खेलकुद

पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपः वागमतीसँग एनआरटी स्तब्ध

पाँचौ-मुख्यमन्त्री-सुदुर

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:० बजे

धनगढी–धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा सर्लाहीको वागमती युवा क्लब क्वाटरफाईनल प्रवेश गरेको छ । ए डिभिजन क्लब न्युरोड टीम (एनआरटी) लाई स्तब्ध पार्दै वागमतीले अन्तिम आठको यात्रा तय गरेको हो । धनगढी रंगशालामा शुक्रबार भएको खेलमा २–० को अग्रता जोगाउन नसक्दा एनआरटी वागमतीसँग पेनाल्टीमा ४–३ ले पराजित भयो ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा २÷२ गोलको बराबरी खेले । खेलको ६८ औं मिनेटमा एनआरटीका स्टेफेन समीरले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । ७५ औं मिनेटमा एनआरटीकै लागि स्टेफेन समीरले पेनाल्टीबाट गोल गर्दै एनआरटीको अग्रता दोब्बर पारे। एनआरटीका दिनेश घलेलाई वागमतीका अभिषेक वाईबाले लडाएपछि पेनाल्टी दिईएको थियो ।

खेलको ८३ औं मिनेटमा वागमतीका लागि विमल घिसिङले गोल गर्दै खेललाई २–१ को अवस्थामा पु¥याए । त्यसको दुई मिनेटपछि खेलको ८५ औं मिनेटमा वागमतिका कप्तान विजय घलानले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।

निर्धारित समय बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका वागमतिका गोलरक्षक मनोज प्रधान म्यान अफ द म्याच भए । उनले नगद १० हजार प्राप्त गरेको प्रतियोगिताका म्याच कमिस्नर शिशिर हमालले जानकारी दिए ।

खेलपछि प्रतिक्रिया दिदैं वागमती युवा क्लबका प्रशिक्षक रोजित केसीले ए डिभिजन क्लबलाई हराउँदा खुशी लागेको बताउँदै कम अनुभवी खेलाडीहरुले उत्कृष्ट खेलेको बताए । ‘हामी सी क्वालिफाईको तयारीमा रहेका छौं । खेल अनुभवका लागि खेलेका थियौं । नतिजा पनि जित नै आयो । खेल जित्छौं जस्तो लागेको थियो । नतिजा पनि हाम्रै पक्षमा आयो ।’ प्रशिक्षक केसीले भने–‘एनआरटीले पनि राम्रो खेल्यो । हामी नआत्तिएर काउन्टर अट्याकमा गोल गर्ने रणनितिमा खेल्यौं । त्यही नजिताले अघिल्लो चरणमा बढ्यौं ।’

एनआरटीका प्रशिक्षक राजुकाजी श्रेष्ठले भने आफ्नै खेलाडीहरुको गल्तीका कारण दोब्बरको अग्रता बराबरीमा आउँदा खेल गुमेको बताए । खेलाडीहरुको प्रदर्शनबाट सन्तुष्ट छैन । हाम्रा खेलाडीहरुले जुन अनुभव देखाउनु पथ्र्यो त्यो देखाउन सकेनन् ।’ प्रशिक्षक शाक्यले भने–‘हामी खेल जित्नैपर्ने प्रेसरमा थियौं । वागमतीलाई त्यो थिएन । त्यही प्रेसरले दुई गोलको अग्रता जोगाउन सकेनौं । पेनाल्टीमा नतिजा विपक्षीको पक्षमा गयो ।’

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा शनिबार हिमालयन शेर्पा क्लब र जनजागृति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।



Author

थप समाचार
x