खेलकुद

पीएनजीलाई पराजित गर्दै नेपाल फाइनलमा, करणको ह्याट्रिक

इकागज |
चैत १७, २०७८ बिहीबार १६:२ बजे

काठमाडौं – नेपाल त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ । त्रिवी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी) लाई ३७ रनले पराजित नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालको लागि यो ऐतिहासिक जित पनि हो । नेपालले आफ्नो ५० औं टी–ट्वान्टी खेल जित्न सफल भएको छ । 

बिहीबार नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजीले निर्धारित १९ ओभरमा ४ बलमा अलआउट हुदै १ सय ६६ रन मात्र जोड्न सक्यो । 
पीएनजीका लागि चाल्र्स अमिनीले सर्वाधिक ६२ तथा टोनी उराले ४३ रनको योगदान गरे । अमिनीले ४७ बलको सामना गर्दा ९ चौका तथा उराले २२ बल खेल्दा दुई चौका र चार छक्का प्रहार गरे । सेसे बाउले २५ रन बनाए । 


नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए । करणले अन्तिम ओभरमा ह्याट्रिक समेत पुरा गरे । अविनाश बोहरा र सोमपाल कामीले समान दुई–दुई विकेट हात पारे । कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन जोड्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान गरे । दिपेन्द्रले ३३ बलको सामना गर्दा तीन चौका र चार छक्का हिर्काए । दिपेन्द्रको यो चौथों अर्धशतक हो । दिपेन्द्रले १८ औं ओभरमा नोरमन भानुआलाई लगातार तीन छक्का प्रहार गरेका थिए । 

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका आदिल अन्सारीले विष्फोटक ब्याटिङ गर्दै ११ बलमा ३१ रन जोडे । उनले एक चौका र तीन छक्का प्रहार गरे ।  रोहित पौडेलले २३ बलमा ४१ रन जोडे । उनले चार चौका र दुई छक्का हिर्काए । 

आशिफ शेखले २९ बलमा ३८ रन बनाए । आशिफले चार चौका र एक छक्का प्रहार गरे । पीएनजीका लागि काबुआ मोरियाले तीन विकेट लिए । रिले हेकुरेले दुई तथा नोरमन भानुआ र नोसाइना पोकानाले एक–एक विकेट हात पारे । 

सिरिज अन्तर्गत नेपालको यो लगातार तेस्रो जित हो । यस अघि नेपालले पहिलो खेलमा पीएनजीलाई नै १५ रन तथा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
नेपालले तीन खेलबाट ६ अंक जोड्दा तथा मलेसियाको २ अंक रहेको छ । पीएनजी अंकविहिन छ । 
 


Author

थप समाचार
x