खेलकुद

प्रिमियर लिग फुटबल

सिटीलाई पछाडि धकेल्ने युनाइटेडको योजनामा सान्चोको साथ

प्लेमेकिङ र गोल स्कोरिङ क्षमताका सान्चोका लागि सोल्स्यारको योजना के छ ?

इकागज |
साउन ९, २०७८ शनिबार १८:४१ बजे

फाइल फोटो

काठमाडौँ- जेडोन सान्चोलाई म्यानचेस्टर युनाइटेडले आठ करोड ५० लाखमा अनुबन्ध गरेको छ । यो स्थानान्तरणले सान्चोलाई दोस्रो महंगा इंग्लिस फुटबलर बनाएको छ । सर्वाधिक महंगा इंग्लिस खेलाडी पनि युनाइटेडमै छन् । उनी हुन्, रक्षक ह्यारी मग्वाएर ।  

सान्चोले सन् २०२६ सम्मका लागि युनाइटेडसँग सम्झौता गरेका हुन् । गत वर्ष इंग्लिस प्रिमियर लिगमा दोस्रो भएको युनाइटेडलाई सान्चोको उपस्थितीले थप बलियो बनाउने अपेक्षा गरिएको छ । 


सान्चो म्यानचेस्टर सिटीबाट २०१७ अगस्टमा बोरुसिया डर्टमन्ड पुगेका थिए । उनी सिटीमा दुई वर्ष रहे । मार्च २०१५ सम्म उनी वाटफोर्डमा थिए । उमेर समूहका प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गरेपछि सान्चो सिटीका स्काउटहरूको नजरमा परे । सिटीको सिनियर टिमबाट खेल्ने उनको चाहना थियो । तर स्टारहरूले भरिएको सिटीमा उनले मौका पाउने सम्भावना थिएन ।  त्यसपछि उनको यात्रा जर्मनीतर्फ मोडियो । 

युवा प्रतिभालाई पर्याप्त मौका दिने परिचय बनाएको डर्टमन्डमा सान्चो महत्वपूर्ण खेलाडी सावित भए । उनले त्यहाँ कुल एक सय ३७ खेल खेले । र, ५० गोल तथा ६४ असिस्टको योगदान गरे । गत सिजन मात्रै पनि उनको नाममा १६ गोल र २० असिस्ट रह्यो । बुन्डेसलिगामा आठ गोल गरेका सान्चोले डर्टमन्डलाई चौँथो स्थान दिलाउन उल्लेख्य भूमिका निर्वाह गरे । 

डर्टमन्डमा सान्चोको सुरुवात अपेक्षा गरे अनुसारको भने भएन । उनले पहिलो सिजन जम्मा १२ लिग खेल मात्रै खेल्न पाए । कुल ६८५ मिनेट मैदानमा रहँदा उनले एक गोल गर्न भ्याए भने चार असिस्ट प्रदान गरे । दोस्रो सिजन भने सान्चोले जादूमयी खेल देखाए । ३४ लिग खेलमा १२ गरे भने १८ असिस्ट पनि दर्ता गरे । 

जर्मनीमा देखाएको लयले इंग्ल्यान्डका क्लबहरू सान्चोलाई घर फर्काउने प्रयासमा लागे । उनकै पूरानो क्लब सिटी पनि डर्टमन्ड विङगरसँग जोडियो । तर बाजी मार्‍यो, म्यानचेस्टर सहरकै अर्को क्लबले । 

युनाइटेडमा पहिलैदेखि स्थापित फरवार्डहरू छन् । गत सिजन ओल्ड ट्राफोर्ड पुगेका एडिन्सन काभानी, सान्चोसँगै राष्ट्रिय टिमबाट खेल्ने मार्कस रासफोर्ड, युवा स्ट्राइकर मासन ग्रिनउड र फ्रान्सका एन्थोनी मार्सियल । सान्चोले यी खेलाडीहरूसँग साझेदारी गर्दै युनाइटेडको अग्रपंक्तिको थप बलियो बनाउनु पर्नेछ । 

गत सिजन युनाइटेडका लागि सर्वाधिक गोलकर्ता मिडफिल्डर ब्रुनाे र्नान्डेज थिए । पेनाल्टीको पनि जिम्मेवारी पाएका पोर्जुगिज फर्नान्डेजले कुल १८ लिग गोल गरे । जसमा नौ पेनाल्टी गोल सम्मिलित थियो । गोलकर्ताको सूचीको दोस्रो स्थान रासफोर्डले कब्जा गरे । उनको नाममा ११ लिग गोल रह्यो । सान्चोसँग तुलना गर्ने हो भने, गत सिजन युनाइटेडका स्ट्राइकरमध्ये रासफोर्डले मात्र धेरै गोल गरेका छन् । 

सान्चो गोल गर्न वा असिस्ट गर्नमा मात्रै माहिर छैनन् । उनको ‘प्लेमेकिङ’ क्षमता पनि गज्जबकै छ । उनले डर्टमन्डमा कुल ६५ पटक गोलका लागि अवसर सिर्जना गरे । उही अवधिमा युनाइटेडका लागि रासफोर्ड, मार्सियल, ग्रिनउड र काभानीले सिर्जना गरेको भन्दा निकै कम हो । यस अर्थमा सान्चोको परिचय गोल गर्न सक्ने विङगरमा मात्रै सीमित छैन । 

सान्चोका केही तथ्यांक अवाक् बनाउने प्रकारका छन् । २०१८/१९ सिजनदेखि यता सात खेलाडीको नाममा मात्रै सान्चोको भन्दा बढी गोल र असिस्ट छ । यस अवधिमा लियोनल मेस्सीले बार्सिलोनाका लागि कुल एक सय ३४ गोल तथा असिस्टको योगदान गरेका छन् । दोस्रो स्थानमा बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की छन् । उनको नाममा एक सय १५ गोल तथा असिस्ट छ । तेस्रो स्थानमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो छन् ।

त्यसपछि, किलियान एमबाप्पे, सिरो इममोबिले, करिम बेन्जेमा र मोहम्मद सलाहको नाम छ । अनि आठौँ स्थानमा ह्यारी केन र डुभान जापाटासँगै सान्चो छन् । यी तीन खेलाडीले नै कुल ७१ गोल र असिस्ट गरेका छन् । 

सान्चोको अर्को विशेषता भनेको धेरै पोजिसनमा खेल्न सक्नु हो । डर्टमन्डका लागि उनले प्राय खेल राइट विङगर बनेर खेले पनि अन्य पोजिसनमा पनि उत्तिकै सशक्त 
देखिन्छन् । सान्चोले लेफ्ट विङबाट मात्रै ४३ गोल तथा असिस्ट गरेका छन् । अनि एट्याकिङ मिडफिल्डमा पनि प्रभावकारी देखिएका छन् । कतिपय खेलमा उनले फल्स नाइनको भूमिका पनि निर्वाह गरेको देखिएको छ । 

सान्चो आफूलाई ‘स्ट्रिट’ फुटबलर मान्छन् । जसरी दक्षिण अमेरिकाबाट कयौँ फुटबलर गल्लीमा खेल्दै हुर्किए, सान्चोको पृष्ठभूमि पनि ठ्याक्कै त्यस्तै छ । सात वर्षको उमेरमा वाटफोर्डको एकेडेमीसँग आबद्ध भएका सान्चो स्थानीय स्तरमा आयोजित प्रतियोगिता खेल्न पुगिहाल्थे । 

‘मैले सडकमा खेलेर धेरै कुरा सिकेको छु । यो मेरो परिचयको अंश पनि हो । सडकमा खेलिने फुटबल फरक हुन्छ । अलि बढी रमाइलो हुन्छ । फुटबल भनेकै रमाइलोका लागि खेलिने त हो,’ सान्चोले डर्टमन्डको आधिकारिक युट्युब च्यानलसँग भनेका छन् । 

सान्चो इंग्ल्यान्डका बाँकी फरवार्ड भन्दा फरक प्रकृतिका छन् । त्यही भएर पनि उनको खेल्ने शैली जर्मन लिगमा फिट भयो । डर्टमन्डबाट युरो हेरिरहेका कयौँको प्रश्न थियो, इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले सान्चोलाई बाँकी इंग्लिस खेलाडीहरूसँग मिलाएर खेलाउन सक्छन् वा सक्दैनन् ? साउथगेटले जवाफ दिए, 'सान्चोलाई एक खेलमा मात्रै पहिलो एघारमा राखेर ।' 

अब जवाफ दिने पालो ओले गनर सोल्स्यारको । ड्रिब्लिङ र गाेल स्कोरिङलाई आफ्नो क्षमता मान्‍ने सान्चोका लागि सोल्स्यारको योजना के ? सायद यो प्रश्नको उत्तर सोल्स्यारले बलियो ढङ्गबाट दिनसके सान्चोको म्यानचेस्टर सहर फर्कने निर्णयले सार्थकता पाउँनेछ । 

   
 


Author

थप समाचार
x