खेलकुद

सूर्य नेपाल गल्फ टूरः एमेच्योर सदभाव शीर्ष स्थानमा

इकागज |
चैत १४, २०८० बुधबार १७:१८ बजे

काठमाडौँ- एमेच्योर गल्फर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टूर २०२३-२४ अन्तर्गतको छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको तेस्रो दिन समग्रमा ११-अन्डर २ सय ५ को उत्कृष्ट स्कोरमा शीर्ष स्थानमा रहन सफल भएका छन् ।

बुधबार २-अन्डर ७० खेलेका सद्‌भावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन् ।


भुवनले १-अन्डर ७१ मा खेल सकाउँदा समग्रमा १०-अन्डर २ सय ६ स्कोरसहित दोस्रो स्थानमा रहेका छन् । अन्तिम १८ होलको खेल बाँकी रहँदा उपाधि होडमा सद्‌भाव र भुवनबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

समग्रमा ३-अन्डर २ सय १३ को नतिजामा दिनेश प्रजापति र विजय श्रेष्ठ आइन्हाउस संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन् ।

बुधबार नै उत्कृष्ट ४-अन्डर ६८ स्कोर कार्ड बनाएका दिनेश नवौं स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन् । विजयले १-ओभर ७३ मा खेल सकाए ।

१-अन्डर ७१ स्कोर बनाउँदा समग्रमा २-अन्डर २ सय १४ सहित निरज तामाङ पाँचौँ स्थानमा छन् । एमेच्योर राहुल विश्वकर्मा समग्रमा १-ओभर २ सय १७ सहित छैटौं स्थानमा उक्लिएका छन् । उनले आज ३-अण्डर ६९ को कार्ड तयार पारे ।

यसैगरी, एमेच्योर टासी छिरिङ र प्रो सञ्जय लामा समग्रमा २-ओभर २ सय १८ सहित सातौं स्थानमा छन् । टासीले १-अण्डर ७१ र सञ्जयले इभन-पार ७२ मा बुधबारको खेल पुरा गरे । समग्रमा ३-ओभर २ सय १९ सहित युवराज भुजेल र रवि खड्का संयुक्तरुपमा नवौं स्थानमा छन् ।


Author

थप समाचार
x