खेलकुद

फिफा विश्वकपः अस्ट्रेलिया नकआउट चरणमा, फ्रान्स समूह विजेता

इकागज |
मंसिर १४, २०७९ बुधबार २२:४२ बजे

काठमाडौँ-  अस्ट्रेलियाले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ । बुधबार राति भएको समूह 'डी' को अन्तिम खेलमा डेनमार्कलाई पराजित गर्दै अस्ट्रेलिया अन्तिम १६ मा प्रवेश गरेका हो । अस्ट्रेलियालाई महत्वपूर्ण जित दिलाउन म्याथ्यू लेक्कीले ६० औँ मिनेटमा निर्णायक गोल गरे ।  

समूह चरणको ३ मध्ये २ खेलमा जित तथा एक खेलमा पराजय भोगेको अस्ट्रेलियाले समग्रमा ६ अंक जोड्दै समूहको उपविजेता बन्यो । अस्ट्रेलिया सन् २००६ पछि पहिलो पटक नकआउट चरणमा पुगेको हो ।


यता यस पराजयपछि ३ मध्ये एक खेलमा बराबरी तथा २ खेलमा पराजय भोगेको डेनमार्क प्रतियोगिताबाट बाहिरिएको छ ।

यसैबीच, अघिल्ला दुई खेलमा जित हात पार्दै नकआउट चरणमा प्रवेश गरिसकेको डिफेन्डिङ च्याम्पियन फ्रान्सले ट्यूनिसियाविरुद्ध १-० को पराजय भोगेको छ । ट्यूनिसियालाई जित दिलाउन वाहबी खजरीले ५८ औँ मिनेटमा निर्णायक गोल गरे ।

यता पराजयपछि पनि फ्रान्स समूह विजेताको रुपमा अघिल्लो चरणमा प्रवेश गरेको छ ।

फ्रान्सले ३ मध्ये २ खेलमा जित तथा एक खेलमा पराजय भोग्दै ६ अंक जोड्यो । अस्ट्रेलिया र फ्रान्सले समान ६-६ अंक जोडेपनि गोलअन्तरको आधारमा फ्रान्स समूह विजेता बनेको हो ।

यता फ्रान्सलाई पराजित गरेपनि ३ खेलबाट जम्मा ४ अंक जोडेको ट्यूनिसिया प्रतियोगिताबाट बाहिरिएको छ ।

 

 


Author

थप समाचार
x