पोखरा स्पोर्टस् अवार्ड
करण र सवित्री वर्ष उत्कृष्ट खेलाडी
पोखरा- पोखरा स्पोर्टस् अवार्डको सर्वोत्कृष्ट खेलाडीमा पुरुषतर्फ नेपाली राष्ट्रिय क्रिकेटका खेलाडी करण केसी र महिलातर्फ फुटबलकी सावित्रा भण्डारी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको सातौं संस्करणमा अवार्डमा उत्कृष्ट घोषित दुवै खेलाडीले उपाधिसँगै टेल्जीको इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् । पुरुषतर्फ सर्वोत्कृष्ट करणले आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्कालाई पछि पारेका हुन् ।
त्यस्तै महिलातर्फ पोखरा स्पोर्टस् अवार्डको सर्वोत्कृष्ट फुटबलकी सावित्रा भण्डारीसँगै आर्चरीकी रोजिना थापामगर, आइटिएफकी सुस्मिता थापामगर मनोनयनमा परेकी थिइन् ।
वर्ष उदीयमान खेलाडी क्रिकेटका सुवास भण्डारी घोषित भएका छन् । मनोनयनमा परेका फुटबलका सुमित श्रेष्ठ र भलिबलका रवि केसीलाई पछि पार्दै भण्डारी वर्ष उदीयमान खेलाडी घोषित भएका हुन् । उदीयमान खेलाडी सुवासले ३५ हजार रुपैयाँ पाए ।
उत्कृष्ट प्रशिक्षकको अवार्ड आर्चरीका किशोरकुमार गुरुङले पाए । वर्ष उत्कृष्ट प्रशिक्षकमा गुरुङसँगै लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयनमा परेका थिए । उत्कृष्ट खेल संघबाट कास्की जिल्ला हयाण्डबल संघ सम्मानित भएको छ । वर्ष उत्कृष्ट खेल पत्रकारबाट सागरराज तिमिल्सिना सम्मानित भए । वर्ष उत्कृष्ट प्रशिक्षक, संघ र पत्रकारले जनही ३५ हजार रुपैयाँ र ट्रफी पाए ।
यो वर्ष बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानी लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भए । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी मृत्यु भएका खेलाडी २८ वर्षीय निसिम थापालाई खेलकुद पत्रकार मञ्च, गण्डकीले कीर्तिशेष सम्मान अर्पण गरेको छ । थापाको प्रतियोगिताकै क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा गत असोज ३० गते थापाको मृत्यु भएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रमुख प्रतिपक्षी दलका नेता एवं निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, प्रतिनिधिसभा सदस्य विद्या भट्टराई, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले अवार्ड वितरण गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया