खेलकुद

नवौं राष्ट्रिय खेलकुद : पोखरामा पत्रकारलाई तालिम

इकागज |
असोज ४, २०७९ मंगलबार २०:१ बजे

पोखरा- पोखरामा मंगलबारदेखि प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको संयोजनमा तालिम भएको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई लक्षित गरी सुरु भएको तालिम बुधबारसम्म चल्नेछ । तालिमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले गरेका हुन् । तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने परिषदका सदस्य कुमार गुरुङले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका गुरुङले खेलकुद क्षेत्रमा भएका विकृति विसंगतीबारेमा उजागर गर्न पनि पत्रकार समक्ष आग्रह गरे ।


उनले खेल स्थलको मर्मत र निर्माणका लागि बजेट अभाव भएको बताए । पर्याप्त बजेट नहुँदा काम गर्न समस्या भएको उनको भनाइ थियो । गण्डकी प्रदेशका ८ जिल्लामा हुने खेलको तालिका सार्वजनिक भएपनि प्राविधिक कारण केही ठाउँको खेल स्थल परिवर्तन हुन सक्ने उनले संकेत गरे ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद पत्रकार मञ्च गण्डकीसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी गतिविधिलाई आम सर्वसाधरणमाझ पुर्‍याउन सञ्चारकर्मीबाट निरन्तर साथ पाउने विश्वास उनको थियो ।

तालिममा गण्डकी प्रदेशमा कार्यरत खेल पत्रकारितामा रुचि राख्ने झण्डै ७० जना पत्रकारको सहभागिता रहेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले बताए । पौडेलका अनुसार पहिलो दिनमा कूल १३ जना प्रशिक्षकले प्रशिक्षण दिए । सोमबार योगेन्द्र शेरचन, पुनम गुरुङ, विशाल कुँवर, सन्दिप बराल, मोहन गुरुङ, गोपाल श्रेष्ठ, रिजन प्रजु, राजन बडगामी, रामकृष्ण ज्ञवाली, राम गुरुङ, निरज थापा, प्रियंका बर्मा र योगेश भट्टराईले प्रशिक्षण दिए ।


Author

थप समाचार
x