विशेष रिपोर्ट

आठ महिनामा राजस्व लक्ष्यभन्दा ४६ अर्ब कम उठ्यो

पवन तिमिल्सिना |
चैत ८, २०७७ आइतवार १७:४७ बजे

काठमाडौँः चालु आर्थिक वर्षको आठ महिनामा सरकारले वर्षभरीमा राखेको लक्ष्यको आधा मात्रै राजस्व संकलन भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र अन्त:शुल्क संकलन कमजोर देखिएपछि अपेक्षित राजस्व नउठेको हो ।

चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो । ८ महिनामा ६ खर्ब १७ अर्ब ५३ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको ५६ दशमलव ४६ प्रतिशत हो ।


यो आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी छ । लक्ष्य भेटाउन सरकारले ४ खर्ब ४० अर्ब रुपैयाँ संकलन गर्नुपर्नेछ । जसअनुसार एक महिनामा एक खर्ब १० अर्ब रुपैयाँको दरले राजस्व उठाउनुपर्ने हुन्छ । फागुनमा अर्थ मन्‍त्रालयले बजेटको मध्यावधि समीक्षा गर्दै वार्षिक लक्ष्यको ९४ दशमलव ८५ प्रतिशत मात्रै राजस्व उठ्ने स्वीकार गरिसक्यो ।

जसअनुसार ३ खर्ब ८८ अर्ब राजस्व असुल्नुपर्ने हुन्छ । आठ महिनाकै लक्ष्यभन्दा ४६ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ । तर, अर्थ मन्‍त्रालयअनुसार यस अवधिमा ५ खर्ब ७१ अर्ब २० करोड ३४ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । यो लक्ष्यको ९२ दशमलव ५० प्रतिशत हो ।

सरकारले  संशोधित लक्ष्य भेटाउन ३ खर्ब ८८ अर्ब राजस्व संकलन गर्नुवर्छ भने वार्षिक लक्ष्य भेटाउन ४ खर्ब ४० अर्ब उठाउनुपर्ने हुन्छ । 

राजस्व संकलन लक्ष्यअनुसार नभएपछि अर्थ मन्‍त्रालयले विभिन्‍न प्राप्तिको रकमलाई समेत जोडेर राजस्व शिर्षकमा देखाउने गरेको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएमएफ)ले यस्ता प्राप्तिलाई राजस्व मान्दैन । बेरुजूबापत तिरेको रकम, निकासा फिर्ता तथा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिएको अनुदान फिर्ता लगायतका रकमलाई अन्य प्राप्तिमा उल्लेख गरिन्छ ।

त्यस्तो रकमको सरकारले कुनै लक्ष्य निर्धारण समेत गरेको हुँदैन । प्राप्तिको रकम समेत जोड्दा कूल राजस्व ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ उठेको अर्थ मन्‍त्रालयले जानकारी दिएको छ । यो लक्ष्यको तुलनामा ९७ दशमलव ८० प्रतिशत हुन्छ ।

राजस्वमा आयातको भरथेग

भन्सार विभागको आठ महिनाको तथ्यांकले आयात २ दशमलव १४ प्रतिशतले बढेको देखाएको छ ।

गत आर्थिक वर्षमा आयातको ग्राफ घट्दो क्रममा थियो । कोभिड-१९ को महामारी फैलिएपछि विश्व अर्थतन्‍त्र प्रभावित भएपछि आयात झन् खस्कियो । तर, पछिल्लो समय आयात बढ्न थालेको छ । आर्थिक क्रियाकलाप चलायमान हुनथालेपछि आयात बढेको छ ।

अर्थ मन्त्रालयले प्राप्तिको रकम जोडेर लक्ष्यको ९७.८०५ राजस्व उठेको दाबी गरिरहेको छ । 

आयातमा भएको वृद्धिसँगै भन्सार महसुलमा समेत वृद्धि भएको छ । भन्सार राजस्वमा भएको वृद्धिले समग्र राजस्वलाई भरथेग गरेको तथ्यांकले देखाउँछ । आठ महिनामा भन्सार महसुल लक्ष्यको ९८ दशमलव ८६ प्रतिशत उठेको छ । वार्षिक लक्ष्यको तुलनामा ६५ दशमलव १८ प्रतिशत उठिसकेको छ ।

तर राजस्वका अन्य शिर्षक भने औषत ५० प्रतिशतका दरले संकलन भएका छन् । औद्योगिक, पर्यटन तथा सेवा क्षेत्र तंग्रिन नसक्दा मूल्य अभिवृद्धि कर, अन्त:शुल्क र गैरकर राजस्व लक्ष्य अनुसार उठ्न सकेको छैन ।

 


Author

पवन तिमिल्सिना

तिमिल्सिना अर्थतन्त्रका विविध विषयमा रिपोर्टीङ गर्छन् ।


थप समाचार
x