विशेष रिपोर्ट

मेलम्ची सपना लगभग पूरा हुँदै

मध्य चैतमा धारामा पानी छाड्ने तयारी

विकास थापा |
माघ २५, २०७७ आइतबार २१:२५ बजे

सुन्दरीजल (काठमाडौं)  : काठमाडौं उपत्यकावासीले वर्षाैंदेखि देखेको मेलम्चीको सपना अब लगभग पूरा हुन लागेको छ । खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले आइतबार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा इकागजसँग भने, ‘आगामी चैत १८ गतेसम्मा उपत्यकावासीको धारामा पानी आउनुपर्छ भन्ने मेरो अनुमान छ ।’

उनको अनुमानलाई उनले यसरी पुष्टि गरे, ‘भौतिक संरचनागत हिसाबले अधिकांश पूरा भइसकेको छ, अब सुरुङमा पानी छिराएर परीक्षण गर्न मात्र बाँकी छ ।’
सिन्धुपाल्चोकको मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङमा पानी भर्न १६ दिन लाग्छ । पानी भरेको २६ दिनपछि वितरण प्रणाली अन्तर्गतको उपभोक्ताको घरघरमा पुगेका पाइपमा पानी छाडिने सचिव बेल्बासले बताए । 


यसरी धारामा पानी छाडिंदा परीक्षण र वितरण पनि सँगै हुनेछ । ‘करिब २६ ठाउँमा पानी आपूर्तिको परीक्षण पनि गरिसकिएको छ,’ उनको भनाइ छ, ‘उपत्यकाका एक सय ४६ सव डिष्ट्रिक मिटरिङ एरिया (पानी वितरण क्षेत्र) हरुमा परीक्षण गर्दै गर्दै लगिनेछ, त्यो नै वितरण पनि हुनेछ ।’
यी क्षेत्रहरुमध्ये कतिपय स्थानमा पानी पु¥याउन अझै एक वर्षसम्म लाग्न सक्ने उनको भनाइ छ । यसअघि बिच्छाइएका पाइपमा ढल, बाटो बनाएर क्षति पुगेका हुन सक्ने अनुमान गर्दै सचिव बेल्बासलेले ती क्षेत्रमा पुनः परीक्षण गरिनेछ । परीक्षणका क्रममा क्षति भएका पाइपलाई दोहाेर्‍याएर राख्नुपर्ने भएकाले समय लाग्ने अनुमान गरिएको हो । 

मेलम्चीको पानी वितरणका लागि नयाँ प्रणाली स्थापनार्थ गठित आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठका अनुसार मेलम्चीको पानी छाडियो भने चक्रपथभित्रका ३० हजार घरधुरीमा रहेका धारमा तत्काल पानी वितरण गर्न सकिन्छ । यी सबै नयाँ प्रणाली हुन् ।निर्देशनालयले चक्रपथभित्र एक लाख १० हजार घरधुरीमा नयाँ प्रणाली जडान गर्न लागेकामा ३० हजार पूरा भएको हो । यसबाहेक बाँकी घरधुरीमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का पाइप र धारामा नयाँ अन्तरजडान (इन्टर कनेक्सन) गरी पानी वितरण गरिने श्रेष्ठले बताए । 

मेलम्ची खानेपानी विकास समितिले गत असार तेस्रो साता मेलम्चीको सुरुङमा पानी भरेर परीक्षण गरेको थियो । त्यसक्रममा  सुरुङ प्रवेश मार्ग (अडिट एक्सेस रोड) को गेट (ढोका) फुटेर एक इन्जिनियरको मृत्यु भएको थियो भने एकजना प्राविधिकलाई बगाएको थियो । हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित अडिटको मुख्य गेट (नं. १७) फुटेर निस्केको पानीले आयोजनाको एक इन्जिनियर र एक चालकलाई बेपत्ता पारेको थियो । इन्जिनियर सतिशत गोइत शव पछि फेला परेको थियो भने चालक राधाकृष्ण थापा मगरको अभैm भेटिएको छैन ।

सचिव बेलबासेको अनुसार मेलम्चीको प्रमुख लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) ले अनुदान सहयोग अन्तर्गत एक विशेषज्ञ टोली मेलम्ची सुरुङ, मुहानस्थल, गेट लगायतका संरचनाको पुनः जाँचका लागि पठाएको थियो । उसैको सल्लाहअनुसार हाल अन्तिम सुधारका कार्य भइरहेको छ । सरकारले २०७३ सालको दशैंमा मेलम्चीको पानी आउँछ भनेको थियो । त्यसपछि हिउँदमा आउँछ भने, त्यसमा पनि आएन । यसो गर्दागर्दै अहिले आएर विशेष गरेर वर्तमान सरकारले सत्ता सम्हालेदेखि मेलम्ची आउँछ भन्दा पत्याउन सकिने स्थिति रहेन । ‘अब त काम नै केही बाँकी छैन,’ सचिव बेल्बासले भने, ‘अझ हाम्रो लक्ष्य त यही फेब्रुअरी (माघ–फागुन) भित्र परीक्षण सकी चैतमै वितरण हुने अनुमान थियो ।’

समितिका कार्यकारी निर्देशक तिरेश खत्रीका अनुसार हालसम्म मेलम्चीमा २९ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । यो आयोजनाको पछिल्लो संशोधित लागत अनुमान २१ अर्ब ४७ करोड रुपैयाँ छ ।मेलम्ची खानेपानी आयोजना पूरा भएमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउन सकिन्छ । उपत्यकामा खानेपानीको माग दैनिक ४१ करोड ५० लाख लिटर रहेको अनुमान छ । त्यसमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले दैनिक १० करोड ७२ लाख लिटर मात्र वितरण गर्छ । यसमा २० प्रतिशत चुहावट छ । मेलम्चीमा सँगैको याङ्ग्री र लार्केलाई पनि थपे पछि प्रत्येक खोलाबाट दैनिक १७ करोड लिटर गरी ५१ करोड लिटर भित्र्याउने योजना छ । 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x