खेलकुद

शालीन भारान युनाइटेडका भान डाइक बन्लान् ?

इकागज |
साउन १७, २०७८ आइतबार १८:५ बजे

काठमाडौँ- राफाएल भारानले रियल म्याड्रिडमा १० वर्ष बिताए । तीन स्पेनी ला लिगा जिते । चार पटक च्याम्पियन्स लिगको विजेता बने । अनि बीचमा फ्रान्सबाट विश्वकप पनि जिते । विश्वकै ठूलो क्लबमध्येको एक मानिने रियलमा कुल तीन सय ६० खेल खेले । फ्रान्सबाट पनि ७९ पटक खेलिसके । क्लब र राष्ट्रिय टिम दुवैबाट टन्नै उपाधि जितेका भारान उत्कृष्ट रक्षक हुन् ? वा रियल स्पेन र युरोपको च्याम्पियन बन्दा भारानको भूमिका उल्लेख्य भूमिका रह्यो ? यी प्रश्न उठेका छन् । 

भारान २८ वर्षका भए । रियलमा रहँदा १८ उपाधि जिते । अब भने उनले घर परिवर्तन गरेका छन् । उनी म्यानचेस्टर युनाइटेडतर्फ हानिएका छन् । उनले रियल छाड्ने हल्ला केही महिना अगाडिबाटै चलिरहेको थियो । युनाइटेड गत वर्ष पनि फ्रान्सेली रक्षकसँग जोडिएको थियो । यस पटक भने स्थान्तरण प्रयास सफल भयो । तर भारानले क्लब छाड्ने हल्ला चलिरहँदा रियल समर्थक चिन्तित देखिएनन् । युनाइटेडसँग अनुबन्ध भएको खबर आउँदा पनि उनीहरूले चित्त दुखाएनन् । न त भारानको कुनै आलोचना नै भयो । जबकि कुनै पनि क्लबका समर्थक आफ्ना खेलाडी अर्को क्लब जान लाग्दा विरोधमा उत्रन्छन् । अनि खुबै आलोचना गर्छन् । 


भारानलाई सम्झौता नविकरणको प्रस्ताव रियलले नराखेको होइन । तर गत फेब्रुअरीमा खेलाडी र क्लब, दुवै पक्ष सम्झौता नविकरण हुन नसक्ने निर्क्योलमा पुगे । रियलले के बुझ्यो भने, भारान स्पेनमा बस्न चाहिरहेका छैनन् । अन्तत: भारानका लागि युनाइटेडले पाँच करोडको प्रस्ताव राख्यो । सम्झौता सकिन एक वर्ष मात्र बाँकी रहेका खेलाडीलाई त्यक्तिको रकम हालेर खरिद गर्ने युनाइटेडको प्रस्ताव इन्कार गरिएन । 

भारानलाई रियलले सजिलै बेच्नुको केही कारणमध्ये एडेर मिलिटाओको लय पनि एक हो । मिलिटाओले गत सिजन गज्जब खेले । त्यही भएर भारान नभए पनि केही फरक नपर्ने निचोडमा पुग्यो, रियल । तर कतिपयको अनुमान थियो, भारानलाई रियलले बेच्दैन किनभने उसले सर्जियो रामोसलाई क्लब छाड्न दिइसक्यो । यस्तोमा भारान र मिलिटाओले मिलेर रियलको रक्षापंक्ति सम्हाल्नेछन् । तर यी अनुमानले फेल खाए । 

भारान आफ्नो बारेमा धेरै चर्चा गर्दैनन् । न त अरुलाई नै गर्ने मौका नै दिन्छन् । यसकारण पनि उनको युनाइटेडतर्फको स्थतान्तरणले खासै चर्चा पाएन । स्थान्तरणबारे प्रेसमा अन्तर्वार्ता पनि दिएनन् । उनको स्वभाव बुझ्न केही अगाडिको उनले दिएको अन्तवार्ता सम्झिए पुग्छ । ‘एकेडेमीमा हुँदा म अरु भन्दा विशेष थिएन । मेरो खेल हेरेर सायदै कसैले सोचेको थियो, म कुनै दिन रियलबाट खेल्नेछु । म ठीकैको मात्र थिए, उत्कृष्ट खेलाडी थिइँन,’ भारानले भनेका छन् ।

तर उनका बारेमा जिनेदिन जिदानले दिएको अभिव्यक्ति पनि उल्लेख गर्नुपर्ने हुन्छ । ‘भारान लाउरेन्ट ब्लान्क जस्तै छन् । एकदमै शान्त । अनि धैर्यतापूर्वक खेल्छन्,’ जिदानले भनेका थिए । 

भारान आक्रामक रक्षक होइनन् । उनी खासै ट्याकल गर्दैनन् । न त मैदानमा अरु खेलाडी जस्तो झगडा नै गरिरहेका हुन्छन् । ‘जब म युवा टिममा थिए, म बलियो मानसिकता भएको खेलाडी थिइँन् । मलाई सबैले भन्थे, म एकदमै शान्त छु । फुटबलमा सफल हुन आक्रामकता चाहिन्छ भनिन्थ्यो,’ भारान भन्छन्, ‘मलाई लाग्छ, मेरो शैली फरक छ । मेरो मान्यता के हो भने, विपक्षीबाट बल खोस्न उनीहरूलाई लडाउनु पर्दैन । न त म नै सजिलै मैदानमा लड्छु ।’

रियलबाट खेल्दा, भारानले जम्मा २७ पहेँलो कार्ड पाए । अनि एक रातो कार्ड । जबकि उनका साझेदार रक्षक रामोसले दुई सय २६ पहेँलो कार्ड र २६ रातो कार्ड खाएका छन् । यी दुई रक्षकले रियलका लागि कयौँ वर्ष सँगै खेले । तर रामोसको खेल शैलीले भारानलाई कहिले पनि छोएन । भारान ड्रेसिङ रुममा समेत चुपचाप रहने रक्षक हुन् । मैदानमा समेत उनको खेल खासै विशेष हुँदैन । उनको खेल साधारण तर परिपक्व देखिन्छ । न त उनी मैदान बाहिर पनि प्रेसको हेडलाईन नै बन्छ । 

रियलकै पूर्वरक्षक अल्भारो अर्बेलोआले केहि समयअघि भारानका बारेमा रोचक टीप्पणी गरेका थिए । ‘उनी एकदमै शान्त छन् । उनी कहिले पनि समस्या सिर्जना गर्दैनन् । स्पटलाइटमा आउन चाहँदैनन् । उनको स्वभाव जस्तो छ, मैदानमा खेल पनि उही प्रकारको हुन्छ । उनी शारीरिकरुपमा बलिया छन् । तिब्र गतिमा खेल्न सक्छन् । उनको खेल साधारण हुन्छ । अनावश्यक कदम चाल्दैनन् । यस्तो लाग्छ उनले केही गरेका छैनन् । तर उनकै साधारण तथा रिस्क नलिने शैलीले टिमलाई गोल खानबाट बचाइरहेको हुन्छ । त्यही भएर त उनले चार–चार च्याम्पियन्स लिग जितेका हुन्,’ अर्बेलोआले भनेका छन् । 

एक समय थियो, जब उनको चर्चा बालोन डोरको सम्भावित विजेताका रुपमा थियो । मिचेल प्लाटिनी समेतले उनले बालोन डोर जित्नु पर्ने प्रतिक्रया दिएका थिए । तर भारानले त्यस्तो चर्चाप्रति खासै रुची देखाएनन् । न त उनले कुनै अन्तर्वार्ता नै दिए । कुनै प्रकारको अभिव्यक्ति पनि दिएनन् । उनको यस किसिमको स्वभाव आजको दिनसम्म पनि कायम छ । यही स्वभावले पनि भारानलाई कयौँ महत्वपूर्ण उपाधि जिताएको छ । उनी बिछिट्टैको प्रतिभा नहोलान्, तर स्थिर खेल देखाउँछन् । 

अबको प्रश्न भनेको के भारान इंग्लिस प्रिमियर लिगको चुनौती सामना गर्न तयार छन् ? नै हो । तर त्यत्तिका संख्यामा स्पेनी लिग र च्याम्पियन्स लिग जितेका रक्षक प्रिमियर लिग खेल्न पक्कै सक्षम छन् । कतिपयले भन्न सक्छन्, रियलमा रोमोससँग खेल्न पाएको भएर, भारानको खेल राम्रो देखिएको हो । तर यहाँ के भुल्न हुँदैन भने, ठूला भिडन्तमा रामोसलाई बचाउने यिनै भारान हुन्थे । 

‘भारान रणनीतिक खेलाडी हुन् । खेलमा सधैँ बुद्धिमता निर्णय लिन्छन् । निर्णायक क्षणमा परिपक्व खेल देखाउँछन् । फेरि उनीसँग विश्वस्तरिय खेलाडीमा हुनुपर्ने प्रतिभा पनि छ । उनको धैर्यपूर्वक खेल्ने शैलीले युनाइटेडलाई पक्कै फाईदा गर्नेछ,’ आर्सनलका पूर्व मिडफिल्डर डेनिस स्वारेजले भनेका छन् । 

‘भारानको बलियो पक्ष भनेको उनी सधैँ एकैनासको खेल देखाउँछन् । रियलमा उनको भन्दा बढी चर्चा रामोसको भएपनि दुवै खेलाडी एअर्काको परिपूरक थिए । प्रिमियर लिग स्पेनी लिग भन्दा फरक छ । प्रिमियर लिगमा डिफेन्डरले थोरै स्पेसमा खेल्नुपर्छ । तर भारान त्यस्तो अवस्थामा पनि खेल्न सक्छन् । भारान युनाइटेडका लागि भर्जिल भान डाइक हुन सक्छन्,’ अलाभेसबाट खेल्ने रक्षक रोड्रिगो एलाई भन्छन् । 

भारान गत सिजन केही साता मैदान बाहिर रहे । उनले प्रत्येक सिजन कुनै न कुनै किसिमको चोट बोकिरहेका हुन्छन् । गत सिजन चोट बाहेक म्यानचेस्टर सिटीविरुद्धको खेलले पनि उजलाई निराश बनायो । रामोससँगै सिटीसँग उत्रेका भारानले मंहगो गल्ती गरे । जसको फाईदा उठाउँदै सिटी अन्तिम १६ बाट अघि बढेको थियो । आफूले गरेको गल्तीमा उनले माफी पनि मागे । ‘यो मेरो हार हो,’ त्यसबखत भारानले भनेका थिए । तर चार पटक च्याम्पियन्स लिग जित्दा उनले कहिल्यै ‘मेरो जित’ भनेनन् । दी गार्डियनबाट 


Author

थप समाचार
x