खेलकुद

एक खेलअगावै आयरल्यान्ड उल्भ्सले जित्यो नेपाल 'ए' विरुद्धको क्रिकेट सिरिज

इकागज |
चैत १७, २०८० शनिबार १६:३० बजे

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सले नेपाल 'ए' विरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज एक खेलअगावै जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेल ४० रनले जित्दै सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो ।


यसअघि शुक्रबार भएको पहिलो खेलमा आयरल्यान्ड उल्भ्स २१ रनले विजयी भएको थियो । यी दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल सोमबार हुने तालिका रहेको छ ।

शनिबारको खेलमा २ सय २५ रनको लक्ष्य पछ्याएको नेपाल 'ए' ले १७ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ८४ रनमात्र बनाउन सक्यो ।

नेपाल 'ए' का लागि देव खनालले ४७ रन, बसिर अहमदले २७ रन, कप्तान विनोद भण्डारीले २६ रन तथा लोकेश बमले २५ रन बनाए ।

आयरल्यान्ड उल्भ्सका लागि बेन ह्वाइटले ३, थोमस मेयस र फियोन ह्यान्डले २-२ विकेट तथा गारेथ डिलानी र म्याथ्यु फोस्टरले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड उल्भ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २४ रन जोड्यो ।

आयरल्यान्ड उल्भ्सका लागि पिटर मुरले २६ बलमा ३ चौका र ७ छक्काको मदतमा ६५ रनको योगदान गरे । जेम्स म्याककोलमले २६ रन जोडे । कप्तान निल रकले ३४ बलमा ७ छक्का र १ चौकाको मदतमा ७१ रन जोडे ।

नेपाल 'ए' का लागि सागर ढकालले ३ विकेट हात पारे । पवन सर्राफ र कमल सिंह ऐरीले १-१ विकेट लिए ।


Author

थप समाचार
x