कूटनीति : पञ्चायतमा बलियो, प्रजातन्त्रमा खै के, खै के !
यो ३०-३० स्तम्भ इकागजडटकमको सुरु दिनदेखिको विशेष शृंखला हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि अहिले ठ्याक्कै ३० वर्ष पूरा भएको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौं, केमा चुक्यौं ? अध्येता-अनुभवीका समीक्षात्मक अभिव्यक्ति यस स्तम्भमा शृंखलाबद्ध रूपमा प्रकाशन भइरहेका छन् । प्रस्तुत छ, सन् ट्वेन्टी ट्वेन्टीमा डा. भेषबहादुर थापाको थर्टी-थर्टी बहस :
नेपालमा बीपी कोइरालाको सरकार हुँदाताका वि.सं. २०१७ मा म अमेरिकामै रहेर औपचारिक अध्ययन पूरा गर्ने तर्खरमा थिएँ । त्यही वर्षको वैशाखमा राजा महेन्द्रबाट अमेरिकाको भ्रमण हुने कार्यक्रम रहेछ । भ्रमणकै क्रममा राजा क्यालिफोर्निया आइपुगे । राजा महेन्द्रमा जुन मुलुक पुगे पनि नेपालीको खोजी गर्ने बानी रहेछ । अनि, नेपालीलाई भेट्न बोलाउने र मुलुक फर्केर सेवा गर्नुपर्छ भन्दै उत्साहित गर्ने शैली पनि ।
क्यालिफोर्नियामा राजाको भ्रमण हुँदा त्यहाँ जम्माजम्मी तीन जना थिए, मेरो जानकारीमा भएसम्म । उनले हामीलाई बोलाउन लगाएका थिए । मेरो विश्वविद्यालयका प्राध्यापकमार्फत सोधेपछि मलाई खोज्न पठाएका रहेछन् । म राम्रो विद्यार्थीमध्ये पर्थें । प्राध्यापकसँग जानकारी लिएकै कारणले होला भेट्नेबित्तिकै राजाले भने, ‘तिमी के गर्दैछौ, कसो छ ? के पढ्दै छौ । कतै यतै बस्ने सोच त छैन ? यदि यतै बस्ने सोच छ भने त्याग्नू । पढाइपछि यतै अलमलिनु हुन्न ।’ तिनताका बाहिरी दुनियाँमा नेपालीहरुको पहुँच कमै थियो । त्यसमाथि पनि उच्च शिक्षाका लागि बाहिर जानेहरु औँलामा गन्न सकिन्थ्यो ।
राजाले विदेशतिर रहेका व्यक्तिलाई नेपाल फर्काउने र मुलुकको विकासमा उपयोग गर्ने सोच राखेको बुझ्न मलाई त्यो भेट सहयोगी भयो । राजाले यस्तै भनेका थिए, ‘राम्रो पढेका रहेछौ । पढाइ सकेपछि मुलुक फर्केर विकासका काममा लाग्नुपर्छ । नेपाली बाहिर बिलाउनु हुँदैन । अमेरिकामा सिक्ने त्यो ज्ञानको उपयोग आफ्नै मुलुकमा गर्ने हो । आफ्नो मुलुक आफ्नै हुन्छ ।’
राजाबाट मेरो भावी योजनाबारे सोधीखोजी भयो । दक्ष र योग्य व्यक्ति उपयोग गर्ने दृढ चाहना उनमा देखियो । तर, भनिने र गरिने फरक हुन्छ भन्ठान्दै राजाका भनाइलाई पनि मैले हल्का रुपमै लिएँ । उनको भित्री आकांक्षा बुझ्ने कुरा पनि भएन । मेरो छ महिनाको अध्ययन बाँकी थियो । अध्ययन सकेपछि बाटो खर्च कमाएर फर्कने योजना राजालाई सुनाएँ । उनले दोहोर्याई तेहर्याई भने, ‘बाटो खर्च म पठाइदिन्छु । पढाइ सकिएको जानकारी दिनू ।’
नेपालको हितानुकूल महेन्द्रको प्रयास राम्रो थियो । इन्दिरा गान्धीको चाहना के थियो, त्यसबारे मैले भनिरहनु पर्दैन ।
राजाका त्यो कुरा सामान्यझैं लागेको थियो । भेटमा यस्तो भन्नु स्वाभाविक भएको ठानेँ । एक दिन विश्वविद्यालयका साथीहरूले नेपालमा ‘कू’ भएको सुनाए । म त बेखबर थिएँ । उनीहरूले भने, ‘तिम्रो देशमा सैनिक ‘कू’ भयो कि राजाले ‘कू’ गरे, त्यो स्पष्ट भएको छैन । तर निर्वाचित सरकार अपदस्थ गरिएको खबर छ ।’
त्यतिबेला नेपालमा सम्पर्क गर्नु सजिलो थिएन । तर पनि अनेकन् उपाय गरी दूतावासमा सम्पर्क गरेँ । राजदूत ऋषिकेश शाह त मन्त्री हुन नेपाल हिँडिसकेको खबर पाएँ । राजाले सत्ता लिएको र नयाँ मन्त्रिमण्डल बनाएको थाहा पाएँ । मेरो पढाइ सकिने क्रममा थियो । म त्यसैमा व्यस्त रहेँ । तर, केही दिनपछि राजाले मलाई योजना परिषद्को सचिवमा नियुक्त गरेको टेलिग्राम पाएँ । मलाई कुनै पूर्वसूचना थिएन । सुन्दा त ठट्टा पो हो कि झैं पनि लाग्यो । तर, टेलिग्राममा दरबारका तत्कालीन सचिव हंशमान सिंहको नाम र हस्ताक्षर भएका कारण त्यो मिथ्या नभएको अड्कल गरेँ ।
म त्यो पत्र लिएर मेरा प्राध्यापककहाँ गएँ । उनलाई देखाएँ । उनी खुसी हुँदै सबैतिर खबर गरे । उनले यस्तै भने- यति ठूलो पद एकैचोटि कसैले पाउँदैन, त्यो पनि यो उमेरमा । प्राध्यापकबाट सल्लाह पाएँ, ‘अवसर नगुमाऊ, तिमी आफ्नै मुलुक फर्क र सक्रिय ढंगले काम गर ।’ त्यतिबेला म २५ वर्षको मात्र थिएँ । चिठीसँगै पछि नेपाल फर्किने टिकटसमेत आयो ।
म आर्थिक विकासको खाका र मुलुक निर्माणको सन्दर्भ सोच्दै फर्किएँ । म सैन्य पारिवारिक पृष्ठभूमिको मानिस थिएँ । मुलुक जोड्न र जोगाउन मेरो परिवारको भूमिका पनि थियो । परिवारमा सबै सदस्य राज्य संयन्त्रसँग कुनै न कुनै रुपले जोडिएका थिए । म विद्यार्थी जीवनदेखि नै कसरी राम्रोसँग पढ्ने र उनीहरूकै हाराहारीमा कसरी पुग्ने भन्नैमा थिएँ । नेपाल फर्केर सिंहदरबार पुगेर पदवहाली गरेँ । राजा आफैँ आयोगका अध्यक्ष थिए । त्यसरी नियुक्ति पाएपछि म त्यसयताको साठी वर्षदेखि कुनै न कुनै भूमिकाका कारण शासनको नजिकै छु ।
महेन्द्र र विकासको जग
यो मुलुक जोड्ने र समेट्ने काम राजा पृथ्वीनारायण शाहबाट भयो । त्यो बेला मुलुक एक बनाएकै कारण बेलायती साम्राज्यबाट नेपाल बच्यो । तर राणाहरूले पारिवारिक स्वार्थमा उपयोग गरी मुलुकलाई विकासमा अघि बढ्न दिएनन् । यद्यपि समय सुहाउँदो कूटनीतिक शैली अवलम्बन गरेर मुलुक बचाए । टिस्टादेखि काँगडासम्म पुगेको नेपालको भू-भाग गुमे पनि अहिलेको नेपाली भूभाग बचाए ।
