खेलकुद

इकागजकर्मीद्वय शाह र गुरुङ सम्मानित

इकागज |
जेठ १२, २०८० शुक्रबार १६:३६ बजे

काठमाडौँ- इकागजकर्मीद्वय संजिवकुमार शाह र धनबहादुर गुरुङ सम्मानित भएका छन् । शाह र गुरुङ युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित भएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रमका क्रममा शाह मधेश प्रदेशतर्फ तथा गुरुङले गण्डकी प्रदेशतर्फको उक्त पुरस्कार प्राप्त गरेका हुन् । शाह र गुरुङले जनही २५ हजार नगद तथा सम्मानपत्र प्राप्त गरे ।


त्यसैगरी, सिताराम कोइरालाले खेलकुद पत्रकारिता पुरस्कार प्राप्त गरे । उनले नगद ५० हजार तथा सम्मानपत्र प्राप्त गरे ।

प्रदेशतर्फ नै कोशी प्रदेशबाट अर्जुनकुमार सुवेदी, बागमती प्रदेशतर्फ सुवास विडारी, लुम्बिनी प्रदेशतर्फ विजय नेपाल, कर्णाली प्रदेशतर्फ ललितबहादुर बुढा, सुदूरपश्चिम प्रदेशतर्फ पूर्णबहादुर खड्कासहित महिलातर्फ ज्योति कटुवाल तथा दलिततर्फ दीपक परियार पुरस्कृत भए ।

यसैबीच, उसु खेलाडीद्वय विश्वबुढा मगर र मिना ग्लान, तेक्वान्दो खेलाडीहरू गिता विष्ट, निरज देउवा र प्रेमकुमार दर्नाल, पारा खेलाडीतर्फ बास्केटबलका रामबहादुर तामाङ, प्रशिक्षकतर्फ कराँतेका तारा श्रेष्ठ गुरुङ, निर्णायक/ रेफ्रीतर्फ तेक्वान्दोका दिपेन्द्र ढकाल तथा खेल चिकित्सकतर्फ प्रा. डा. नवीस मान सिंह प्रधान पनि सम्मानित भए । उनीहरूले जनही १ लाख नगद तथा सम्मानपत्र प्राप्त गरे ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पुरस्कार वितरण गरे । पुरस्कार वितरण कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, मन्त्रालयका सहसचिव इम नारायण श्रेष्ठ तथा कुमारप्रसाद दहालको पनि सहभागिता रहेको थियो ।


Author

थप समाचार
x