नेपाली कामदारहरूको समस्याबारेमा सामान्य छलफल गरी छुटेका थिए । राईको मृत्यु भएको दिन अर्थात् अप्रिल ७ मा मामा भनिने उनै प्रचण्ड बमले नेपाली म्यानपावर व्यवसायीहरूको फेसबुक मेसेन्जर ग्रुप च्याटमा ठोकुवा गर्दै राईले झुण्डिएर आत्महत्या गरे भनेर अफवाह फैलाउने भ्वाइस मेसेज गरे ।
यो सुन्नुहोस् ... प्रचण्ड बम
मृतक राईको शव परीक्षण (पोस्टमार्टम) प्रतिवेदन घटना भएको दुई महिना बढी भइसक्दा पनि परिवारले पाउन सकेकाे छैन । मलेसिया प्रहरीका अनुसार परिवारले पोस्टमार्टम रिपोर्ट प्राप्त गर्न ३ महिना लाग्ने जानकारी दिएका थिए । प्रहरीले पोस्टमार्टम रिपोर्ट नदिई हतारमा यसरी अफवाह फैलाउनुको पछाडि प्रचण्ड बमको नियत के हुन सक्छ भनी शंकाको घेरामा राखेको छ । यिनै प्रचण्ड बमले बोलेको अर्काे झूट पिंगलास्थानको एक सामान्य चिया पसलमा बसेर कुरा गरेका रिन्जी राई, उनकी श्रीमती र यिनै प्रचण्ड बमले भ्वाइस मेसेज मार्फत नै भनेका छन् ।
राईसहित उनकी श्रीमतीको भेटमा राईले पटक–पटक पशुपति भिजन (मल, होटल) बाट हामफाल्न खोजेको र आफूले बचाएको दाबी गरेका थिए । तर, त्यस दिन सँगै रहेकी राईकी श्रीमती इन्द्र सुवा राईले दिएको जानकारी अनुसार उक्त भेट पशुपति भिजनमा भएको थिएन । ‘त्यहीं नजिक करिब एक सय ५० मिटर दक्षिणमा रहेको रोडसँगै जोडिएको एक सामान्य चिया पसलमा बसेर कुरा गरेका थियौं,’ राईकी श्रीमतीले भनिन् ।
उनका अनुसार त्यस दिन कामदारको समस्याको बारेमा सामान्य कुरा भएको तर श्रीमानले त्यसरी पटकपटक हामफाल्छु भनेर भनेका थिएनन् । ‘तर, प्रचण्ड बमले किन त्यस्तो गलत बोले ?’ उनले भनिन् ।
प्रचण्ड बम केही दिनअघि नेपाल फर्केपछि उनलाई आफूले अर्का म्यानपावर व्यवसायी शंकरप्रसाद आचार्यमार्फत भेट्ने प्रयास गर्दा विभिन्न बहाना बनाई तर्किरहेका राईकी श्रीमतीले बताइन् । इकागजले पनि बमलाई भेट्ने प्रयास गर्दा सफल हुन सकेन ।
शंका नं १: मलेसिया प्रहरीको प्रारम्भिक प्रतिवेदन नआउँदै रिन्जी राईले झुण्डिएर आत्महत्या गरे भनी ठोकुवासहित सामाजिक सञ्जाल फेसबुक मेसेन्जर मार्फत अफवाह फैलाउनु ।
शंका नं २: जमिनमा बसेर चिया खाएको तर पशुपति भिजनबाट पटक–पटक हामफाल्छु भन्दा आफूले रोकेको दाबी ।
शंका नं ३: मलेसियामा रहेका भान्जा भनिने लोकेश चन्द, जो प्रचण्ड बमका भान्जा हुन्, ले भिसा लगाउन सिंगापुर जान्छु भनी अप्रिल ७ तारिख मध्यरात साढे १२ बजे निस्केका उनी सिंगापुर नगई राईको शंकास्पद मृत्युपछि अप्रिल १२ मा नेपाल आउनु र लगत्तै मामा भनिने प्रचण्ड बम मलेसिया जानु । मलेसिया पुगेर पनि यिनै प्रचण्ड बमले मृतक रिन्जी राईविरुद्ध पटक–पटक अफवाह फैलाउन छाडेनन् । मलेसियामा सँगै रहेका अर्का म्यानपावर व्यवसायी ङिमा तामाङका अनुसार उनले रिन्जी राईको बारेमा गोजीमा पोइजन भेटिएको र पटक–पटक सुई लगाउने गरेको दाबी गर्दै आएका थिए ।
शंका नं ४: विदेश उड्ने जो कोहीले पोइजन बोकेर यात्रा गर्न नसक्ने सबैमा जानकार हुँदाहुँदै पटक–पटक यिनले मृतक राईको बारेमा अफवाह फैलाउनुको कारण के हो ?
मृतक राईको परिवारका अनुसार उनी विगत १९ वर्षदेखि डायबिटिज (मधुमेह) को बिरामी भएकाले इन्सुलिनको इन्जेक्सन लिँदै आएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया