खेलकुद

क्लबलाई बचाउन मेस्सीलाई जान दिइएको हो : बार्सिलोना अध्यक्ष लापोर्टा

इकागज |
साउन २२, २०७८ शुक्रबार १९:२० बजे

काठमाडौँ- बार्सिलोना र लियोनल मेस्सीबीच औपचारिक रुपमै सम्बन्ध विच्छेद भएको छ । बार्सिलोनाले बिहीबार निकालेको विज्ञप्तीका अनुसार दुवै पक्ष नयाँ सम्झौता गर्न तयार थिए । तर कारणबस मेस्सीको बार्सिलोना बसाइ लम्बिएन । यसै सन्दर्भमा बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाको भनाइ सार्वजनिक भएको छ । उनले मेस्सीको तलब माग सम्बोधन गर्न नसकिएको बताएका छन् । यदि मेस्सीले मागेकै जति तलब दिएको भए बार्सिलानाकै भविष्य खतरामा पर्ने लापोर्टाको दाबी छ । 

के पनि भनिएको छ भने, मेस्सीसँग नयाँ सम्झौता गरेको भए बार्सिलोनाको कमाइभन्दा धेरै रकम खेलाडीको तलबमा खर्च हुने अवस्था बन्थ्यो । मेस्सीबिना पनि बार्सिलोनाको कमाइको ९५ प्रतिशत हिस्सा खेलाडीहरूको तलबमा खर्च भइरहेको छ । उनका अनुसार क्लबको आर्थिक अवस्था स्थिर हुन आम्दानीको ७० प्रतिशतसम्म मात्र खेलाडीहरूको तलबमा खर्च हुनुपर्छ ।  


‘कोही खेलाडी, प्रशिक्षक वा अध्यक्ष भन्दा क्लब नै महत्वपूर्ण हो भन्ने बुझ्न आवश्यक छ,’ लापोर्टाले भनेका छन् । उनको भनाइ मेस्सीलाई राख्दा क्लबलाई आइपर्ने आर्थिक संकटतर्फ लक्षित थियो । 

मेस्सी सन् २००० मा बार्सिलोनासँग आबद्ध भएका थिए । उनले बार्सिलोना बाहेक अर्को क्लबबाट खेलेका छैनन् । छ पटक बालोन डोर जितेका मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौताका विषयमा केही साता यता छलफल भइरहेको थियो ।  ‘हामी सहमतिमा पनि पुगेको हो । तर क्लबको आर्थिक अवस्था यति खराब छ कि हामीले अर्को खेलाडी दर्ता गर्ने स्थिती नै छैन । किनभने हामीले खेलाडीहरूलाई दिने तलबको सीमा नाघ्न लागेको अवस्था छ,’ लापोर्टाले भने ।

बार्सिलोनाका सर्वकालिन उच्च गोलकर्ता रहेका मेस्सीको क्याट्लन क्लबसँगको सम्झौता गत जुनमै सकिएको हो । उनले पछिल्लो पटक सन् २०१७ मा सम्झौता नवीकरण गरेका थिए । जसलाई त्यसबखत विश्व फुटबल कै महंगो सम्झौता भनिएको थियो । फोर्ब्स अनुसार मेस्सी विश्वमै दोस्रो धेरै कमाइ गर्ने खेलाडी हुन् । उनले सन् २०२० मा मात्रै १३ करोड अमेरिकी डलर कमाएका थिए । 

लापोर्टाका अनुसार मेस्सीलाई दुई किसिमको सम्झौता प्रस्ताव गरिएको थियो, दुई वर्ष र पाँच वर्ष अवधि भएको । दुई वर्षको सम्झौता मै सहमति भएको भए पनि, मेस्सीले तलब भने पाँच वर्षको अवधिमा पाउने थिए । 

तर यस किसिमको सम्झौतामा हस्ताक्षर हुन नसक्नुको मुख्य कारण, फाइनान्सियल फेयर प्ले (एफएफपी) हो भनिएको छ । एफएफपीले कुनै पनि क्लबलाई आफ्नो आम्दानी भन्दा बढी खर्च गर्न दिँदैन । एउटा शर्तमा एफएफपीले बार्सिलोनालाई छुन नसक्ने थियो । त्यो भनेको स्पेनी ला लिगाले एक निजी कम्पनीलाई १० प्रतिशत शेयर बेच्ने निर्णयमा सहमति जनाउने । तर लापोर्टाले त्यसमा सहमति जनाएनन् । 

‘यो निर्णयमा सहमत भएको भए क्लबलाई थप आर्थिक नोक्सान हुने थियो । टेलिभिजन अधिकारबाट हुने आम्दानीमा असर पुग्थ्यो,’ लापोर्टाले भनेका छन् । उनले आउँदो सिजन बार्सिलोनाको आर्थिक अवस्था थप खराब हुने पनि बताए । ‘अनुमान गरेको भन्दा धेरै आर्थिक नोक्सान हुनेछ । विगतमा गरिएका निर्णयहरूले क्लबलाई अहिले पनि पीडा दिइरहेका छन्,’ लापोर्टेले भने । 


Author

थप समाचार
x