विशेष रिपोर्ट

जन्मदर स्वाट्टै घट्दै, संरक्षण गर्नुपर्ने बढेको बढ्यै

कमाउने एक, कमाइ खाने अनेक हुँदा कसरी चल्छ घर ?

अनिष भट्टराई |
पुस २४, २०७८ शनिबार १२:४ बजे

ग्राफिक्‍स : यमन मानन्धर

कुनै समय ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्दै आफूभन्दा ठूलाले आशीर्वाद दिन्थे । परिवार नियोजनका कार्यक्रम नेपालमा भित्रिएपछि भने ‘दुई सन्तान ईश्वरका वरदान’ भन्‍न थालियो । यसलाई नै धेरै नेपालीले आत्मसात् पनि गरे । नेपालीले अहिले परिवार नियोजनका साधनको प्रयोग पनि बढाएका छन् । वि.सं. २०३८ पछि नेपालमा त्यस्ता साधनको प्रयोग ह्वात्तै बढेको पाइन्छ ।

वि.सं. २०३३ मा यस्ता साधनको प्रयोगको दर जम्मा ३ प्रतिशत थियो जुन वि.सं. २०३८ मा पाँच वर्षमै यो ७.६ प्रतिशत पुगेको थियो । वि.सं. २०६८ को जनगणना अनुसार यस्ता साधनको प्रयोगको दर ४९.७ प्रतिशत पुगेको थियो । सन् २०१६ मा भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा परिवार नियोजनका साधनको प्रयोग ५३ प्रतिशत पुगेको छ ।


वर्ष परिवार नियोजनका साधन प्रयोगको दर (प्रतिशतमा)
२०३३
२०३८ ७.६
२०४८ २१.७
२०५८ ३९.३
२०६८  ४९.७

जसअनुरूप नेपालको जनसंख्या वृद्धिदर लगातार घट्दो क्रममा छ । वि.सं. २०५८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ३१ लाख थियो भने २०६८ मा आइपुग्दा १.३५ प्रतिशतले मात्र बढेको थियो । 

तर जनसंख्या वृद्धिदर रोक्ने उपक्रममा नेपाल यस्तो अवस्थामा धकेलिँदै छ, जुन सायदै नेपालीले कल्पना गरेका छन् । नेपाल अबको एक दशकमै समुच्च (एजिङ) जनसंख्या बढी भएको देश बन्दैछ । अर्थात् नेपाल अब ‘बुढ्यौलीको देश’ बन्दै छ । अबको ३३ वर्षपछि वि.सं. २१११ सम्म नेपाल एउटा प्रौढ देश बन्‍नेछ । 

‘नेपाल अबको ८/१० वर्षमा बुढ्यौलो समाज बन्दैछ । ३ दशकपछि त नेपालमा ज्येष्ठ नागरिकको संख्या धेरै हुनेछ,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले इकागजसँग भने, ‘अर्थतन्त्रलाई १० वर्षभित्रै बलियो बनाउन सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदिनुपर्छ । नीति पनि त्यही स्तरको बन्‍नु जरुरी छ ।’

देशमा प्रौढको संख्या बढी हुँदा के-कस्ता असर पर्छन् त ? यो बुझ्न हामीले जापानलाई उदाहरणका रूपमा लिन सक्छौं । जापान अहिले सबैभन्दा बढी समुच्च जनसंख्या भएको मुलुक हो । यसले गर्दा अहिले जापानमा श्रमिक वर्गको कमी छ । त्यहाँ आर्थिक रूपले सक्रिय जनसंख्या (१५-६४ उमेरसमूह) निरन्तर घट्दो छ । सन् १९९५ मा करिब ८ करोड ८० लाख सक्रिय जनसंख्या रहेकामा त्यहाँ सन् २०१८ मा यो संख्या ७ करोड ४५ लाख मात्र छ । 

जापानको जनसंख्या लगातार घट्दो छ । सन् १९९५ मा जापानको जनसंख्या १२ करोड ५५ लाखभन्दा बढी थियो भने अहिले सन् २०२० को जनगणनाअनुसार त्यहाँको जनसंख्या १२ करोड ६२ लाख छ । जनसंख्या थोरै बढेको देखिए पनि समग्रमा वृद्धिदर शून्यभन्दा तल छ, अर्थात् जनसंख्या वृद्धिदर नकारात्मक छ । 

६४ वर्षको उमेरसम्म काम गर्न सक्ने भनिएको यस उमेर समूहपछिको अर्थात् ६५ वर्षमाथिका ३० लाख जापानी श्रमिक बजारमा थपिएका छन् । देशको २८.४ प्रतिशत जनसंख्या ओगटेको यो प्रौढ समूहले श्रम बजारको १३ प्रतिशत हिस्सा ओगटेको छ । सक्रिय उमेरको मानव संसाधन कम भइरहँदा जापानजस्ता मुलुकले बाहिरी जनशक्तिलाई सक्दो भित्र्याइरहेका छन् ।

नेपाल प्रौढ समाज बन्दै छ । विद्यालयमै जनसंख्या नियन्त्रणको साटो व्यवस्थापन भनेर पढाइनुपर्छ- मिनराज अधिकारी, जनसंख्याशास्त्री

तर नेपालले जापानझैं जनशक्ति भित्र्याउने आधार छैन, भएका काम गर्ने उमेर समूहका नै विदेशमा छन् र विदेशिने क्रम घटाउने गरी तत्काल कुनै नीति-कार्यक्रम ल्याउने छाँटकाँट छैन । काम गर्ने उमेर समूहका भन्दा प्रौढ र बालबालिका बढी भएपछि नेपालको आर्थिक विकासको गति धिमा बन्‍ने निश्चितप्रायः छ । 

नेपालमा अहिले पनि जनसंख्या वृद्धिदरलाई ठूलो समस्याका रूपमा दर्शाइन्छ, विद्यालयमा त्यस्तै आधारमा पढाइन्छ । जनसंख्या वृद्धिदरबाट नेपाल प्रभावित भएका खास समस्या छैनन् । यो बुझ्‍न नेपाल र बंगलादेशको भौगोलिक र जनसांख्यिकीय तुलना गरौं । नेपाल र बंगलादेशको क्षेत्रफल झिनो मात्रामा घटी-बढी छ  ।

त्यहाँको क्षेत्रफल १ लाख ४८ हजार ४६० वर्ग किलोमिटर हो भने सन् २०११ को आँकडाअनुसार त्यहाँ १४ करोड ९७ लाख मानिस छन् । यो भनेको नेपालको जनसंख्याभन्दा ७ गुणा बढी हो, जब कि नेपाल र बंगलादेशको क्षेत्रफल भने झन्‍नै बराबर छ । 

नेपालको जनसंख्या वृद्धिदर केही दशकयता ओरालो यात्रामा छ । वि.सं. २०४८ को जनगणनामा नेपालको जनसंख्या वृद्धिदर २.०८ प्रतिशत थियो, जुन वि.सं. २०६८ मा १.३५ प्रतिशतमा खुम्चिएको थियो । संयुक्त राष्ट्र संघीय जनसंख्या कोषले तयार पारेको एक प्रतिवेदन अनुसार नेपालको जनसंख्या वृद्धिदर वि.सं. २०८८ मा १.१ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । 

वर्ष जनसंख्या वृद्धिदर (प्रतिशतमा)
२००९/०११ २.२८ 
२०२८ २.०५
२०४८ २.०८ 
२०६८ १.३५
२०८८ १.१ (प्रक्षेपित)

नेपालमा जन्मदर र मृत्युदर पनि घट्दो दरमा छ । वि.सं. २०६८ को जनगणनामा नेपालमा खुद जन्मदर २४ थियो, जुन वि.सं. २०८८ मा १५ मा झर्ने प्रक्षेपण जनसंख्या कोषको प्रतिवेदनमा उल्लेख छ । मृत्युदर भने वि.सं. २०८८ सम्म नै ७ रहने प्रक्षेपण छ । नेपालमा जन्मदर, मृत्युदर घट्नाले नेपाल छिट्ट्रै नै प्रौढहरूको राष्ट्र बन्‍ने तरखरमा छ । 

जन्मदर घट्नुका विविध कारण छन् । तीमध्येको एक हो, विवाह गर्ने उमेर । नेपालमा पुरुष-महिलाले विवाह गर्ने औसत उमेर बढ्दो छ । वि.सं. २०१८ को जनगणनामा विवाह गर्दाको औसत उमेर महिलामा १५ थियो भने पुरुषमा १९ थियो । वि.सं. २०६८  सम्म आइपुग्दा विवाह गर्दाको औसत उमेर पुरुषमा २४ र महिलामा २० बढी छ । (जनसंख्या कोषको प्रतिवेदन, २०१७) 

नेपाली महिलाको प्रजनन दर पनि घट्दो छ । वि.सं. २०५८  को जनगणना अनुसार नेपालमा प्रजनन दर ४.१ रहेकामा २०६८ को जनगणना अनुसार २.६ प्रतिशतमा झरेको थियो । सन् २०१६ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा प्रजनन दर घटेर २.३ प्रतिशतमा आएको थियो ।

अबको एक दशकमै नेपालमा ६० वर्षमाथिका मानिसको संख्या ३५ लाख पुग्ने अनुमान छ । वि.सं. २०५८ देखि २०६८ सम्म नेपालमा ६० वर्षमाथिका मानिसको जनसंख्या वृद्धिदर ३.५९ प्रतिशत थियो, जुन अझै बढ्ने अनुमान राष्ट्र संघीय जनसंख्या कोषको प्रतिवेदनमा छ । 

यसले गर्दा नेपाल बुढ्यौली राष्ट्र बन्दै जाँदा काम गर्ने श्रमिक र आर्थिक आर्जन गर्ने समूहको खडेरी लाग्ने छ । वि.सं २०४८ मा नेपाली पुरुषको कुल जनसंख्यामध्ये ५२.९ प्रतिशत काम गर्ने समूहका थिए भने ५५.३ प्रतिशत महिला काम गर्न सक्ने थिए । वि.सं. २०६८ मा यो तथ्यांक ५७.९ र ६१.६ प्रतिशत थियो । 

नेपालमा न्यून जन्मदर र न्यून मृत्युदरले के देखाउँछ भने नेपाल अहिले जनसांख्यिक संक्रमणको तेस्रो चरणमा छ । अर्थशास्त्री वाग्लेले भनेझैं वल्र्ड इकोनोमिक फोरमले पनि नेपालले जनसांख्यिक लाभ लिन अबका केही वर्ष तीव्र गतिले काम गर्नुपर्ने सुझाएको छ । ‘जनसांख्यिक लाभ लिन नेपालले नयाँ पुस्ताको शिक्षा, सशक्तीकरण र रोजगारीमा ध्यान दिनुपर्छ,’ फोरमले सन् २०१५ मै भनेको थियो ।  

यही क्रम जारी रहे वि.सं. २१११ मा यस्तो अवस्था आउने छ, जब नेपालमा काम गर्ने उमेर समूहभन्दा आश्रित समूह बढी हुनेछ । त्यति बेला नेपालमा आयभन्दा व्यय बढी हुनेछ । सामाजिक सुरक्षा भत्ता, पेन्सन लिनेको संख्या बढ्दा आयआर्जन गर्ने समूह भने निकै कम हुने जनसंख्या कोषको प्रतिवेदनले पनि देखाउँछ । 

विवाहितहरू रणनीतिक भएका छन् । कमाइले नभ्याउने भएपछि बच्चा किन पाउने भन्‍ने छ- लोकरञ्जन पराजुली, समाजशास्त्री

नेपालमा सामाजिक सुरक्षा भत्तामा वर्षेनि बजेट वृद्धि भएको देखिन्छ । यस वर्षको बजेटमा सामाजिक सुरुक्षा भत्तातर्फ १ खर्ब २७ अर्ब रुपैयाँ छुट्याइएको छ । पेन्सनका लागि ८९ अर्ब छुट्याइएको थियो । २०७३/७४ मा सामाजिक सुरक्षा भत्ताका लागि ३६ अर्ब ६९ करोड विनियोजन गरिएको थियो भने आर्थिक वर्ष २०७७/७८ मा ९१ अर्ब ८१ करोड छुट्याइएको थियो । 

त्रिभुवन विश्वविद्यालयमा जनसंख्या अध्ययनका उप-प्राध्यापक मिनराज अधिकारी भन्छन्, ‘नेपाल प्रौढ समाज बन्दै छ भन्‍ने सत्य हो । सोअनुसार विद्यालयमै अब जनसंख्या नियन्त्रणको साटो व्यवस्थापन भनेर पढाइनुपर्छ, उच्च शिक्षामा त व्यवस्थापन नै भन्‍ने गरेका छौं ।’

विवाहितहरू रणनीतिक भएका छन्
लोकरञ्जन पराजुली, समाजशास्त्री 

नेपाल प्रौढ समाज बन्दै जाँदा ठूला चुनौती आउन सक्छन् । राज्यले कर लिन्छ, तर हामीलाई ‘पे ब्याक’ दिँदैन । सीमित कर्मचारी, मन्त्रीलाई राज्यले हेरेको छ । तर नागरिकले कर तिरेर पनि शिक्षा, स्वास्थ्यमा आफैँ लगानी गर्नुपरेको छ । बुढ्यौलीमा पुगेका नागरिकलाई साथ दिने मेकानिजम अहिले नै कमजोर छ । यसले गर्दा राज्य र परिवार दुवैलाई ‘स्ट्रेस’ परेको छ । परिवारले त हेर्नुपर्यो नै । केही हदसम्म राज्यलाई पनि यसले भार परेको छ । 

एकातिर वृद्धहरूको जनसंख्या बढ्दो छ, अर्कोतर्फ युवाहरूको पलायन रोकिएको छैन- सरु जोशी, लैंगिक अध्येता

देशमा प्रौढको बाहुल्य हुँदा राज्यलाई ठूलो आर्थिक भार पर्छ । अहिले नै जनसंख्या वृद्धिका लागि केही हदसम्म भए पनि राज्यले प्रोत्साहन दिनुपर्छ । प्रजनन दर घटेको थियो, अब नयाँ जनगणनाले यसको साँचो अवस्था देखाउला । नयाँ पुस्ता कम, प्रौढ समूह बढी हुँदा राज्यलाई अप्ठेरो हुन्छ, आर्थिक अवस्थाले सामाजिक सुरक्षा नधान्‍ने अवस्था आउन सक्छ । अहिले जनसांख्यिक लाभ लिने कुरा छ, यसका लागि जनसंख्या समस्या नभई संसाधन हो भन्‍ने बुझ्नुपर्छ । विकासका लागि पैसा, अन्य पूर्वाधारमध्ये सबैभन्दा बलियो स्रोत नै मानव संसाधन हो ।

अहिले विद्यालय शिक्षा नै अति महँगो भएको छ । दुई बच्चा पाएर पढाउन नै डर लाग्ने अवस्था बनिसक्यो, शैक्षिक शुल्कका कारण । एउटा भन्दा बढी बच्चा पाल्नै नसक्ने अवस्था छ, सबै क्षेत्रको महँगीका कारण । एक जनाले काम गरेर परिवार धान्‍ने स्थिति नै छैन, समय छुट्याउँदा श्रीमान्-श्रीमतीमध्ये एकको ‘प्रोडक्टिभिटी’ त घट्छ नै । विवाहितहरू रणनीतिक भएका छन् । तलबले नभ्याउने भएपछि बच्चा किन पाउने भन्‍ने छ । युवापुस्ता विदेशिएका छन्, यसले प्रजननमा त फरक पार्ने नै भयो । (पढ्नुहोस्) बिहे गर्ने उमेर पनि वर्षेनि बढ्दो देखिन्छ ।

अर्थतन्त्रलाई १० वर्षभित्रै बलियो बनाउन सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदिनुपर्छ- स्वर्णिम वाग्ले, अर्थशास्त्री 

यसको असर सामाजिकीकरणमा परेको छ । बच्चा धेरै हुँदा जुन खालको सामाजिकीकरण हुन्थ्यो, त्यसले सुमधुुर सम्बन्धका लागि सेतुको काम गथ्र्यो । समस्या पर्दा एकअर्कामा भरथेग हुन्थ्यो । मेरा दाजुभाइ दिदीबहिनी धेरै हुँदा मलाई गाह्रो परेको बेला भरथेग गर्न आउँछन् । भौतिक रूपमा सँगै नभए पनि आफूसँगै उनीहरू पनि छन् भन्‍ने भावनाले मनोविज्ञान बलियो बनाउँछ । तर मेरो बच्चाका दाजुभाइ दिदीबहिनी कम हुँदा उसलाई सपोर्ट मेकानिजम नै कम हुन्छ । 

सामाजिक सुरक्षामा के-कति खर्च गर्ने भन्‍ने योजना केही छ ?
सरु जोशी, आप्रवासी तथा लैंगिक समावेशिता विज्ञ 
नेपालमा अहिले सबैभन्दा बढी युवा पुस्ता नै छन् । तर उनीहरूलाई प्रयोग गर्न नसक्नु प्रमुख समस्या हो । एकातिर वृद्धहरूको जनसंख्या बढ्दो छ, अर्कोतर्फ युवाहरूको पलायन रोकिएको छैन । कस्तो अवस्था आइसक्यो भने युवाको अभावमा वृद्धहरूले आफैं आफ्नो चिहान बनाउन थालिसके ।

वृद्धहरूको व्यवस्थापनमा पनि खास योजना छैन । न्यानो कम्बल, एक बट्टा हर्लेक्स र ४ हजार रुपैयाँ दिनुबाहेक अरु केही गरिएको छ त ? अबको एक दशकबाट त वृद्धहरूको जनसंख्या झनै बढ्नेवाला छ । तर सामाजिक सुरक्षामा के-कति खर्च गर्ने भन्‍ने योजना केही छ ? केही वर्ष त नेपालले आफ्ना जनशक्ति राखेर विकासलाई तीव्रता दिनुपर्ने हो । तर भएका युवा कोही खाडी, कोही अस्ट्रेलिया, अमेरिका, क्यानडा । अहिले झनै ‘केयर गिभर’ भन्दै नेपाली नर्सहरू इजरायल पठाउन लागिएको छ । कोही विदेशबाट फर्किएपछि उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्‍ने पनि केही योजना छैन ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x