खेलकुद

कसरी अघि बढ्ला मेस्सीविनाको बार्सिलोना ?

इकागज |
साउन २५, २०७८ सोमबार १३:२ बजे

काठमाडौँ- लियोनल मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौता नहुने खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सन्नाटा छायो । बार्सिलोनाका खेलाडीहरू सदस्य रहेको ह्वाट्सएप ग्रुपमा पनि कसैले बोल्ने हिम्मत गरेन । तर यस्तो स्थिती धेरैबेरसम्म रहन सक्दैन थियो । केही बेरपछि मेस्सीलाई सम्मान र शुभकामनाका सन्देश आउन थाले । 

मेस्सीका लागि सबैभन्दा पहिलो सन्देश आयो, कार्लोस पुयोलबाट । बार्सिलोनामा यत्तिका वर्ष खेलेकामा पुयोलले मेस्सीलाई धन्यवाद दिए । पूर्वकप्तानको सन्देश देखेपछि अरुले पनि सामाजिक सञ्जालमा सन्देश पोस्ट गर्ने हिम्मत गरे । 


‘तिमीले सन् २००५ मा पहिलो गोल गर्दा भाग्यवस म क्याम्प नौउमै थिए । त्यसबेला मैले सोचेको थिइँन, कि कुनै दिन हामी सँगसँगै खेल्नेछौँ । र, केही नबोली नै हामीले एक अर्काको मुभ बुझ्ने छौँ,’ जोर्डी अल्बाले लेखेका छन् । अल्बापछि मेस्सीका लागि सन्देश लेख्ने पालो थियो, सर्जी रोबर्टोको । ‘प्रत्येक क्षण र गोलका लागि धन्यवाद,’

मेस्सीले बार्सिलोनासँगको २१ वर्ष लामो सहयात्रा टुंगाउँदै थिए । उनी अब बार्सिलोनमा रहने छैनन् भन्ने खबर धेरैका लागि अपत्यारिलो थियो । कोपा अमेरिका जितेपछि विश्राममा रहेका मेस्सी फेरि बार्सिलोना फर्कने छैनन् भन्दा उनका साथीहरू खिन्न भए । न त मेस्सी नै खुशी थिए । किनभने उनले आफ्ना समर्थकहरूसँग बिदा माग्ने मौका पाउने स्थिती भएन । ती समर्थकहरू क्याम्प नौउ पुग्ने वातावरण भएन । जहाँ उनीहरूको मेस्सीसँग नजर जुध्ने थियो । 

आइतबारको बिदाइसँगै बार्सिलोनामा मेस्सी युगको अन्त्य भएको छ । मेस्सी अब कता जालान् भन्ने प्रश्न गरिरहँदा अर्को सवाल पनि छ । त्यो भनेको, मेस्सी विनाको बार्सिलोना कसरी अघि बढ्छ ? भन्ने हो । उसै पनि पछिल्ला सिजनहरूमा बार्सिलोना मेस्सीप्रति बढी नै आश्रित थियो । हुन त नेयमारको बर्हिगमन पछि नै मेस्सीले बोक्ने वजन बढेको हो । 

संयोगबस् यी दुवै खेलाडी फेरि एकपटक एउटै जर्सीमा देखिन सक्छन् । मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने हल्ला चर्केको छ । उसो त यो हल्ला नयाँ होइन । मेस्सी र बार्सिलोना नयाँ सम्झौताका लागि छलफलमै रहेका बेला पनि युरोपेली सञ्चार माध्यमहरूले लेखिरहेका थिए ‘मेस्सी पेरिस जान सक्छन्’ । मेस्सीले बार्सिलोनामा थप दुई वर्ष खेल्ने निर्णय गर्नेछन् भन्ने अनुमान भइरहेका बेला जोआन लापोर्टाले घोषणा गरिदिए, कप्तानले क्याट्लोनिया छाड्दैछन् ।    

विगतमा पनि कयौँ खेलमा मेस्सी बार्सिलोनाको टिममा हुँदैन थिए । ती खेलहरूमा बार्सिलोनाले गोल गर्न नसक्दा भन्ने गरिन्थ्यो, ‘मेस्सी भएको भए,’ । अब त यो वाक्य प्रयोग पनि खास अर्थ छैन । किनभने मेस्सी अब केही खेलका लागि मात्र उपलब्ध नहुने होइनन् । 

मेस्सीको अनुपस्थितीले बार्सिलोनामा दुई किसिमको प्रभाव पार्न सक्छ, सकारात्मक र नकारात्मक । हुन त भन्न सकिएला, कुनै पनि कदमले ल्याउने नतिजा यिनै दुईवटा हो । यही सत्य हो । बार्सिलोनामा पनि यही दुईमध्ये एक किसिमको प्रभाव पर्नेछ । 

मेस्सीलाई विश्व फुटबलको सर्वोत्कृष्ट खेलाडी नमान्नेको भन्दा मान्नेको संख्या धेरै छ । स्पेनी ला लिगा र बार्सिलोनामै पनि उनको कद कति अग्लो रह्यो, हामीले देखेकै हो । के पनि भन्ने गरिन्छ भने, मेस्सीसँग खेल्न कयौँ खेलाडी धक मान्थे । सायद नर्भस हुन्थे कि ? जस्तै, एन्टोइन ग्रिजमन । अनि फिलिप्पे कौउटिन्हो पनि । फेरि यी तीनै खेलाडी एउटै ‘स्पेस’मा खेल्न रुचाउँछन् । ठ्याक्कै स्ट्राइकर पछाडि । वा दाँया र बाँया विङबाट विपक्षीको क्षेत्रमा बल लिएर आउन । यसकारण मेस्सी र ग्रिजमन वा मेस्सी र कौउटिन्होलाई सँगै खेलाउनु त्यति सजिलो काम होइन । 

अहिलेको आधुनिक फुटबलमा खुबै चलेको रणनीति हो, ‘प्रेसिङ’ । विपक्षीलाई बल खोस्नै नदिने । उनीहरुले बल खोसिहाले के गर्ने त ? ‘प्रेस’ गर्ने । मतलब, उनीहरूले बल नगुमाउन्जेल दवाब दिइरहने । यस्तो रणनीति मेस्सीका लागि खासै उपयुक्त होइन भन्ने गरिन्छ । यसकारण मेस्सी सहितको बार्सिलोनाले ‘प्रेसिङ’ फुटबल खेल्न सकेन । अब भने यो शैली बार्सिलोनाले प्रयोगमा ल्याउन सक्छ । यद्यपि यसका लागि मेम्पिस डिपे तयार रहनुपर्छ । 

कयौँ वर्ष बार्सिलोनाको रणनीति यस्तो रह्यो, मेस्सीको वरिपरी रहेर खेल्ने । मेस्सीलाई स्वतन्त्रतापूर्वक खेल्न दिने । अब रोनाल्ड कुमनले आफूले चाहेको जस्तो रणनीति बनाउन सक्छन् । अबका दिनमा बार्सिलोना एउटा खेलाडीको भरमा होइन, शैली र संरचनाको भरमा चल्न सक्छ । त्यसैले लापोर्टाले भनेको हुसक्छ, ‘कुनैपनि खेलाडी भन्दा क्लब ठूलो हो,’ तर भन्नैपर्छ, पछिल्लो दशक मेस्सी नै ठूलो थिए । 

आउँदो सिजन बार्सिलोनाले कसरी खेल्ला भन्ने अनुमान भइरहँदा, डिपेको भूमिका उल्लेख्य रहनेछ भन्न सकिन्छ । उनी टिमका ‘क्रिएटिभ लिडर’ हुन सक्छन् । स्वतन्त्रतापूर्वक खेल्ने, गोलका मौका सिर्जना गर्ने र आफैँ पनि गोल गर्ने ध्येयमा डच खेलाडी हुनेछन् । उनीभन्दा पछाडि रहेर खेल्ने खेलाडी हुनेछन्, ग्रिजमन । उसै पनि ग्रिजमनलाई मनपर्ने भूमिका ‘सेकेन्ड स्ट्राइकर’ नै हो । 

मेस्सीको बर्हिगमनले अन्य युवा खेलाडीका लागि पनि सिनियर टिमको ढोका खोल्न सक्छ । ती खेलाडी हुन्, एलेक्स कोलाडो, युसुफ डेमिर र रिकी पुएच । अनि चोटमुक्त हुँदै गरेका अन्सु फाती पनि । म्यानचेस्टर सिटीबाट बार्सिलोना पुगेका सर्जियो अग्वेरो र पहिलेबाटै त्यही रहेका औसमाने डेम्बेले पनि त छन् । यद्यपि डेम्बेले केही महिनाका लागि मैदान बाहिर नै रहनेछन् । 

केही वर्षदेखि नै महसुस गरिएको कुरा के हो भने, बार्सिलोनामा पुर्ननिर्माणको आवश्यकता छ । नयाँ अनुहारहरू थप्नु पर्नेछ । जसले बार्सिलोनालाई पुर्नजागृत गरोस् । तर यस्तो योजना ३४ वर्षीय मेस्सी रहुन्जेल कति सम्भव हुन्थ्यो ? सायद यही प्रश्नले बार्सिलोना डराइरहेको थियो ।  

मेस्सीले क्लब छाडेसँगै बार्सिलोना यो प्रश्नको उत्तर दिन तयार भएको छ । बार्सिलोनाको मिडफिल्ड अहिले पनि निकै बलियो छ । पाका सर्जियो बुस्क्वेट्स र युवाद्वय फ्राङ्की डे योङ र पेड्री सम्मिलत बार्सिलोनाको मिडफिल्ड हेर्न लायकको छ । किशोर गाभी र निको गोन्जालेज आफ्ना अग्रजलाई साथ दिने सम्भावना उत्तिकै छ । यसअर्थमा मेस्सी विना पनि बार्सिलोना रोमाञ्चक टिम हुनसक्छ । यसका लागि बार्सिलोनासँग पर्याप्त खेलाडी छन् । फेरि मेस्सीलाई दिनुपर्ने तलब पनि त बचत हुन्छ । बचत पनि करौडौँ युरो बराबरको । 

तर यति हुँदाहुँदै पनि मेस्सी विनाको बार्सिलोनाले झेल्नुपर्ने समस्या थुप्रै छन् । टिममा अझै पनि सामुएल उमटिटी र मिरालक प्यानिक जस्ता मंहगा खेलाडी छन् । यीनलाई बेच्न बार्सिलोना संर्घषरत छ । क्लबको खर्च कटौती गर्नुपर्ने आवश्यकता रहेका बेला यी खेलाडी कुमनको टिममै रहने हुन् भने, लापोर्टाको टाउको दुखिरहनेछ । 

आर्थिक समस्यामा फसेको बार्सिलोनाका लागि क्याम्प नौउ आम्दानीको प्रमुख स्रोतमध्येको एक हो । तर आउँदो सिजन क्याम्प नौउमा पूर्ण क्षमतामा हुनेछैन । किनभने यसको पुर्ननिर्माण सकिएको छैन । अनि बार्सिलोनाका खेलाडीहरू तलब कटौतीमा सहमत हुन्छन् भन्ने पनि छैन । जसले लापोर्टाको खर्च कटौतीको योजना कार्यन्वयन नहुन सक्छ । 

मेस्सीसँग बार्सिलोनाका समर्थकहरू भावानात्मक रुपमा जोडिएका छन् । बार्सिलोनाका खेलाडीहरू नै पनि मेस्सी समर्थक हुन् । उनीहरू पनि आफ्ना पूर्व कप्तानको बर्हिगमनले भावुक र दुखित छन् । यस्तोमा टिमको मनोबल खस्कन सक्छ । फेरि मेस्सी युरोपेली प्रतिद्वन्द्वी क्लब जाँदा थप निराश हुनेछन् यी खेलाडीहरू । 

केही सिजन यताको प्रदर्शन हेर्ने हो भने, बार्सिलोनालाई युरोपेली क्लब फुटबलमा शीर्ष क्लबमध्येको एक मानिन छाडिएको छ । फेरि बार्सिलोनाको आर्थिक अवस्थाले पार्ने प्रभाव त छँदैछ । उसले अर्को क्लबको स्टार खोस्न सकने अवस्था छैन । जसरी उसले लुइस स्वारेजलाई लिभरपुलबाट खोसेको थियो । बार्सिलोनाका प्रायोजकहरूले पनि भन्न सक्छन्, अब तिमीसँग मेस्सी छैनन् । त्यसकारण हामी उही स्तरको प्रायोजन गर्न सक्दैनौँ ।  

नयाँ सिजन सुरु हुनै लाग्दा अर्को चिन्ता पनि छ , बार्सिलोनाका नयाँ वा युवा खेलाडीहरूले कस्तो प्रदर्शन गर्छन् ? बुस्क्वेट्स र जेरार्ड पिके करियरको उत्तर्राद्धमा पुग्दै गर्दा, उनीहरुको स्थानमा को ? भन्ने प्रश्न पनि छ । युवा रक्षकद्वय एरिक गार्सिया र एमरसनले च्याम्पियन्स लिगमा ठूला क्लबलाई रोक्न सकछन् वा सक्दैनन् भन्ने चिन्ता छ । यसकारण कुमनका अगाडि ठूलो चुनौति छ, सर्वोत्कृष्ट खेलाडी विनाको बार्सिलोनालाई कसरी बलियो बनाउने । 

बार्सिलोनाका लागि मेस्सी कति महत्वपूर्ण रहे भन्ने प्रश्न धेरैले सोध्न सक्छन् । यसको जवाफ पिकेले दिएका छन् । ‘जब मेस्सी टिममा हुन्छन्, हामी मानसिक रुपमा पनि बलियो हुन्छौँ । तर उनको अनुपस्थितीमा पनि त हामीले खेल्नुपर्छ । त्यसकारण उनीविना पनि उत्तिकै बलियो प्रदर्शन गर्न प्रयास गर्छौ,’ पिकेले केही वर्षअघि भनेका थिए । पिकेले भनेजस्तै बार्सिलोनाले मेस्सीविना पनि उस्तै बलियो खेल देखाउने बेला आएको छ । त्यो पनि सधैँका लागि । गोल डटकमबाट 


Author

थप समाचार
x