खेलकुद

तेस्राे प्रयासमा स्वर्ण जितेका पूर्व विश्व नं. १ प्रिन्सकाे लक्ष्य ओलम्पिक

सञ्जीव शाह |
कात्तिक २, २०७९ बुधवार १९:५९ बजे

पोखरा- पूर्व जुनियर विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण हात पारेका छन् । नेपाल पुलिस क्लबतर्फबाट खेलेका प्रिन्सले पुरुष एकलतर्फ स्वर्ण हात पारेका हुन् ।

पोखराको कभर्डहलमा भएको खेलमा प्रिन्सले फाइनलमा आफ्नै क्लबका विष्णु कटुवालाई २१-१२ र २१-९ को सेटमा पराजित गरे । विश्व जुनियर विश्व नम्बर एक खेलाडी प्रिन्सले राष्ट्रिय खेलकुदमा पहिलो पटक स्वर्ण जितेका हुन् ।


यसअघि सातौं राष्ट्रिय खेलकुदमा समूह चरणबाटै बाहिरिएका तथा आठौँ राष्ट्रिय खेलकुदमा कांस्यमा सिमित भएका प्रिन्सले तेस्रो प्रयासमा स्वर्ण जिते ।

सातौँ राष्ट्रिय खेलकुद देखिकै प्रयास अहिले आएर पूरा भएको छ । अभ्यास राम्रो भएको थियो,' स्वर्ण जितेपछि प्रिन्सले बताए ।

हाल जुनियरतर्फ विश्व वरीयतामा ३५ औँ वरीयता तथा सिनियरतर्फ ६ सय ९४ औँ वरीयतामा रहेका प्रिन्सको अबको लक्ष्य भनेको नेपालका लागि ओलम्पिक खेल्नु हो ।

'सन् २०२४ को ओलम्पिकको समेत तयारीका लागि मलेसिया पुगेको थिए । सो तयारीले पनि नवौँमा स्वर्ण जित्न मदत गर्‍यो । नियमित रुपमा खेल्न पाएका कारण पनि स्वर्ण जित्न सहज भयो,' उनले थपे ।

प्रिन्स प्रतियोगिता सुरु हुनु भन्दा एक महिना अगाडि मात्र नेपाल पुलिस क्लबमा आवद्ध भएका थिए र उनले पुलिससँग एक वर्षको सम्झौता गरेका छन् ।

जुनियरमा विश्व वरीयता एकसम्म पुगेका प्रिन्सको अबको लक्ष्य भनेको सिनियरतर्फ राम्रो गर्नु हो ।

'२०२४ को ओलम्पिकतिर नै बढी ध्यान केन्द्रीत छ,' उनी थप्छन् । उनका अनुसार परिवारले हार अथवा जित दुवैमा समर्थन गरिरहेको हुन्छ ।

प्रिन्सका अनुसार राष्ट्रिय खेलकुदले खेलाडीको वरीयता तथा अन्तर्राष्ट्रिय सहभागिताका लागि पनि निकै नै महत्वपूर्ण हुनेछ ।

तर उनले शीर्ष वरीयताका खेलाडीहरु जस्तै दिपेश धामी, रत्नजित तामाङ तथा विकाश श्रेष्ठ जस्ता खेलाडी देशमा नभएका कारण राष्ट्रिय प्रतियोगितामा आफूलाई परीक्षण गर्ने अवसर भने गुमाएको अनुभव साटे ।

केही समय घाइते भएपछि अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएका कारण प्रिन्सको विश्व वरीयता खस्किएको थियो ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x