खेलकुद

सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन भुवन शीर्ष स्थानमा

इकागज |
बैशाख ११, २०८१ मंगलबार २१:२८ बजे

काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन इभन-पार ६८ को स्कोरमा भुवन नगरकोटी शीर्ष स्थानमा रहेका छन् । 

उनले रवि खड्का, भुवनकुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका छन् । रवि, भुवन र निरजले भने पहिलो दिनको खेल १-ओभर ६९ मा सकाउँदै संयुक्त रूपमा दोस्रो स्थान बाँडे । २-ओभर ७० को नतिजामा पुर्णप्रसाद शर्मा, धनबहादुर थापा, जयराम श्रेष्ठ, सञ्जय लामा र दिनेश प्रजापतिले संयुक्त रूपमा पाँचौं स्थान बाँडे । पशुपति शर्मा ३-ओभर ७१ को स्कोरमा दशौं स्थानमा रहेका छन् ।  


पहिलो दिन शीर्ष स्थानमा रहेका भुवन नगरकोटीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए । दिनको सुरुवात बर्डीबाट गरे । पहिलो होलमा बोगी प्रहार गरे पनि दोस्रो, तेस्रो र नवौं होलमा बर्डीको सामना गरे । ब्याक नाइनमा भने उनी सम्हालिए । १०औं, ११ औं र १५औं होलमा एक-एक सट बचाए भने १७औं होलको बोगीले ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे । इभन-पार ६८ नै पहिलो दिनको उत्कृष्ट स्कोर कार्ड बन्यो । 

रविले सुरूवात खराब गरे । दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बोगी खेल्दै फ्रन्ट नाइन ४-ओभर ३८ मा सकाए । यसपछि भने खेलमा सुधार ल्याए । १२औं, १३औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे र ब्याक नाइन ३-अन्डर ३१ पुरा गरे । 

भुवन रोक्काले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए । पहिलो र तेस्रो होलमा बोगी प्रहार गरे भने दोस्रो, चौथो र पाँचौ होलमा एक-एक सट बचाए । सातौं होलमा भने डबल बोगीको सामना गरे । यसपछि उनले ब्याक नाइनको सबै ९ होलमा नै पार जोगाए । 

निरजले दोस्रो होलमा बर्डी प्रहार गरे भने ५-पारको चौथो होलमा ईगलको सफलता प्राप्त गरे । तर, तेस्रो र नवौं होलमा एक-एक सट खेर फाल्दै फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए । यसपछि ११औं होलमा डबल बोगी खेपे भने १३औं होलमा एक सट खेर फाले । १६औं होलको बर्डीले ब्याक नाइन २-ओभर ३६ मा पूरा गरे । 

एमेच्योरतर्फ टासी छिरिङ र सदभाव आचार्य संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । उनीहरूले ४-ओभर ७२ मा पहिलो दिनको खेल सकाए । ८-ओभर ७६ को स्कोरमा निलकुमार थापा र भरत थापा मगरले संयुक्त रूपमा तेस्रो स्थानमा बाँडे । 

सूर्य नेपाल गल्फ टुरमा डेब्यु गरेका सुबाश तामाङले पहिलो दिन ४-ओभर ७२ को प्रदर्शन गरे । उनी समग्रमा एमेच्योरद्वय टासी र सदभावसँग संयुक्त रूपमा ११औं स्थानमा रहेका छन् ।

चार दिने प्रतियोगितामा ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउने छन् । टप २१ मा पर्ने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् । एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन् । ३२ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ४१ गल्फरहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको छ । विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश: ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौं हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन् । 


Author

थप समाचार
x