युरोपबाट उदाएको साम्राज्यवादी रणनीतिले छिमेकी भारतसमेत ब्रिटिसको शासनमा पर्यो । बेलायतीले तत्कालीन भारत (हाल भारत, पाकिस्तान र बंगलादेश)मा लामो समय राज गरे । पोर्चुगिज, फ्रेन्चको राज पनि टापु–टापुमा थियो । त्यसरी हेर्दा पृथ्वीनारायण शाहले मुलुक एकीकृत नगरेको भए हामी पनि छिन्नभिन्न हुने थियौँ । उनले सुनिश्चित गरिदिएको भू-भाग नै अहिलेको हाम्रो हो ।
नेपाल निकै पुरानो राज्य हो । सुगौली सन्धिपछि बाँकेदेखि कञ्चनपुरसम्मको भूमि फिर्ता गर्नुबाहेक नेपालले सीमा फैलाउन सकेन र नेपाल खुम्चिएन पनि । राणाहरूले शाहलाई ओझेलमा राख्दै शासन गरे । त्यो समयमा मुलुकलाई बचाउने काम भयो, तर विकासको काम अघि बढेन ।
२००७ को क्रान्ति हुँदा म दरबार हाइस्कुलमा पढ्ने स्कुले विद्यार्थी थिएँ । राणाशासन त हट्यो । तर, बल भारतको पोल्टामा गयो । राजा त्रिभुवनले राणा शासन हटाउन भारतको साथ मात्र लिएनन् कि आफू पूरै उतै लचक बनेको संकेत दिए । जुन दृश्य महेन्द्रलाई मन परेको थिएन । उनले यो हामीसँग पटक-पटक सुनाउने गर्थे । राणालाई हटाउन आवश्यक थियो । तर भारतीयलाई हालीमुहाली गर्न दिनु राम्रो होइन भन्ने उनको भाव बुझिन्थ्यो । प्रजातन्त्रविरुध्द गए भन्ने आमधारणा रहे पनि राजा महेन्द्र हरेक नेपालीको मनमा रहन सकेका छन् । नेपालको विकासको जग राख्ने र बाह्य दुनियाँसँग सहकार्य गर्ने सोच र व्यवहार राजा महेन्द्रको योगदान हो ।
बाङडुङ सम्मेलनभन्दा पहिले हाम्रो कूटनीतिक सम्बन्ध विस्तार भएको त थियो, तर सक्रिय ढंगले अघि बढ्न सकेको थिएन ।
राणाहरुबाट बेलायती साम्राज्यलाई खुसी पारेर आकार जोगाउने काम भयो । साम्राज्य ज्यादै बलियो हुँदै गएको बेलामा अपनाएको कूटनीति स्वागतयोग्य मान्नुपर्छ । लुकेर होस् या रिझाएर आफ्नो स्वामित्व कायम गर्ने कुनै अभियानमा नलाग्ने नीतिले गर्दा हामी स्वतन्त्र रहन सक्यौं । राणाकालमा नेपालको कूटनीतिक भनौँ या दौत्य सम्बन्ध बेलायतसँग मात्र थियो । नेपालको झण्डा नयाँ दिल्लीमा मात्र होइन, लन्डनमा पनि फहराउँथ्यो ।
बेलायतले नेपाललाई हेर्ने दृष्टिकोण चानचुने थिएन । त्यो भ्रम दिन सकेका थिए, राणाहरूले । भारतसँग त्यही अवस्था कायम गर्न सक्नुपर्थ्यो । तर, राणा धपाउने आन्दोलनमा भारतको साथ खोज्दा धेरै लत्तो छाड्ने काम भयो । त्यसलाई पूर्ववत् अवस्थामा फर्काउन खोज्ने क्रममा सत्तरी वर्ष बितिसकेको छ । त्यसकै प्रतिफल भोगिरहेका छौँ, अहिले हामी । सन् १९५१ भन्दा अघि बेलायतसँगै नेपाल अघि बढेको थियो । अमेरिकाले नेपाललाई हेर्ने आँखा बेलायती थियो । बिस्तारै त्यो आँखा नयाँ दिल्ली सरेको भाव व्यक्त हुन्छ ।
आधुनिक विश्वमा प्रवेश
नेपाल आधुनिक संसारमा प्रवेश गरेको सन् १९५० पछि मात्र हो । त्यस बखतका विद्वानहरूले नेपाललाई अघि बढाएका हुन् । यद्यपि राजा त्रिभुवन प्रजातन्त्र स्थापनापछि महत्वाकांक्षी र सक्रिय भएको देखिएन । हुन त उनी प्रजातन्त्र स्थापनापछि जम्माजम्मी चार वर्ष मात्र बाँचे । तर, उनले बेलायतसँगको सम्बन्ध अनुरूप भारतसँग सम्बन्ध विस्तार गर्न सकेनन् । महेन्द्र राजा भएसँगै नेपाल कूटनीतिक, राजनीतिक र विकासको युगमा प्रवेश गरेको हो । राजा आरम्भमा शक्तिमान पनि थिएनन् भने राजनीतिक दलको पनि त्यति शक्ति प्रदर्शन भएको थिएन । जनतामा खासै राजनीतिक चेतना थिएन ।
त्यतिबेला ‘टग अफ वार’ भनेको राणासँग रहेका व्यक्ति, भारतमा निर्वासनमा रहेका एवं भारतीयसँगको उठबस भएका र राजा महेन्द्रबीच थियो । जनतामा त्यस्तो कुनै ठूलो उत्साह र उमंग थिएन । २०१६ मा दुई तिहाइको सरकार र बीपी कोइराला प्रधानमन्त्री भए पनि राज्य सञ्चालनमा जनताको भूमिका प्रभावकारी थिएन । यद्यपि बीपीले जनमुखी काम अघि बढाएका थिए । जनआकांक्षा चुलिँदै थियो भने सँगै नेपालमा बाह्य दृष्टि फरक ढंगले विकास भयो ।
मुलुकको अस्तित्व खतरामा पर्ने अवस्था बनेको टिप्पणीसहित ‘जोगाऊँ’ भन्दै महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गर्नुपरेको धारणा हामीसँग राखेका थिए । पछि राजा महेन्द्रले मसँग भनेका थिए, ‘मलाई सत्ता लिएर शासन गर्ने इच्छा होइन । तर, मुलुक बचाउन सत्ता लिएको हो । जनताको नासो बुझाउनेछु । एउटा जग हालेर बुझाउनेछु ।’
उनको संकेत थियो, भारतीय नेतृत्वको आकांक्षाले गर्दा मुलुक खतरनाक मोडमा पुगेको छ । सचेत रहेर अघि बढ्न आवश्यक भएको धारणा उनी व्यक्त गर्थे । भारतीय नेतृत्वको सोचबाट राजा महेन्द्र सतर्क थिए । त्यहीकारण पनि उनले नेपाललाई बाह्य जगत्मा उपस्थिति बाक्लो बनाउने रणनीति लिएका हुन् । नेपालले विश्व नियाल्न र विश्वले नेपाल चियाउन उनकै शासनकालदेखि बढेको हो । हुन त, त्यो शीतयुद्धको प्रारम्भको समय थियो ।
नेपालको विकासको जग राख्ने र बाह्य दुनियाँसँग सहकार्य गर्ने सोच र व्यवहार राजा महेन्द्रको योगदान हो ।
अमेरिकाले आफू शक्तिशाली भएको संकेत गर्दै प्रजातान्त्रिक मूल्य र मान्यतामा अडेर विश्वमा प्रभुत्व जमाइरहेको थियो । अमेरिका र रुस आमने-सामने देखिए । तेस्रो विश्वमा नेताहरूले नेहरु, सुकार्नो, मार्सल टिटो लगायतले बाङडुङ कन्फरेन्स गर्दै ‘नन–एलाइन्स मुभमेन्ट’ आरम्भ गरे । त्यो आफ्नो छुट्टै र परिमार्जित एकाइका रुपमा अघि बढ्यो । नेपाल पनि त्यो समूहमा प्रवेश गर्यो । नेपाललाई बाहिरी जगतमा चिनाउने त्यो ‘मुभमेन्ट’ एउटा कोसेढुंगा बन्यो ।
बाङडुङ सम्मेलनले नेपाललाई बाहिरी विश्वमा चिनियो । नेपालले आँट गरेरै बाहिरी जगत्मा देखिएको हो । त्यो भन्दा अगाडि कूटनीतिक सम्बन्ध विस्तार त भएको थियो, सक्रिय ढंगले अघि बढ्न सकेको थिएन । राजा महेन्द्रले बुध्दिजीवीलाई घचघच्याउँदै अघि बढाएका हुन् । हृषीकेश शाह, यदुनाथ खनाल, डिल्लीरमण रेग्मीलगायतको भूमिका थियो । सार्वभौम सत्ता मात्र होइन, प्रभावकारी राजकाजमा महेन्द्रको ध्यान थियो । उनले हालेको जगमा पछिल्ला नेतृत्वले गफ गर्न पाएका हुन् ।
नेपालले जसरी विश्व परिवेशमा प्रवेश गर्ने अवसरको मौका छोप्यो, त्यसरी नै पछि पनि छोप्ने रणनीति बनाउनुपर्ने थियो । त्यही कारण पुराना दिन राम्रा थिए भन्न परेन । पुराना दिन सम्झेर ती राम्रा थिए भन्नपर्नुको मुख्य कारण नेतृत्वको सोच नै हो ।
भारत, चीन र अमेरिका
खासमा त्यतिबेला चीनको अर्कै पारा थियो । राष्ट्रियता र एकीकरणमा जोड मात्र होइन, आफ्नो स्वामित्व फिर्ता गर्ने धुनमा चीन अघि बढेको थियो । माओ स्वयंले भनेको कुरा याद छ, ‘चीनले आफ्नो स्वामित्व भएको भू-भाग कब्जा गर्दै अघि बढ्नेछ । हामी दीर्घकालीन दृष्टिकोण राखेर अघि बढेका छौँ । त्यस हिसाबबाट चीन गरिब छ, तर स्वाभिमानी छ ।’
चिनियाँहरू राष्ट्रका लागि आफूलाई पनि बलिदान दिन्छन् भन्ने सन्देश माओले दिइरहेका थिए । चीन अघि बढेको थियो, उसको पर्दा पछाडि कोही थिएन । राष्ट्र संघको स्थापनासम्म पनि चीन आफ्नो पहिचानमा आउन सकेको थिएन । चाउएन लाईले चीन अघि बढेको बताइरहँदा पनि चीन छुट्टै टापुको पहिचानमा मात्र थियो ।
नेपालले पनि आफ्नो अस्तित्व जोगाएर राखेको मात्र होइन, विश्व राजनीतिमा आफ्नो क्षमता देखाउन थालेको थियो । त्यसपछि नेपालले पछाडि फर्केर हेरेको छैन । बेला-बेलामा असजिलो अवस्था आए पनि नेपालले अन्य मुलुकको साथ पाएको छ । बीच-बीचमा छिमेकसँग पनि समस्या परेको छ । त्यसको समाधान निकालेको छ ।
नेपालको अखण्डता, स्वामित्व र सार्वभौमिकता ‘कन्सोलिडेट’ भएको थियो । विश्वमा धेरै राष्ट्रहरूसँग हाम्रो सम्बन्ध छ । छिमेक र शक्ति केन्द्रहरूमा पनि छ । कुनै छिमेकीले दुःख दिएको बेलामा पछाडि हटेर वा दुःख सहेरै पनि नेपाल अघि बढेको छ । नेपालले बीच-बीचमा आएका अवरोध पनि स्वाभिमानीपूर्वक सामना गरको छ र घुँडा टेकेको छैन ।
भारतसँग महेन्द्रको टसल
राजा महेन्द्रले २०१७ पुस १ मा जे गरे, त्यो कदम राम्रो होइन । तर त्यो जनताको नासोलाई उनले केही समयपछि सुम्पने भनेकै थिए । नेपालको विकास गर्छु र आत्मनिर्भर बनाउँछु भनी अघि बढ्ने क्रममै उनको मृत्यु भयो । राजा महेन्द्रले कोदारी राजमार्ग खोल्दा बाह्य टिप्पणी धेरै नै आयो । भारत र अमेरिकालाई कुरा बुझाउन मलाई पठाएका थिए । उनले राजा कम्युनिस्टतिर ढल्केको होइन भन्ने सन्देशसहित चीनसँग सीमा खोल्दा एक पाखा ढल्केको मुलुकलाई अर्को विकल्प खोजेको सन्देश दिनू भनेका थिए । उनले ‘ट्रकबाट कम्युनिज्म आउँदैन’ भनी बुझाइदिनू भनेका थिए ।
कोदारी राजमार्ग विचार वा सिध्दान्त ल्याउन होइन, हाम्रो बन्द–व्यापार तथा आउजाउ बढाउन आवश्यक थियो । उनले चीनसँग पनि राम्रै सम्बन्ध विस्तार गरेका थिए । भारत र चीनको बीचमा नेपाल रहेकाले बाह्य शक्तिको महत्व पनि हुन्छ भन्ने धारणा राजा महेन्द्रको थियो । त्यही कारण राजा महेन्द्रले ‘तेस्रो शक्ति’ले पनि नेपालमा उत्तिकै ध्यान खिच्नुपर्छ भन्ने मान्यतासहित कूटनीतिक रणनीति अघि बढाएका थिए ।
राजा त्रिभुवनले राणा शासन हटाउन भारतको साथ मात्र लिएनन् कि आफू पूरै उतै लच्किएको संकेत दिए । महेन्द्र आफूलाई त्यस्तो मन नपरेको भनेर हामीसँग पटक-पटक सुनाउँथे ।
मैले अमेरिका र भारतमा सन्देश सुनाएँ । टाढाकै छिमेकी भए पनि अमेरिकाले आफ्नो शक्तिअनुसार साथ देओस् भन्ने राजाले चाहेका थिए । अमेरिकाले बेलायतीकै हाराहारीबाटै नेपाललाई हेर्ने गरेको थियो । किनकि बेलायत र नेपालको सम्बन्ध निकै घनिष्ठ थियो । अमेरिका बेलायती धारणामा अडेर अघि बढेको हुन्थ्यो । राजा महेन्द्र कुनै औपचारिक शिक्षा नलिएका तर दरबारभित्रै बसेर पढेका व्यक्ति थिए । उनी पढेका व्यक्तिलाई साथमा राख्दै तिनकै सल्लाहमा राजकाज चलाउनुपर्छ भन्ने मान्यता राख्थे ।
वीरेन्द्रको सुरुवात
राजा महेन्द्रको २०२८ माघमा निधनपछि हार्वर्ड र टोकियोमा पढेका राजा वीरेन्द्र बढी प्रजातन्त्रवादी हुन सक्छन् भन्ने मान्यता थियो । जनआकांक्षा पनि यस्तै थियो । अर्कातिर विश्व परिस्थिति पनि फरक थियो । विश्वमा चिसोपना बढ्दो थियो । नेपाल-भारत सम्बन्धमा पनि राजा त्रिभुवनले रोपेको बीउ फरक ढंगले हुर्काउन खोज्दा सम्बन्धमा चिसोपना बढेको थियो ।
नेपालको हितानुकूल महेन्द्रको प्रयास राम्रो थियो । इन्दिरा गान्धीको चाहना के थियो भन्ने स्पष्टै थियो, त्यसबारे मैले भनिरहनु पर्दैन । राजा महेन्द्रले यसरी सुरु गरेको अभियानलाई अघि बढाउने र पछि नहट्ने जमर्को राजा वीरेन्द्रले लिएका थिए । राजा वीरेन्द्रबाट जनआकांक्षा पनि बढी थियो । कसैलाई जानकारी नदिइकन राजा वीरेन्द्रले शान्ति क्षेत्रको प्रस्तावसमेत ल्याएका थिए । भारतको शैलीकै कारण उनले त्यस्तो प्रस्ताव ल्याए, तर भारतले नै अस्वीकार गर्दा १२९ (११६ को लिखित र १३ को मौखिक प्रतिबध्दता) राष्ट्रको सहमति पाएको उक्त प्रस्ताव गर्भमै तुहियो ।
भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीमा सहनशीलताको कमी थियो । उनले आफ्नै मुलुकमा संकटकाल घोषणा गरिन् । त्यसबाट छिमेक सबैतिर असहज सम्बन्ध देखाउन थालिन् । छिमेकीले असहज अनुभव गरे । उपनिवेशवादको अन्त्य हुँदै थियो । तर भारतलाई त्यो धङधङीले नछोडेको पछिल्लो उदाहरण सिक्किम रह्यो । २०३२ वैशाखमा सिक्किम भारतमा विलय भएपछि नेपाल थप झस्किनु स्वाभाविक थियो । नेपालमा त्यस्तो धृष्टता हुन सक्ने कुनै सम्भावना थिएन ।
राजा वीरेन्द्र झन् उदार भएर जालान्, लोकतन्त्रलाई अघि बढाउलान् भन्ने धेरैको विश्वास थियो । तर, उनी पनि जनआकांक्षाविरुध्द गए अर्थात् अनुदारवादतिर उनको कदम बढ्यो । अझ २०३२ मा संविधान संशोधन गरी नियन्त्रित व्यवस्थालाई अझ कठोर बनाए ।
बलियो राजादेखि कमजोर राजा, एक पार्टीदेखि बहुपार्टी मात्र होइन, दुई तिहाइकै बलियो सरकारसम्म हेरिसकेका छौँ । तर, असजिलो मोडमा छौँ ।
जनता पहिलेको जस्ता थिएनन्, सचेत भइसकेका थिए । अनि वीरेन्द्रको छवि र जनआकांक्षा जे थियो, त्यसको उल्टो अवस्था सिर्जना भयो । भारतसँगको चिसोपना पनि बढ्दै गयो । हुँदाहुँदा राजीव गान्धीको पालामा भुटानी शरणार्थी भारतले नै भित्र्याइदियो । नेपाललार्ई झन् समस्यामा पार्यो । हुन त विश्व नै उदार हुने क्रममा थियो । प्रजातन्त्रको लहर विश्वभर आएको थियो । जसले गर्दा नेपालमा पनि २०४६ को अवस्था आयो । जनआन्दोलन भयो ।
त्यो परिवर्तनमा पनि भारतले प्रभाव राख्न सक्यो । राजनीतिक परिवर्तनमा भारतले प्रत्यक्ष-अप्रत्यक्ष रुपमा भूमिका खेल्न थाल्यो । राजनीतिक दलका नेताले पनि आफ्नो फाइदा उठाउन कहिलेकाहीँ राष्ट्रहितको बेवास्ता गरे । कूटनीतिका सन्दर्भमा दलहरुबीच फुटनीति नहुनुपर्ने हो ।
नेपाली नेताहरु यहाँ एकथरी कुरा गर्ने, भारतमा जाँदै गर्दा अर्को थरी कुरा गर्न थालेपछि नेपालको अवस्था फरक देखिन थाल्यो । अरुको प्रत्यक्ष-अप्रत्यक्ष सहयोगमा राजनीतिक व्यक्तिहरू नलागेका होइनन् । जसले गर्दा नेपालको यो अवस्था आएको हो । नेपालले अख्तियार गरेको असंलग्नताको नीतिकै कारण नेपाल दरिलो भएको हो । त्यसमा केही असहजता देखिए पनि विचलन देखिएको थिएन । तर नेतृत्व स्वार्थमा रुमल्लिँदा मुलुक समस्यामा परेको भने स्पष्ट छ ।
सत्ता जनताको हातमा छ । अब राष्ट्रमुखी जनभावनाको सिर्जना गर्ने बौध्दिक समूहले हो । अहिलेको विश्वमा रहेर बौध्दिक अभ्यासमा अग्रगामी भूमिका आफूले खेल्ने र दूरदृष्टिको भूमिकामा रहने समाजको उत्तरदायित्व हो । हामी यति बेला असजिलो मोडमा छौँ । हामीले बलियो राजादेखि कमजोर राजा, एक पार्टीदेखि बहुपार्टी मात्र होइन, दुई तिहाइकै बलियो सरकारसम्म हेरिसकेका छौँ ।
विदेश नीतिमा कतै कतै लचकता देखिन्छ । दुई ढुंगाबीचको तरुलको उक्तिले हालसम्म निरन्तरता पाएको देखिन्छ । नेपालले परराष्ट्र नीति सञ्चालन गर्न जुन आँट गरेको छ, त्यसमा कमी आएको छैन । समय–समयमा विचलन देखिनु स्वाभाविक हो । नाकाबन्दी हुँदासमेत न राजा झुके, न जनता । यो अवस्थामा ‘हामी’मा रहनु भनेको नै राष्ट्रिय एकताको पाटो हो । सन्देश पनि यही हो ।
बाङडुङदेखि सबैमा हामी सक्रिय भूमिकामा छौँ । अबको यो पुस्तामा जिम्मेवारी बढ्दो छ । शक्ति केन्द्रहरु परिवर्तन हुँदै छन् । नेपालले त्यही अनुरुप आफूलाई उभ्याउन सक्नुपर्छ । यो चुनौती पार गर्न र विकास प्रक्रियामा नेपाल अघि बढ्नुपर्छ । लोकतान्त्रिक विधिबाट सत्तामा आएपछि अलोकतान्त्रिक हुन खोज्नुहुन्न । नेपालको भविष्यको चुनौती भनेको राजनीतिक स्थिरता, आर्थिक विकास, मानव अधिकार, सहकार्यका सन्दर्भमा कसरी प्रस्तुत हुने भन्ने हो ।
दलहरूको भूमिका पहिलेको जस्तो कम्युनिज्म भर्सस प्रजातन्त्रवादी भन्ने अब छैन । सबै ‘मिक्स्ड’ भइसकेका छन् । तर प्रजातान्त्रिक अभ्यासबाट सत्तामा प्रवेश गर्दै अप्रजातान्त्रिक अभ्यास गरियो भने त्यसले दुर्भाग्य निम्त्याउँछ । समग्रमा भन्दा पञ्चायतमा कूटनीति र अन्तर्राष्ट्रिय दौत्य सम्बन्धले प्रधानता पाएको देखिन्छ । पञ्चायतपछिको यो समयसम्म भने हामी स्थिर र व्यवस्थित हुन नसकेको जस्तो देखिन्छ ।
(पूर्वपरराष्ट्रमन्त्री डा. थापासँग चन्द्रशेखर अधिकारीको कुराकानी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया