प्रदर्शनीमार्ग लाइभ :
नामी नामी स्कुल-कलेजले भरिभराउ मार्गमै धमाधम बन्द हुँदै पुस्तक पसल
काठमाडौँ : अस्पताल आसपास केको पसल हुन्छ ? अवश्य पनि औषधी । अनि फूल, माला, अक्षता र धुपबत्तीका पसल कहाँ भेटिन्छन् ? जवाफ सरल छ, मठमन्दिर वरपर । अब कल्पना गर्नुस्, अस्पतालबाहिर फूल, माला र अक्षता पसल भए के हुन्छ ?
र, काठमाडौँको प्रदर्शनी मार्गमा ठ्याक्कै यस्तै भइरहेको छ । बिस्तारै हिँड्दै पाँच मिनेटको दूरी पार गर्दा यहाँ पाइलैचिच्छे भेटिन्छन् नाम चलेका आधा दर्जन स्कुल-कलेज । यहाँको ल क्याम्पसमा वर्षेनि हजारौँ विद्यार्थीले भर्ना गर्छन् । मानविकी पढाइ हुने ठूलो क्याम्पस यहीँ छ । पत्रकारिता विषयको केन्द्रीय विभाग यहीँ छ । दुनियाँका धेरै भाषा पढाइ हुने विश्वभाषा क्याम्पसदेखि नेपाली भाषाको माउ भाषा भनिने संस्कृत पढाइ हुने वाल्मीकि विद्यापीठ पनि यहीँ छ । पद्योदय माध्यमिक विद्यालयको पहेँलो रङको बिल्डिङ पनि यही हाताभित्र ठडिएको छ ।
विडम्बना, मिनेट-मिनेटको अन्तरमा भेटिने यी पाँच स्कुल-कलेज आसपासमा मुस्किलले भेटिन्छन् राम्रा पाँच पुस्तक पसल । भएका ती पसल पनि सुनसान र चुपचाप छन् । नेपालको शैक्षिक हब हो, प्रर्दशनी मार्ग । शैक्षिक हब भन्नेबित्तिकै हाम्रो दिमागमा आउँछ, पुस्तक पसल, स्टेसनरी पसल र ती पसलमा लाग्ने विद्यार्थीको घुँइचो । तर, जब तपाईं प्रदर्शनी मार्ग प्रवेश गर्नुहुनेछ । त्यहाँ पुस्तक पसलभन्दा धेरै भेटिनेछन्, लुगा, जुत्ता, जुस, चिया र पान पसल ।
समय : आइतबार, दिउँसो १२ बजे
पुतली सडकबाट पद्मोदय हुँदै प्रदर्शनीमार्गतिर मोडिनेबित्तिकै एउटा किराना पसलले स्वागत गर्छ । त्योभन्दा अगाडिको पसल तन्दुरी भोजनालयको हो । स्कुलकै सटरमा लहरै चारओटा पसल छन् । ती किताब, कापी पसल होइनन्, सबै पसल जुत्तैजुत्ताका ।
त्यहाँबाट अलिकति अगाडि बढ्नेबित्तिकै भरिभराउ लुगा पसल छ । पानीपुरी र चटपटे बिक्री यही लाइनमा हुन्छ । नजिकै ‘कटन क्यान्डी’ बेचिरहेका छन् एक युवा । त्यसैको अर्को कुनामा फाटेको जुत्ता सिलाउने काम भइरहेको छ । केही अगाडि बढेपछि त्रिपालमा मोजा र टोपी बेच्न राखेको देखिन्छ ।
यहीँनेर विराजमान छ, गेसपेपर बेच्ने ठूलो घर निमा पुस्तक । वाल्मिकी क्याम्पसको गेटनेट जुत्ता टल्काउने र सिलाउने सुविधा छ । टल्काइएका जुत्ता कलेजको गाह्रोमा लहरै मिलाएर राखिएको छ । त्यसैको एक छेउमा बदाम किनबेच भइरहेको छ ।
प्रदर्शनीमार्गले समाजको कस्तो चित्र प्रदर्शन गरिरहेछ ?
वाल्मिकी क्याम्पसबाट केही अघि बढेपछि आउँछ, ‘बुक प्यालेस’ । जहाँ बिहानैदेखि ग्राहक कुरेर बसेका छन्, रमेश प्रधान । उनले यहाँ ग्राहक कुर्न थालेको २५ वर्ष भयो । प्रदर्शनी मार्गलाई उनले त्यो बेलादेखि अहिलेसम्म नजिकबाट नियालिरहेका छन् । केही किताब पसल विस्थापित भएर बिस्तारै लुगा र जुत्ता पसलमा परिणत भएको उनले देखेका छन् ।
‘जे चिजको बिक्री बढ्छ त्यसकै पसल खुल्ने त हो नि,’ उनले निराशा पोखे, ‘किताब पसलले भाडा तिर्नै मुस्किल परिसक्यो । यस्तो घाटा खाने पसल खोल्न को आउला र ?' कोभिडपछि पुस्तकको ९० प्रतिशत व्यापार घटेको उनले सुनाए । ‘१० प्रतिशत व्यापारको भरमा ग्राहक कुरेर बस्नु परेको छ,’ किताबका चाँङतिर आँखा लगाउँदै उनले भने, ‘ती १० प्रतिशत पनि शैक्षिक होइन, साहित्यिक किताब बिक्छन् ।’
सुनसान पुस्तक पसल, भरिभराउ जुस र जुत्ता पसल
रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) अगाडि सरकारको विरोधमा प्रदर्शन चलिरहेको छ । त्यही प्रदर्शनलाई नियालेर बसिरहेका छन् मोर्डन बुक्स डिस्टिब्यूटर्सका दिपक पोखरेल । चार वर्षअघि विदेशबाट आएर उनले यो पुस्तक पसल खोलेका हुन् । आफ्नै ठाउँमा केही गरिखाने सोचले पुस्तक पसल खोलेका उनी अहिले पुर्पुरोमा हात लगाएर बसेका छन् ।
‘यीदेखिहाल्नु भयो नि घरि यताबाट आन्दोलन निस्किन्छ, घरि उताबाट,’ निन्याउरो मुख लगाउँदै उनले भने, ‘हामीजस्तालाई गरिखान गाह्रो छ । जुलुसले गर्दा चहलपहल छ तर, व्यापार छैन ।’
‘यी देखिहाल्नु भयो नि घरि यताबाट आन्दोलन निस्किन्छ, घरि उताबाट,’ निन्याउरो मुख लगाउँदै उनले भने, ‘हामीजस्तालाई गरिखान गाह्रो छ । जुलुसले गर्दा चहलपहल छ तर, व्यापार छैन ।’ पुस्तक व्यापार नभएर पसलको भाडा तिर्नै हम्मेहम्मे परेको गुनासो उनले गरे । ‘चार महिनादेखिको भाडा तिर्न सकेको छैन,’ उनले भने, ‘यो राजनीतिक उथलपुथलले हाम्रो व्यापार चौपट भयो । विद्यार्थीजति सबै आन्दोलनमा छन् । किताब किन्न को आउने ?’
उनीकहाँ विद्यार्थी त आउँछन् । तर, किताब किन्न होइन । ‘परीक्षाको फर्म कहिलेदेखि खुल्छ’ भनेर सोध्न । ‘कहिलेकाहीँ त म किताब बेच्न होइन फर्म कहिले खुल्छ भनेर भन्न बसेको जस्तो लाग्छ,’ उनले सुनाए, ‘विद्यार्थीहरू पसलमा आउँछन् । ‘फर्म कहिले खुल्छ दाजु’ भन्छन्, जान्छन् ।’
पहिला जस्तो किताब किन्ने मानिस नहुनुको कारण उनी मोबाइल र इन्टरनेटलाई मान्छन् । ‘कोरोना र समयले मान्छेलाई किताबभन्दा मोबाइलमा बढी घोत्लिने बनाएको छ,’ उनले भने ।
०००
यता ल क्याम्पसको नजिकै एउटा कफी सप छ । जहाँ युवाको भिड थामिनसक्नु छ । चिया र चुरोटमा उनीहरू मस्त छन् । बस्ने ठाउँ नपाएर केही युवा फर्किएको दृश्य पनि देखिन्छ । तर, सँगै जोडिएका पुस्तक पसल भने सुनसान छन् । ग्राहकको नाममा चरोमुसो केही छैन ।
‘पुस्तक पसलमा ग्राहक कोही आउँदैनन्,’ उनले भने, ‘दिन काट्नै मुस्किल परिरहेको छ ।’
क्याम्पस नजिकैको उन्नति बुक्स एन्ड स्टेसनरीका रविन श्रेष्ठको पनि उही गुनासो छ, ‘९० प्रतिशत व्यापार घट्यो, १० प्रतिशत व्यापारले पसल कसरी चलाउनु ?' अगाडिको क्याफेमा चुरोटको धुवाँ उडाउँदै बसेका युवालाई इंगित गर्दै उनले भने, ‘युवाहरूको पारा यस्तो छ । यहाँ उनीहरू किताब किन्न र पढ्न होइन जमघट गर्न, चुरोट खान र होहल्ला गर्न मात्रै आउँछन् ।’
यहाँबाट केही अगाडि बढेपछि नेपाल पुलिस हेल्थ क्लब आउँछ । त्यसको केही अगाडि लाग्नेबित्तिकै फेरि पनि लहरै भेटिन्छन् फलफूल, जुत्ता, पानीपुरी र चिया पसल । त्यसैसँग सानो कुनामा जोडिएको छ, ‘ओल्ड बुक सप ।’ जहाँ ग्राहक कुरेर पसलमा बसेका छन्, सनिस मोक्तान । उनको पनि पसल सुनसान छ । बिहान नौ बजेबाट खोल्ने पसल बेलुका छ बजे बन्द हुन्छ । तर, दिन कसरी कटाउने भन्ने चिन्ताले उनलाई सधैँ सताउँछ । ‘ग्राहक कोही आउँदैनन्,’ उनले भने, ‘दिन काट्नै मुस्किल परिरहेको छ ।’
त्यसको पारिपट्टि स्पिकरमा बजिरहेको छ, ‘मोबाइलको सिसा फेर्नुस् मात्र ८० मा ।’ जहाँ ग्राहकको मोबाइलमा ‘टेम्पर ग्लास’ हालिदिँदैछन् एक युवा । उनी नजिकै एउटा टेबुलमा बेच्न राखिएको छ, मोबाइलका चार्जर र इएर फोन । केही अगाडि बढेपछि फेरि लहरै जुत्ता पसल भेटिन्छन् । ‘सेल ! सेल !! सेल !!!’ भन्दै भित्तामा जुत्ताको मोल टाँसिएको छ । सेलको जुत्ता किन्न मानिसहरू पसलतिर लम्किरहेका छन् । जुत्ता पसलबाट सुरु भएको प्रदर्शनी मार्ग यसरी जुत्ता पसलमै आएर टुङ्गिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया