खेलकुद

केनको निर्णयले हारेको म्यानचेस्टर सिटी

इकागज |
भदौ १०, २०७८ बिहीबार १५:५५ बजे

काठमाडौँ- टोटनहममा उपाधि जित्ने सम्भावना नदेखेपछि ह्यारी केनले नयाँ क्लब रोज्ने निर्णय लिए । गत सिजन इंग्लिस प्रिमियर लिगको शीर्ष चारमै नअटेपछि टोटनहमले च्याम्पियन्स लिग पनि गुमायो । जबकि केही वर्षअघि टोटनहम च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो । 

च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलसँग पराजित भएपनि टोटनहम समर्थक सकारात्मक रहे । उनीहरुले सोचे, यो बस् सुरुवात हो । तर त्यसपछिका सिजनमा टोटनहमले उस्तै लय देखाउन सकेन । यसले पनि केनलाई निराश बनायो । र, उनले सोचे अब नयाँ चुनौतीका लागि तयार हुने बेला भयो । 


यहीबेला म्यानचेस्टर सिटीले २८ वर्षिय स्ट्राइकर अनुबन्ध गर्ने इच्छा व्यक्त गर्‍यो । आफ्ना मुख्य स्ट्राइकर सर्जियो अग्वेरो बार्सिलोना लागेपछि सिटी नयाँ सेन्ट्रल फरवार्डको खोजीमा बजार छिर्‍यो । उसले दुई विकल्प देख्यो, केन र बोरुसिया डर्टमन्डका एर्लिङ हालान्ड । पेप ग्वार्डिओलाले पहिलो विकल्पमै अघि बढ्ने निर्णय गरे । 

तर अब सिटीले केन अनुबन्ध गर्न नसक्ने लगभग पक्का भएको छ । चार महिना लामो हल्लालाई केनले खारेज गरिदिएका छन् । उनले गत बुधबार ट्वीट गर्दै भनेका छन्, म टोटनहममै रहनेछु । केनको यस्तो घोषणाले टोटनहम अवश्य पनि प्रशन्‍न भएको हुनुर्छ । हुन त, सरुवा बजार बन्द हुन छ दिन बाँकी छँदा सिटीले टोटनहमलाई फकाउन सम्भव पनि छैन । 

आफूले चाहेको स्थान्तरण सफल हुन नसकेपछि केनका अगाडि एउटै विकल्प छ, टोटनहमको अभ्यासमा फर्कने र टिममा परी गोल लयमा फर्कने । उनका अघि चुनौती पनि छ, निराश बनेका टोटनहमका समर्थकलाई फकाउने । केन ११ वर्षको उमेरमा टोटनहमका खेलाडी बनेका थिए । अहिलेको टोटनहमका सबैभन्दा ठूला स्टार, केन नै हुन । यसकारण उनको सम्भावित बर्हिगमनले समर्थक निराश हुनु स्वभाविक हो । 

केन र टोटनहम समथर्कबीचको सम्बन्ध पूरानै ठाउँतिर फर्कँदा सिटीको समस्या भने समाधान हुने छैन । किनभने सिटीका लागि नयाँ स्ट्राइकर प्राथमिक आवश्यकता हो । ग्वार्डिओलाले आफ्नो टिमका लागि नयाँ स्ट्राइकर आवश्यक नभएको दाबी गरिरहे पनि सिटी प्रशासन भने केन अनुबन्धनको आशमा थियो । ग्वार्डिओला आफैँ पनि केनको खबरले उत्साहित थिए । 

सिटीले केनको आशा गरे पनि टोटनहमका अध्यक्ष डानियल लेभी स्थान्तणको बाधक बने । लेभीको परिचय, कठोर सम्वादकर्ताको छ । केन विक्रिका लागि लेभी तयार देखिएनन् । दी एथ्लेटिकका अनुसार सिटीले गत जुनमा केनका लागि ७ करोड ५० लाख पाउन्डको प्रस्ताव राखेको थियो । सिटीले आफू १० करोड पाउन्ड पनि तिर्न तयार रहेको सन्देश पठायो । तर लेभी टसमस भएनन् । स्थान्तरणका लागि केनले आफ्नो ठाउँबाट प्रयास गरेपनि, लेभीको प्रतिरोधका कारण सिटीको केही चलेन । 

केनले गत मेमा एक अन्तर्वार्तामा आफू उपाधि जित्ने क्लब जान चाहेको बताएका थिए । उनको यस्तो अभिव्यक्तिले टोटनहम समर्थक स्तब्ध बने । अभ्यासका लागि पनि उनी समयमै क्लब फर्केनन् । बरु लेभीसँग आफ्नो जेन्टलमेन एग्रिमेन्ट रहेको बताइरहे । तर केनसँग अभ्यासमा फर्कने बाहेकको विकल्प थिएन । किनभने टोटनहमसँग उनको तीन वर्ष लामो सम्झौता बाँकी नै थियो । यस्तोमा उनलाई बेच्न टोटनहमलाई कर थिएन । 

केनको पछिल्लो अभिव्यक्तिपछि सिटी निचोडमा पुगेको छ, अब टोटनहम स्ट्राइकरलाई खरिद गर्न सम्भव छैन । यस्तोमा सिटीका अगाडि सीमित विकल्प उपलब्ध छन् । जस्तै, क्रिस्टियानो रोनाल्डो । पोर्चुगलका कप्तानले युभेन्टस छाड्न चाहेको खबर आइरहेको छ । पछिल्लो हल्ला के छ भने, सिटीको नजर रोनाल्डोमाथि छ । केही साताअघि लियोनल मेस्सी पनि उपलब्ध थिए । सिटीले गत सिजन नै मेस्सीलाई अनुबन्ध गर्न चाहेको थियो । यसपटक उनी स्थान्तरणका लागि तयार भए । तर केन केन्द्रित सिटीले मेस्सी खरिद लागि चासो देखाएन । अन्ततः मेस्सी पेरिस सेन्ट जर्मेन पुगे । 

सिटीसँग अर्को विकल्प पनि थिए, रोमेलु लुकाकु । तर लुकाकु पनि चेल्सी फर्किसकेका छन् । सिटीका लागि रोबर्ट लेवान्डोस्की अर्का विकल्प हुनक्छन् । लेवान्डोस्की आफैँले पनि नयाँ चुनौतीका लागि तयार रहेको बताएका छन् । जर्मन बुन्डेसलिगामा लगातार गोल्डेन बुट जितिरहेको लेवान्डोस्कीले ग्वार्डिओलाको प्रशिक्षणमा खेलिसकेका छन् । यसकारण उनी पुनः ग्वार्डिओलासँग जोडिन लालायित छन् । तर यसपटक भन्दा पनि सिजनको अन्त्यमा मात्र लेवान्डोस्कीले बायर्न छाड्ने सम्भावना प्रबल छ । 

सिटीसँग नयाँ स्ट्राइकर खरिदका लागि पर्याप्त आर्थिक स्रोत छ । यसै सरुवा बजारमा सिटीले ज्याक ग्रेलिसका लागि करिब १० करोड पाउन्ड खर्च गरेको छ । फेरि उसले बर्नादो सिल्भा पनि बेच्न खोजिरहेको छ । पोर्चुगिज मिडफिल्डर सिल्भाको विक्रिबाट उठेको रकम सिटीले नयाँ खेलाडीमा खर्च गर्न सक्छ । सिल्भा र रोनाल्डोका एजेन्ट एकै हुन् । जसको नाम हो, जोर्ज मेन्डेस । मेन्डेस आफ्ना दुई स्टारका लागि नयाँ क्लब खोजिरहेका छन् । यस्तोमा मेन्डेसले एउटा पोर्चुगिज सिटीबाट निकालेर अर्का पोचुगिज त्यहाँ पठाउन सक्छन् । 

केनलाई भित्र्याउन नसकेपछि गवार्डिओलाले भन्न सक्छन्, भएकै खेलाडीबाट काम चलाउ । यदि सिटीले नयाँ फरवार्ड खरिद नगरे, उसले नयाँ शैली अपनाउन सक्छ । त्यस्तो शैली, फल्स नाएनको हुनेछ । फलस नाएन बन्न सिटीमा फेरान टोरेस र रहिम स्टर्लिङ जस्ता खेलाडी छन् । यी खेलाडीलाई अग्रपंक्तिको जिम्मा दिँदा नम्बर १० को भूमिकामा नयाँ खेलाडी ग्रेलिस हुनसक्छन् । फेरि गाब्रियल जिजसलाई पनि भुल्न मिल्दैन । नयाँ सिजनको सरुवात हुँदा जिजसले सकारात्मक संकेत दिइरहेका छन् । 
तर लुकाकु सम्मिलित चेल्सी, उत्साहित म्यानचेस्टर युनाइटेड र योर्गेन क्लपको लिभरपुलसँग स्थापित स्ट्राइकरविनाको सिटी भिड्न सक्ला ? ग्वार्डिओलाले सामना गरिरहेको प्रश्न हो यो । 


Author

थप समाचार
x