खेलकुद

नेपालले जित्यो त्रिकोणात्मक टी–ट्वान्टी सिरिज

इकागज |
चैत २१, २०७८ सोमबार १५:४४ बजे

काठमाडौँ – त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले चार विकेट लिनुका साथै अर्धशतक समेत पुरा गरे । 

जितका लागि १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १६ ओभर १ बलमा अलआउट हुदै १ सय १८ रनमा सिमित भएपछि फाइनल नेपालले जितेको हो । पीएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रन जोडे ।


नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ विकेट हात पारे । कप्तान सन्दीप लामिछाने दुई विकेट चट्काए ।  

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८  रन जोडेको थियो । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रनको योगदान गरे । उनको यो पा“चौ अर्धशतक हो । उनी नेपालका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् । 

करण केसीले १२ बलमा अविजित ३३ रन बनाए । ओपनर आशिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन जोडे । आरिफ शेख र दिलिप नाथ शून्य रनमै आउट भए । आदिलले १५ रन जोडे । 

पीएनजीका सेमो कामेयाले एकै ओभरमा ३ विकेट लिएका थिए । उनले ११ औं ओभरमा आशिफ, आरिफ र दिलिप नाथको विकेट हात पारेका थिए । चाड सोपर, काबुआ मोरिया र रिले हेकुरेले एक–एक विकेट लिए ।
 


Author

थप समाचार
x