खेलकुद

कतारले गरेको मानवअधिकार उल्लंघनको फाइदा उठाउँदै दक्षिण एसियाली फुटबल संघहरू

सञ्जीव शाह |
बैशाख २९, २०७९ बिहीबार १६:२ बजे

काठमाडौँ –  गार्जियनले गत वर्ष गरेको रिपोर्टिङमा कतारले विश्वकप फुटबल आयोजना गर्ने सुनिश्चित भएयता ६ हजार ५ सय भन्दा बढी विदेशी कामदारको मृत्यु भएको तथ्यांक प्रस्तुत गरेको थियो । 

तथ्यांक अनुसार मृत्यु हुने सबै कामदार नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका रहेका थिए । जसमध्ये भारतका २ हजार ७ सय ११, नेपालका १ हजार ६ सय ४१, बंगलादेशका १ हजार १८, पाकिस्तानका ८ सय २४ र श्रीलंकाका ५ सय ५७ जना रहेका थिए । 


सन् २०१० मा कतारले २०२२ मा विश्वकप आयोजना गर्ने सुनिश्चित भएपछि यी दक्षिण एसियाली मुलुकका कम्तिमा १२ कामदारको प्रत्येक हप्ता मृत्यु भएको विश्लेषण गरिएको छ । उनीहरू अधिकांशको मृत्यु प्राकृतिक कारणले हुने गरेको प्रतिवेदन सार्वजनिक गरिने गरिएको छ । 

तर अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले कतारले विश्वकपको लागि निर्माण गर्ने भौतिक पुर्वाधारका क्रममा व्यापक मानव अधिकार उल्लंघन गरिररहेको प्रतिवेदनहरू सार्वजनिक गर्ने क्रम जारी राखेका छन् । जसलाई कतारले भने अस्वीकार गर्दै आएको छ । 

कतारमाथि मानव अधिकार उल्लंघनको आरोप तर दक्षिण एसियाली फुटबल संघहरू किन चुपचाप ?

कतारले विश्वकपका लागि निर्माण गरेको फुटबल पूर्वाधारका लागि दक्षिण एसियाली मुलुकहरू नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानबाट ठूलो संख्यामा कामदार लगेको छ । अर्को तर्फ कतार फुटबल संघ तथा कतारले यी देशहरूलाई चौतर्फी सहयोग गर्दै आएको छ । अझ विश्वकप नजिकिदै गर्दा उक्त सहयोगमा वृद्धि हुदै गएको छ । जसका कारण कतारले गरेको मानव अधिकार उल्लंघनका घटनामा दक्षिण एसियाली फुटबल संघहरू भने मौन रहने गरेका छन् । फलस्वरुप यी संघहरूले फाइदा उठाउन सफल भएका छन् ।

नेपालः कतारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रो-लाइसेन्स प्रशिक्षक अब्दुल्लाह अलमुताइरी उपलब्ध गराएको छ । त्यो पनि तीन वर्षका लागि । अलमुताइरीको तलब एन्फाले तिर्नु पर्दैन, केवल बस्ने र खाने सुविधा उपलब्ध गराए पुग्छ । 

त्यसैगरी, एन्फाको कुनै खर्च विना नै कतारले नेपाली राष्ट्रिय खेलाडीहरू विजय लामा, विशाल मगर, विमल घर्ती मगर र सावित्रा भण्डारीलाई कतारको अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराएको छ । एन्फाले जनाए अनुसार उनीहरूको उपचारमा १ करोड भन्दा बढी प्रति खेलाडी लाग्ने अवस्था रहेको थियो, जुन कतारले नि:शुल्क गर्‍यो। 

एएफसी एसियन कपको तेस्रो चरणको छनोट अघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्दै त्यो पनि कतारमा । यता कतार एयरवेजले सहिद स्मारक ए डिभिजन लिगलाई मुख्य प्रायोजकको रुपमा प्रायोजन गर्दै आएको छ । 

श्रीलंकाः बुधबार नै श्रीलंका फुटबल संघलाई कतारको अस्पायर फाउन्डेसनले आगामी ३ वर्षका लागि पुरुष राष्ट्रिय फुटबल टिमका लागि मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक उपलब्ध गराएको छ । एन्डी मरिसनलाई मुख्य प्रशिक्षक तथा किथ स्टेभेन्सलाई सहायक प्रशिक्षक नियुक्त गरिएको छ । श्रीलंकाको फुटबल अर्को स्तरमा पुर्‍याउने उद्देश्य भन्दै प्रशिक्षकको नियुक्ति गरिएको जनाइएको छ । 

पाकिस्तानः कतारले पाकिस्तानको फुटबल विकासका लागि टेक्निकल तथा व्यावसायिक सहयोग प्रदान गर्दै आएको छ । कतारले पाकिस्तानको युवा फुटबल विकास, महिला फुटबलको विकास र प्रशिक्षकहरूको प्रशिक्षणमा सहयोग गरिररहेको छ । अर्को तर्फ फिफा विश्वकपको सुरक्षाका लागि कतारले पाकिस्तानी सेनाको सहयोग लिने जनाइसकेको छ ।

भारतः हुन त भारत आफैमा सक्षम भएपनि फिफा विश्वकपका लागि कतारको सहयोगमा भारतको पञ्जावमा जेनेरेसन एमेजिङ जेगेसी प्रोजेक्ट संचालन गरियो, जस अन्तर्गत बालबालिकाका लागि फुटबल पिचको निर्माण गरियो । 

अर्कातर्फ भारतीय फुटबल टिमलाई विश्वकप तथा एसियन कप छनोटका लागि कतारमा बन्द प्रशिक्षणका लागि व्यवस्था मिलाइएको थियो र यसका लागि भारतको फुटबल संघले खुलेरै धन्यवाद व्यक्त गर्यो । त्यतिमात्र नभएर कतारमा भारतीय टिमका लागि १० दिनको अनिवार्य क्वारेन्टाइन नै हटाइयो । 

बंगलादेशः फिफा विश्वकप छनोट अघि बंगलादेशले कतारमा स्थानिय क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्ने अवसर प्राप्त गर्यो । कतारले अन्यदेशका कामदारसँगै बंगलादेशी कामदारले २०१८ को फिफा विश्वकपका लागि रुस जाने अवसर समेत जुटायो ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x