खेलकुद

ब्राजिललाई विश्वकपमा हराउने पहिलो अफ्रिकी राष्ट्र बन्‍यो क्यामरुन

इकागज |
मंसिर १८, २०७९ आइतवार ८:५ बजे

लुसिल (कतार)- अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा अफ्रिकी मुलुक क्यामरुनले शुक्रबार नयाँ इतिहास बनाएको छ । पाँचपटक विश्वकप फुटबलको उपाधि जितेको ब्राजिललाई क्यामरुनले शून्यका विरुद्ध एक गोलले हराएर नवइतिहास रचना गरेको हो ।

ब्राजिलसँगको खेलमा शानदान जित निकालेको क्यामरुन समूह चरणको खेलबाट बाहिरिएको छ । यद्यपि क्यामरुनका मुख्य प्रशिक्षक रिगोवर्ट सोङ पाँच पटकको विश्वविजेतालाई आफ्ना खेलाडीले हराएकामा क्यामरुनमात्र नभइ समग्र अफ्रिकी महादेशका निम्ति गर्वको विषय भएको बताउँछन् । दोभाषेको सहायतामा  एशोसिएटेड प्रेससँग कुरा गर्दै उनले युवा वर्गलाई अवसर दिएमा लक्ष्य हासिल गर्न सहज हुने बताए ।


आफ्नै युवावयको स्मरण गर्दै उनले स्थानीय फुटबल क्लबमा खेलिरहेको आफूलाई सन् १९९४ को विश्वकपमा आफ्ना प्रशिक्षकले अवसर दिएको बताए । युवाको सामथ्र्यमा विश्वास गरेर नै उनका गुरुले आफूलाई विश्वकप खेल्ने मौका दिएको बताउँदै उनले २४ वर्षीय जेरोम एनगोम एमबेकीलाई मैदानमा उतारेको खुलासा गरे ।

ब्राजिलबाट ठूलो दबाब खेपिरहेको क्यामरुनलाई खेलाडी परिवर्तनको आवश्यकता पनि परेको थियो । नब्बे मिनेटको निर्धारित समयभित्र गोलरहित बराबरीमा नै दुवै टिम भिडिरहेका बेला थपिएको नौ मिनेटको उपयोग गर्न सोङले एमबेकीलाई मैदानमा उतारेका थिए । अतिरिक्त समयको सात  मिनेटमात्र बाँकी छँदा ब्राजिललाई ठेगान लगाउन मैदान छिरेका उनले गोलपोष्ट समीप गरेको पासलाई हेड गर्दै भिन्सेन्ट अबुबाकरले क्यामरुनलाई जिताएका थिए ।

यसैबीच, ब्राजिलका प्रमुख प्रशिक्षक टिटेले क्यामरुनसँग ब्राजिलको पराजयको दोष आफूले लिएको बताएका छन् । नौ पटकसम्म खेलाडी परिवर्तन गरेर स्विटजरल्याण्डलाई सोमबार हराएको उनको  रणनीतिले क्यारुनसँगको खेलमा साथ दिएन । उनले क्यामरुनका खेलाडीको स्तरीय खेलको प्रशंसा पनि गरेका छन् । मौकाको सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको उनले स्वीकार गरेका छन् । शुक्रबारको स्पर्धामा ब्राजिलले २१ र क्यारुनले ९ वटा गोल गर्ने अवसर गुमाएका थिए । (एपी)


Author

थप समाचार
x