खेलकुद

नवौँ राष्ट्रिय खेलकुदः पार्की दाइ-भाइलाई एकै दिन स्वर्ण

सञ्जीव शाह |
कात्तिक ३, २०७९ बिहीबार ९:१८ बजे

पोखरा- गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाइ गोपी चन्द्र पार्की र भाइ शिवराज पार्कीले एकै दिन स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन एथलेटिक्समा दुवैले स्वर्ण जितेका हुन् ।

पोखरा रंगशालामाको ट्रयाकमा दाइ गोपी चन्द्रले ५ हजार मिटर दौडमा नेपाल एपीएफ क्लबका लागि स्वर्ण जिते । गोपी चन्द्रले निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेन्डमा पुरा गरे ।


जारी प्रतियोगितामा गोपी चन्द्रको यो पहिलो स्वर्ण हो । त्यसैगरी, गोपी चन्द्रको ५ हजार मिटरमा राष्ट्रिय खेलकुदमा ह्याट्रिक पनि हो । उनले यसअघि सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेका थिए ।

'ह्याट्रिक गर्न पाउँदा खुसी लागेको छ,' गोपी चन्द्रले भने ।  

यसैबीच, ५ हजार मिटर दौडमा कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट र २९.९३ सेकेन्डमा रजत तथा त्रिभुवन आर्मी क्लबका मुकेश पालले १४ मिनेट र ३६.६० सेकेन्डमा कास्य हात पारे ।

यता एपीएफबाट खेल्ने शिवराजले पुरुषको २ सय मिटर दौडमा स्वर्ण जिते । शिवराजले निर्धारित दूरी २१.९१ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे । उनले एक सय मिटर दौड तथा रिलेमा पनि स्वर्ण जितेका थिए ।

यता एपीएफकै आशिष चौधरीले २२.०५ सेकेन्डमा रजत तथा आर्मीका युवराज विकले २२.५० सेकेन्डमा कास्य हात पारे ।

एकै दिन दाई-भाईले स्वर्ण जितेपछि शिवराजले आफूले भन्दा पनि दाईले स्वर्ण जित्दा बढी खुसी लागेको प्रतिक्रिया दिए ।

आफू भन्दा पनि दाइले स्वर्ण जित्दा बढी खुसी लागेको छ । म दाइलाई धेरै माया गर्छु र उहाँले जित्दा असाध्यै खुसी लागेको छ । दाइले नै सिकाएर यहाँसम्म आएको हुँ,' शिवराजले भने ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x