खेलकुद

अस्ट्रेलियाले न्यूजिल्यान्डविरुद्धको टी-ट्वान्टी सिरिज गर्‍यो 'क्लिन स्विप'

इकागज |
फागुन १३, २०८० आइतबार १०:३८ बजे

काठमाडौँ- पाहुना टोली अस्ट्रेलियाले न्यूजिल्यान्डविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज 'क्लिन स्विप' गरेको छ ।

आइतबार अकल्यान्डको इडेन पार्कमा भएको तेस्रो तथा अन्तिम खेल डिएल मेथडअनुसार २७ रनले जित्दै अस्ट्रेलियाले सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।


यसअघि पहिलो खेल ६ विकेटले जितेको अस्ट्रेलियाले दोस्रो खेल ७२ रनले जितेको थियो ।

वर्षाका कारण प्रभावित आइतबारको खेलमा न्यूजिल्यान्डले १० ओभरमा १ सय २६ रनको लक्ष्य पाएपनि उसले ३ विकेटको क्षतिमा ९८ रनमात्र बनाउन सक्यो । न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले २४ बलमा सर्वाधिक ४० रन बनाएपनि जितका लागि पर्याप्तन भएन ।

अस्ट्रेलियाका लागि म्याथ्यु शर्ट, स्पेन्सर जोनसन र एडम जाम्पाले एक-एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले १० ओभर ४ बलमा खेल्दा ४ विकेट गुमाएर १ सय १८ रन बनाएपछि खेल वर्षाले प्रभावित बनेको थियो ।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले ३३ तथा म्याथ्यु शर्टले २७ रन जोडे । न्यूजिल्यान्डका लागि एडम मिल्ने, बेन सियर्स, मिचेल सान्टनर र जोश क्लार्सनले १-१ विकेट लिए ।


Author

थप समाचार
x