चन्दा जुटाएर खेलमैदान
फाइल फोटो
म्याग्दी - अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा सरकारी निकायको अनुदानको तुलनामा दोब्बर बढी चन्दा संकलन गरेर खेलमैदान निर्माण भएको छ ।
घराम्दीको पेरी भारानी युवा क्लबले चन्दा संकलन र दाताको सहयोग जुटाएर भलिबल र बास्केटबल खेल सञ्चालन गर्न मिल्ने व्यवस्थित खेल मैदान बनाएका हुन् । क्लबका अध्यक्ष अमृत गर्बुजाले गाउँपालिकाबाट रु १४ लाख ३० हजार अनुदान प्राप्त भएको खेलमैदान बनाउन समुदायस्तरबाट रु ३४ लाख ७७ हजार सहयोग जुटेको बताए ।
'खेतबारी र घरको आगँनमा खेलअभ्यास गर्नुपर्ने समस्या हटाउन खेलमैदान बनाएका हौँ', उनले भने, 'गाउँपालिकाले दिएको अनुदानभन्दा बढी चन्दा र श्रमदान जुटाएर खेलमैदान निर्माण भएको छ ।' खेलमैदान निर्माण भएपछि भलिबल, बास्केटल खेलको अभ्यास, फुर्सदको समय सदुपयोग र प्रतियोगिता तथा सभा समारोह आयोजना गर्न सहज भएको खेलाडी नवीन फगामीले बताए ।
घराम्दी घर भई हाल बेलायत बस्ने होमबहादुर फगामीले रु चार लाख ५० हजारमा किनेर क्लबलाई उपलब्ध गराएको चार रोपनी जग्गामा ३० मिटर लम्बाइ र १७ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको हो । खेलमैदान निर्माणका लागि फगामीले थप रु दुई लाख सहयोग गरेका छन् । उनीसहित स्वदेश तथा विदेशमा रहेका घराम्दीवासीले रु २७ लाख सहयोग गरेका छन् । गाउँका भूतपूर्व सैनिकले रु तीन लाख २७ हजार खर्चेर खेलमैदान परिसरमा सार्वजनिक शौचालय बनाएका छन् ।
गाउँपालिकाले प्याराफिट, घेराबार र स्टेज बनाउन रु १४ लाख ३० हजार सहयोग गरेको छ । अनुदान र चन्दाका अलावा एक सय घरधुरीको बसोबास रहेको घराम्दीका बासिन्दाले १०/१० दिनभन्दा बढीका दरले श्रमदान पनि गरेका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्टेज बनाउन रु सात लाख ५० हजार बिनियोजन भएको वडाध्यक्ष मइलन पुर्जाले बताए । उनका अनुसार यसअघि २०७८/७९ मा रु दुई लाख असी हजार, २०७७÷७८ मा रु तीन लाख र २०७६/०७७ मा रु एक लाख सहयोग गरिएको थियो ।
'गाउँपालिकाको अनुदानको तुलनामा दोब्बर बढी चन्दा र श्रमदान जुटाएर घराम्दीवासीले जनसहभागिताको नमूना प्रस्तुत गरेका छन', वडाध्यक्ष पुर्जाले भने । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया