बालेनजी गरिब-दुःखी सिध्याउने मिसनमा हुनुहुन्छ
काठमाडौँ महानगरपालिकाको मेयरमा बालेनजीसँगै मैले पनि उम्मेदवारी दिएको थिएँ । मैले हारे पनि उहाँलाई समर्थन गरेँ । उहाँको विजय जुलुसमा हिँडेँ । म महानगरबासीका खास मद्दा र उद्देश्य लिएर राजनीतिमा आएको थिएँ । मैले सम्पत्ति र आवासको अधिकारको मुद्दा उठाएको थिएँ । अहिले पनि उठाइरहेको छु । विकासका नाममा रैथाने बस्ती विस्थापित नगर भनेर राज्यसँग लडेको हुँ ।
बालेनजीले जितेपछि यी मुद्दाहरूलाई सम्बोधन गर्नुहोला भन्ने लागेको थियो । तर, उहाँ आएपछि सडक विस्तारका नाममा बिनासूचना स्थानीयको घरमा डोजर चलाएको देखियो । उहाँमा तानाशाह प्रवृत्ति देखियो । सुरुमा अतिक्रमण भएका सरकारी जग्गामा डोजर लगाउनुभयो । दलालहरूले अतिक्रमण गरेका कतिपय जग्गा फिर्ता भए । त्यसमा सबैको समर्थन थियो ।
तर, मान्छेका निजी घरहरू भत्काउन थाल्नुभयो । त्यो गलत भयो । सडक विस्तारका नाममा घर भत्काउन सर्वोच्च अदालतले नै रोक लगाएको छ । उहाँले टुकुचा भेटियो भन्दै डोजर चलाउनु भयो । टुकुचा भेटिनलाई कहाँ हराएको थियो र ? त्यो त राणाकालमै बनेको संरचना थियो । त्यसमाथि बनेका घरहरूले महानगरलाई कर तिर्दै आएका छन् । त्यसो भए त सरकार पनि माफिया भयो । महानगरकै स्वीकृतिमा ती भवन बनेका हुन् ।
यो उहाँको प्रोपोगान्डा मात्रै हो । स्थानीयले करदाता हुँ, सबै कागजात छन् भनेर देखाउँदा पनि दमन शैलीमा भत्काउनुभयो । उहाँको कदम गलत भएको भनी उच्च अदालतले ‘स्टे अर्डर’ दिएको छ । बालेनजीको काम अध्ययन र सुझबुझबिनाको काम भयो । सडक बिस्तारको नाममा लालपुर्जा भएका घर पनि भत्काइएको छ ।
पहिले आठ मिटरको सडक थियो । सडकको चौडाइ बढाएर १२ मिटर बनाइएका छन् । उनीहरूले ऋण गरेर घर बनाएका हुन्छन् । उनीहरूले सडक अतिक्रमण गरेका होइनन् । उनीहरूलाई उचित क्षतिपूर्ति दिएर व्यवस्थापन गर्नुपर्छ । नक्सा पास भएको छैन भने सूचना जारी गर्ने हो, छलफल गर्ने हो । स्थानीयसँग छलफल गर्नै स्थानीय तह बनाएको हो नि । तर, बालेनजीले त्यही कुरा बुझ्नुभएन ।
यस्तो त, राणा शासनमा पनि हुँदैनथ्यो । बालेनजीको शासनले राणा शासन सम्झाएको छ । मेयर भएर आएको केही समयमै उहाँले सडकमा बस्ने गरिबहरूलाई हटाउनुभयो । उनीहरू सडक नै कब्जा गरेर बसेका थिएनन् । फुटपाथ व्यापारीले दुईघण्टा भए पनि काम गरेर जनतालाई सेवा दिइरहेका थिए । सडकमा पाँच सयमा एउटा टिसर्ट किन्न पाइन्थो । मलमा पाँच हजारमा किन्न बाध्य पारिएको छ ।
तरकारी किन्न ठूला व्यापारिक मल छिर्नुपर्ने भएको छ । बिहान/बेलुका एकदुई घण्टा व्यापार गरेर छाक टार्ने मान्छेलाई हटाएर के हुन्छ ? उनीहरू कसरी जीवनयापन गरिरहेका छन् ? त्यो बुझ्ने जिम्मेवारी महानगरको होइन ? सडकमा व्यापार गर्न बाध्य बनाउने राज्य नै हो । रोजगारी दिएको भए को आउँथ्यो, सडकमा । ‘काठमाडौँ किन आउनु ?’ भन्ने प्रश्न उहाँहरूको छ । हामी केन्द्रीकृत व्यवस्थामा छौँ । शिक्षा, स्वास्थ्य सबै यहीँ छ । यहाँ आउनु रहर होइन, बाध्य हो । महानगर दुःखी गरिबको पनि हो । उहाँहरूकै श्रमले सहर बनेको हो ।
महानगरले देशभरका नागरिकको जिम्मा लिन सक्दैन भनेर हुँदैन । कि सरकारले सबै सेवा र अधिकार गाउँ-गाउँमा पुर्याउनुपर्छ । गाउँमा कृषकले उत्पादनको भाउ पाइरहेका छैनन् । सहर आएर केही गर्छु भन्नेलाई सहज ढंगले व्यवसाय गर्न दिनुपर्छ । उनीहरूले तिरेको करले महानगरको अर्थतन्त्र पनि चलायमान हुन्छ । नागरिकको करबिना महानगर कसरी चल्छ ? उहाँले प्रेमप्रसाद आचार्यको आत्मदाहमा फेसबुकमा लामो पोस्ट लेख्नुभयो । राज्यका कमजोरी औँल्याउनुभयो । तर, महानगरको कदमले कति मान्छे प्रेमकै जस्तो पीडामा छन्, उहाँले हेक्का राख्नुभएको छ ?
सुरुमा फोहोर नउठाएसम्म खादा र माला लगाउँदिनँ भन्नुभयो । हामीलाई खुसी लागेको थियो । विद्यासुन्दरजीले खादा, माला लगाएर स्वागत र सगुन खाएर सय दिन बिताउनुभएको थियो । तर, बालेनजीले फोहोर व्यस्थापन गर्नुहोला भन्ने ठूलो आशा गरेका थियौँ । तर, उहाँले फोहोर व्यवस्थापन होइन, बनेको संरचनामा लगेर फ्याँक्ने काम मात्रै गर्नुभयो । उहाँ इन्जिनियर भएकाले नयाँ प्रविधिद्वारा महानगरको फोहोर-मैला व्यवस्थापन होला भन्ने अपेक्षा थियो । तर, कुनै नयाँ दीर्घकालीन योजना ल्याउनु भएन । वर्षाको समयमा समस्या फेरि आउन सक्छ ।
महानगरमा पार्किङको समस्या छ । त्यसको व्यवस्थापन भएको छैन । उहाँले कतै पार्किङ गर्न दिनुभएको छैन । उहाँका अनुसार त सवारीहरू कुदेको कुद्यै गर्ने हो । रोकिने होइन ।
मैले उहाँलाई धेरैपटक फोन गरेँ । यहाँका मुद्दाका विषयमा छलफल गर्न खोजेँ । तर, उहाँले सुन्न चाहनुभएन । उहाँमा जवाफदेहिता पनि देखिएन । उहाँ जनताप्रति उत्तरदाही हुनुहुन्न । यसरी महानगर कसरी चल्छ ? यस्तै हो भने पीडितहरू सडकमा उत्रिन्छन् ।
बालेनजी सेलिब्रेटी हो । उहाँ एक किसिमको हाइफाइ लाइफ बिताएको मान्छे हुनुहुन्छ । उहाँले एउटा मिसनमा हुनुहुन्छ । गरिब-दुःखीलाई सिध्याउने मिसन । उहाँ मानिसबिनाको सहर बनाउने मिसनमा हुनुहुन्छ । धेरैले बालेनजी मेरो एकदमै नजिकको मित्र ठान्नुहुन्छ । तर, मैले उहाँलाई जम्मा तीन पटक भेटेको छु । भेटमा उहाँ र मेरो विचारधारा फरक पाएँ । उहाँ ‘स्टन्ट’मा रमाउनुहुन्छ । म मुद्दामा र उद्देश्यमा केन्द्रित थिएँ/छु । तर, उहाँले आफ्नो ट्रयाक छाडिसक्नुभयो । ‘स्टन्ट’ छाडेर मुद्दामा केन्द्रित हुनुभयो भने मेरो साथ अहिले पनि हुनेछ ।
उहाँ सामाजिक सञ्चालमा साह्रै सक्रिय हुनुहुन्छ । सबैलाई जवाफ फर्काउन भ्याउनुहुन्छ । त्यहाँबाट बाहिर निस्किएर छलफल र बहस गर्न भ्याउनुहुन्छ । चुनाव अगाडि धेरै राम्रो बोल्नुभयो । ‘चस्मा होइन, देशको अवस्था फेर्छु’ भन्नुभयो । ‘गरिबको चमेली बोल्दिने कोही छैन’ गीत गाउनुभयो । त्यो व्यवहारमा देखिँदैन । उहाँ आज गरिबविरुद्ध नै खनिनुभएको छ । बोली र व्यवहारमा एकरुपता देखिएन ।
उहाँले सार्वजनिक शौचालयका लागि होटल, रेस्टुरेन्ट र बैंकहरूसँग सहकार्य गर्नुभयो । मिडियामा उहाँको निकै चर्चा भयो । तर, त्यो दीर्घकालीन योजना थिएन । एउटा ‘पपुलिस्ट’ योजना थियो । निजी संस्थाहरूको शौचालय प्रयोग गर्न सफा गर्नुपर्छ । त्यसका लागि सरसफाइ सामग्री चाहिन्छ । त्यसका लागि महानगरले के गरेको छ ? कर छुट दिने काम भएको छ ? समग्रमा उहाँले दीर्घकालीन योजना बनाउन सक्नुभएन ।
शिक्षा र स्वास्थ्यमा त झन् उहाँको चासो नै छैन । महानगरको ट्राफिक व्यवस्थापनमा वास्तै गर्नुभएको छैन । यहाँ कति सवारी चाहिन्छ भनेर अध्ययन नै छैन । हामी खुला ठाउँ चाहिन्छ भने टुँडिखेललाई पुरानै संरचनामा ढाल्न आन्दोलन गरिरहेका छौँ । उहाँ मासेर संरचना बनाउने कुरा गर्नुहुन्छ । खुला ठाउँ नभएर ढुंगेधाराहरू सुकेका छन् । उहाँले क्षणिकका लागि नसोचेर दीर्घकालीन योजनामा काम गर्नुपर्छ ।
(सृजना खड्का र उपेन्द्र अर्यालसँगको कुराकानीमा आधारित)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया